काठमाडौं । कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेपछि काठमाडौं उपत्यकामा स्थानीय प्रशासनले निषेधाज्ञालाई थप कडाइ गरेको छ ।
उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको मंगलबार बसेको बैठकले निषेधाज्ञा भदौ ८ गतेसम्म थप गर्दै केही क्षेत्रमा कडाइ गर्ने निर्णय गरेको हो ।
प्रशासनले उपत्यकामा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।
प्रशासनले बिहीबारबाट लागू हुने गरी निषेधाज्ञा थप गर्दै बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।
कोभिड–१९ भाइरसको संक्रमण बढ्दै जाँदा रात्रिकालीन समयमा हुने सवारीसाधनको आवतजावतमा कडाइ गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताए ।
अत्यावश्यक सवारीसाधन चाहिँ जतिसुकै वेला चल्न पाउने उनको भनाई छ । यस्तै थपिएको निषेधाज्ञा ८ भदौसम्म जारी रहनेछ ।
निधेषाज्ञा अवधिमा सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, मनोरञ्जनस्थल, संग्रहालय, रंगशालामा हुने दर्शकसहितको खेलकुद र मानिसहरुको भीडभाड हुने अन्य कार्यक्रम सञ्चालन गर्न÷गराउन नपाउने उल्लेख छ ।
यस्तै चोक÷खुला स्थानमा मानिसहरु भेला हुन, भीडभाड गर्न, सभा जुलुस, जात्रा, महोत्सव, भोज भतेर आदि गर्न÷गराउन नपाउने व्यवस्था जिल्ला प्रशासन कार्यालयद्वारा जारी निषेध आदेशमा उल्लेख छ ।