ध्रुव भट्टराई
विराटनगर । आफै उपस्थित भएर म जीवितै छु भन्दा पनि प्रशासन कार्यालयबाट जीविको प्रमाणपत्र लिन मोरङ बेलबारीका सुभाष तामाङलाई तीन वर्षको समय लाग्यो ।
परिवारले मृत्यु दर्ता गरिदिएपछि फेरि जीवित भएको प्रमाण प्राप्त गर्न पनि धेरै दुःख र हन्डर खानुपर्छ भन्नेमा गतिलो उदाहरण तामाङ बनेका छन् ।
उनले आफु जीवितै भएको प्रमाण प्राप्त गर्न तीन वर्ष कुर्नुमात्र परेन, निकै सास्ती झेल्नु परेको छ । पञ्जीकरणमा मृतक उल्लेख भएको तर आफू जीवितै रहेको अवस्थामा उनले नागरिकताका लागि स्थानीय तहदेखि गृह मन्त्रालयसम्म तीन वर्षदेखि भौंतारिनु परे पनि बल्ल आफू जीवित रहेको प्रमाणपत्र प्राप्त गरेका छन् ।
तीन वर्ष धाएपछि बल्ल बिहीबार सुभाषले नागरिकता प्राप्त गरे । उनले आफू जीवित भएको प्रमाण पनि प्राप्त गरेका छन् । उनलाई मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले नागरिकताको प्रतिलिपि हस्तान्तरण गरेका छन् ।
निरौलाले मृत्युदर्ता हुनु अघि भोजपुरबाट बसाई सराई गरेर मोरङ आएको प्रमाणको आधारमा सुभाषको मृत्युदर्ता झुटो ठहर भएपछि नयाँ नागरिकता दिएका हुन् । उक्त निर्णयसँगै सुभाषलाई प्रजिअ निरौलाले जिल्ला प्रशासन कार्यालय भोजपुरबाट २०६० पुस २१ गते जारी भएको ४८४१–११–२५४४ नम्बरको पुरानै नागरिकताको नयाँ प्रतिलिपि हस्तान्तरण गरेका हुन् ।
मोरङ जिल्ला प्रशासन कार्यालयबाट नागरिकता पाएपछि हर्षित हुँदै सुभासले भने, ‘नागरिकता प्राप्त गरेको आजको दिन मैले संसार जितेजस्तो लागेको छ ।’
आफू जीवितै भएको प्रमाणसहित नागरिकता प्राप्त गर्न आफूले तीन वर्षसम्म धेरै हन्डर र दुःख भोग्नु परेको उनले सुनाए । नागरिकताका लागि स्थानीय तह र गृह मन्त्रालयसम्म पुगेको सम्झँदा त धेरै दुःख लागेको उनले बताए ।
ढिलै भए पनि नागरिकता पाएकोमा आफूलाई खुसी लागेको उनले जनाए । ‘यति भएपछि अब म जीवितै रहेको प्रमाणित भयो,’ उनले भने, ‘फेरि एक पटक विदेश गएर काम गर्ने चाहना सार्थक भएको छ ।’
यो बीचमा पञ्जीकरणमा मृत्यु घोषित भइसकेका कारण उनलाई सरकारी कार्यालयबाट सेवा लिन समस्या भएको थियो ।
पञ्जीकरणको अभिलेख अनुसार नै गृह मन्त्रालयको नागरिकता र राहदानीसम्बन्धी विद्युतीय अभिलेखमा पनि उनलाई मृतक घोषित गरिएको थियो । उनले नयाँ नागरिकता लिनका लागि अनेकौं प्रयास गरे पनि समस्या भोग्दै आएका थिए ।
प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले आवश्यक प्रकृया पूरा गरी सुभाषलाई प्रतिलिपि नागरिकता प्रदान गरिएको जानकारी दिए ।
वास्तविक घटना यस्तो छ,
पाँच वर्ष अघि वैदेशिक राजगारीका लागि सुभाष साउदी अरब पुगेका थिए । २०७२ असार २५ गते सडक दुर्घटनामा उनको मृत्यु भएको खबर दूतावासमार्फत आएको थियो । दुर्घटनामा दुई जनाको मृत्यु र दुई जना घाइते भएका थिए । दुई मृतकमध्ये एकजना सुभाष नै भएको भन्दै उनी कार्यरत कम्पनीमार्फत शवलाई साउदीबाट नेपाल पठाइएको थियो ।
शव आएपछि परिवारका सदस्यले बुझेर परम्परा अनुसार दाहसंस्कार समेत गरेका थिए । तर सुभाषको भनिएको शव भने सोही दुर्घटनामा परेका बागलुङ जिल्लाको ढोरपाटन–६ का तेजेन्द्र भण्डारीको भएको पछि खुलेको थियो ।
त्यतिबेला भोजपुर जिल्लाको साविक कुदाकाउले गाविस–९ ९हालको षडानन्दा नगरपालिका–२० मा रहेका परिवारले २०७२ साउन ६ गते सुभाषको मृत्यु दर्ता गरेका थिए । तर पछि उनी जीवितै रहेको खबर आएको थियो ।
घर परिवारले काजकिरिया समेत गरिसकेका कारण सुभाष साउदीबाट फर्किएपछि न्वारन लगायतका धार्मिक संस्कार पुनः दोहो¥याएर गरेका थिए । कुदाकाउलेबाट मोरङको बेलबारी नगरपालिका–११ मा बसाई सरेर आएपछि आफु जीवित रहेको भन्दै नागरिकताका लागि उनले स्थानीय तहदेखि गृह मन्त्रालयसम्म धाउनु परेको थियो । पञ्जीकरणमा मृत्यु घोषित भइसकेका कारण उनलाई सरकारी कार्यालयबाट सेवा लिन समस्या भएको थियो ।