काठमाडौं । नेकपा एमाले भित्र देखिएको विवाद तत्काल समाधान नहुने देखिएको छ ।
वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भित्रै पार्टी एकता गरेर जाने वा विकल्पमा जाने भन्नेमा दुई धार देखिएको छ । हिजो र अस्ति दुई दिनसम्म चलेको नेपाल पक्षिय केन्द्रीय समिति सदस्यहरुको भेलामा अब मिल्न नसकेको खण्डमा विकल्पमा जानुपर्ने बारेमा पनि धारणा आएको छ । तर बैठकमा नेता नेपालले भने जस्तोसुकै अवस्थामा पनि मिलेर अगाडी जानुपर्ने बारेमा जोड दिनुभएको बैठक पछि नेता रघुजी पन्तले जानकारी दिए ।
हिजोको वैठकले २७ असारमा भएको १० बुँदे लगायतका सहमति कार्यान्वयन गर्दै एकताको आधार तयार गर्नुपर्ने निर्णय गरेको थियो । पार्टी एकताका लागि १० बुँदे सहमति भएको र वार्ता चलिरहेको बेला माधवकुमार नेपाल लगायतका नेताहरुमाथि अनेकौं लाञ्छना लगाउनु उचित नभएको भन्दै बैठकले दुःख समेत व्यक्त गरेको छ ।
बैठकले पार्टी एकता प्रक्रिया चलिरहेका बेला सदस्यता नवीकरण लगायतका संगठनात्मक काम गर्नु एकतालाई भाँजो हाल्ने गतिविधी भन्दै यस्ता गतिविधि तत्काल रोक्न ओली पक्षलाई आग्रह गरेको थियो । तर नेकपा एमालेका प्रवक्ता ओली पक्षिय नेता प्रदीप ज्ञवालीले भने नेपाल पक्षका नेताहरुलाइ कुरेर पार्टीको काम नरोकिने बताए । हिजो नेपाल समुहको बैठकपछि प्रवक्ता ज्ञवालीले यस्तो प्रतिक्रिया दिए ।
अध्यक्ष ओली पक्षले विधान संसोधनबारे छलफल थालिसकेको छ । दुबै पक्ष आ–आफ्नै तरिकाले अगाडी बढ्न थालेपछि पार्टी भित्रको विवाद तत्काल नमिल्ने देखिएको नेताहरुले बताए ।
तर कार्यकर्ताको जोड एकतामै
नेकपा एमाले भित्रको विवाद समाधान हुन ढिलाइ भइरहेका बेला कार्यकर्ताले भने एकतामा जोड दिएका छन् ।
नेता माधव कुमार नेपाल पक्षिय नेताहरुको बैठक स्थलमा जम्मा भएका कार्यकर्ताहरुले विवाद समाधान गरेर अगाडी बढ्नुको विकल्प नरहेको बताएका हुन् । बझाङका सिद्धराज थापा पार्टी एक ढिक्का भएर अगाडी बढ्नुको विकल्प नरहेको बताउए ।
अर्घाखाँचीका सक्रिय कार्यकर्ता नारायण शर्मालाई पनि एकता हुनै पर्छ भन्ने लागेको छ, त्यसका लागि ओली र नेपाल दुबै पक्षले आफ्नो अडान त्याग्नुपर्ने उहाँ बताउनुहुन्छ । एमाले भित्रको विवाद्ले तल्लो तहका कार्यकर्तालाई निराश बनाएको छ ।
पार्टी एक बनाउन दुबै पक्षले आत्मालोचना गर्नुपर्ने र हठ त्याग्नु पर्ने सङ्खरापुर १ काठ्मान्डौका रुपक दाहालको भनाइ छ । एमालेका दुबै पक्ष एकअर्कालाई विश्वास गर्न सक्ने अबस्थामा छैनन् । तर कार्यकर्ता भने विश्वास नै एकताको आधार मानिरहेका छन् ।
विघटित कार्यदलले बसालेको एकताको जगमा उभिएर एमाले फुट्नबाट जोगाउनु् पर्ने कतिपय कार्यकर्ताको धारणा छ ।