विारटनगर । प्रदेश १ मा हालसम्म ९४ दशमलव ६५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।
कृषि निर्देशनालय विराटनगरका अनुसार गत वर्षमा यस अवधिमा ९३ दशमलव ९५ प्रतिशत रोपाइँ भएको थियो । १४ जिल्ला रहेको प्रदेश १ मा कुल तीन लाख ४० हजार ८२९ हेक्टर जग्गामा धानखेती लगाउने गरिएको छ ।
यसमध्ये तीन लाख २२ हजार ५९७ हेक्टर जग्गामा रोपाइँ भएको निर्देशनालयकी प्रवक्ता सरस्वती श्रेष्ठले जानकारी दिए । निर्देशनालयबाट प्राप्त जानकारीअनुसार उच्च पहाडी जिल्ला ताप्लेजुङमा ८ हजार ५ सय ६२ हेक्टर, संखुवासभामा १३ हजार १ सय ५८ हेक्टर र सोलुखुम्बुमा १ हजार ५ सय २५ हेक्टर जग्गामा रोपाइँ भएको छ ।
यसैगरी मध्यपहाडी जिल्ला पाँचथरमा ८ हजार २ सय ८२ हेक्टर, इलाममा ११ हजार ८ सय ५२ हेक्टर, भोजपुरमा १६ हजार १ सय १ हेक्टर, तेह्रथुममा ८ हजार ९ सय ५४ हेक्टर र धनकुटामा ६ हजार ३ सय ६० हेक्टरमा धान रोपाइँ गरिएको छ ।
यस्तै उदयपुरमा १२ हजार ५ सय ७७ हेक्टर, ओखलढुंगामा ४ हजार १ सय ८२ हेक्टर र खोटाङमा १२ हजार ३ सय ८२ हेक्टर जग्गामा रोपाइँ भएको छ । तराईका तीन जिल्ला सुनसरीमा ५३ हजार ९ सय हेक्टर, मोरङमा ८१ हजार ६ सय ३४ हेक्टर र झापामा ८३ हजार १ सय २५ हेक्टर जग्गामा रोपाइँ सकिएको निर्देशनालयले जनाएको छ ।
यस प्रदेशका उच्च पहाडका तीन जिल्लामा २३ हजार २ सय ४५ हेक्टर, मध्य पहाडका ८ जिल्लामा ८० हजार ६ सय ९२ हेक्टर र तराईका तीन जिल्लामा २ लाख १८ हजार ६ सय ५९ हेक्टर जग्गामा वर्षे धानबाली लगाइएको छ । यसरी तुलना गर्दा उच्च पहाडमा ९६ प्रतिशत, मध्य पहाडमा ८८ दशमलव ७६ प्रतिशत र तराईमा ९७ प्रतिशत रोपाइँ सकिएको प्रवक्ता श्रेष्ठले बताए ।