ललितपुर । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले अपमान सहेर बस्न नसकिने बताएका छन्।
बिहीबार ४३औं पुष्पलाल स्मृति दिवसका अवसरमा चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा आयोजित कार्यक्रममा बोल्दै उनले चुनौतीबीच नै व्यक्तिको परीक्षण हुने बताए। कम्युनिष्टको नाम र झण्डा दुरुपयोग गर्न नहुने बताउँदै उनले चुनौतीबाटै खारिएर कम्युनिस्ट राजनीति गर्नुपर्ने बताए।
नेपालले आफूलाई पार्टीभित्रका विभिन्न घाउखटिराले दुःख दिँदै आएको बताए। “आफूले बनाएको घर त्यसै छाडेर जाने चाहना कसैको हुन्न। तर, अपमान सहेर, गलत कुरा सहेर बस्न सकिँदैन,” वरिष्ठ नेता नेपालले भने।
एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाल लगायत २२ जना सांसदलाई कारबाही गर्न बुधबार स्पष्टीकरण पत्र पठाएका छन्। यसअघि पनि नेपाललाई दुई पटक स्पष्टीकरण सोधिएको थियो भने एक पटक पार्टीबाट निकालिएको घोषणा गरिएको थियो।
कार्यक्रममा बोल्दै नेपालले नेता अहंकारी भए कि भनेर जाँच्नुपर्ने बताए। उनले एमाले अध्यक्ष ओलीतिर संकेत गर्दै अरूको अपमान गर्नेले आफ्नो मानसम्मान पनि कायम राख्न नसक्ने बताए।
नेपालले लोकतान्त्रिक चरित्र विकास गर्नुपर्ने बताए। उनले केही दिनअघि युवा संघले निकोलेको जुलुसप्रति इंगित गर्दै भने, “कहिले स्याल हुइयाँ, कहिले बरन्डामा ऊफ्रिने र कहिले बाँदर जुलुसको नाटक भइरहेको छ। यस्तो प्रवृत्ति कम्युनिष्ट चरित्र होइन।”
प्रतिष्ठानका अध्यक्ष समेत रहेका नेपालले पुष्पलाल श्रेष्ठको जीवनी ‘नेपाल रत्न पुष्पलाल’ को विमोचन गरेका छन्।