काठमाडौं । सरकारले उद्यमी बन्न चाहनेहरुका लागि विभिन्न १० वटा शीर्षकमा ऋण उपलब्ध गराउँदै आएको छ । तर पछिल्लो समय बैंकहरुले तरलता अभावको कारण देखाउँदै कर्जा प्रवाह रोकेका छन् ।
जसका कारण आफ्नै ठाउँमा केही गरौं भनेर लागेका युवा प्रभावित भएका छन् । ललितपुर झरुवारासीका दीपक शर्माको, कागजको कप बनाउने उद्योग छ । उद्योगमा लगानी बढाउनुपर्ने भएपछि एक महिना अघि उनि बैंक पुगे । तर कर्जा पाउन सकेनन् । दाङ तुलसीपुरका लक्ष्मीप्रसाद ओलीले बाख्रा पालन गरेका छन् ।
ब्राखा पालनबाट राम्रो आम्दानी हुन थालेपछि उहाँले व्यवसायिक रुपमा काम गर्ने साेंच बनाउनुभयो अनि पुग्नुभयो बैंक । तर उहाँलाई बैंकले खाली हात फर्काइदियो । ललितपुरका शर्मा र दाङ्का ओली प्रतिनिधि पात्र हुन् । पछिल्लो समय बैंकहरुले ऋणको लागि प्रोत्साहन नगर्दा उद्यमी बन्न चाहने युवाहरु मर्कामा परेका छन् ।
नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक वित्तिय संस्थाले विभिन्न १० वटा शीर्षकमा सहुलियत पूर्ण कर्जा दिँदै आएकोमा अहिले भने रोकिएको छ । नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोख्रेलले राष्ट्र बैंकले कर्जा रोक्न कुनै निर्देशन नदिएको भन्दै तरलता अभावको कारण बैंकहरुले अहिले सहुलियतसँगै अरु विषयमा कर्जा रोकेका हुनसक्ने बताए । आफूहरुले कर्जा वितरण नरोकेको भन्दै उहाँले कहिले खुल्छ भन्नेबारेमा जानकारी नभएको उनको भनाइछ ।
राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको चार महिनामा चार सय ११ अर्बको कर्जा प्रवाह भइसकेको छ । जसमा ६३ अर्बमात्र निक्षेप सङ्कलन भएको छ । यसले साढे ३ सय अर्बको खाडल परिपुर्तिका लागि स्रोत नहुँदा कर्जा प्रवाहमा समस्या भएको हो ।
यो खाडल पुर्नको लागि बैंकबाहेकका लगानीकर्तालाई आकर्षित गर्न सकिने अर्थशास्त्री अनलराज भट्टराई बताउनुहुन्छ । त्यसको लागि सरकारले बजार नीति नै परिवर्तन गर्नुपर्नेमा उहाँको जोड छ । राष्ट्र बैंकको तथ्याङ्क अनुसार कोरोना पछि, विभिन्न बैंकले उपलब्ध गराउने कर्जा लिनेको सङ्ख्या बढ्दै गएको छ । तीन वर्ष यता एक लाख ३३ हजार ९ सय ३० जनाले दुई खर्ब ३७ अर्ब ८२ करोड बढि कर्जा लिई सकेका छन् ।
यो क्रम बढिरहेकाले उद्यम गर्न चाहनेहरुको लागि सरकारले बैंकको मात्र भर नपरेर अन्य विपल्प खोज्नुपर्ने अर्थविद्हरुको सुझाब छ ।