काठमाडौँ — नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही, कल्याणकुमार गुरुङ, प्रदीप पौडेल र जीवनबहादुर शाहीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् । देउवाले शनिबारमात्रै महाधिवेशनमा भाग नलिएका रामचन्द्र पौडेलसहित १० नेताहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेका थिए ।
उनले आइतबारै गुरुङ, पौडेल र शाहीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन् । उनीहरू तीनै जना महाधिवेशनमा पराजित उम्मेदवार हुन् ।देउवासँगै सभापतिका प्रत्यासी गुरुङले दोस्रो चरणको निर्वाचनमा देउवालाई सघाएका थिए । त्यस्तै, कृष्णप्रसाद सिटौला–देउवा समीकरण बन्दा देउवा समूहबाटै महामन्त्री उम्मेदवार बनेका पौडेल पराजित भएका थिए ।
देउवाले शनिबार पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, प्रकाशसरण महत, सुजाता कोइराला, नारायण खड्का, उमा रेग्मी र मीन विश्वकर्मालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए ।
विधानले सभापतिलाई समावेशी सिद्धान्त र केन्द्रीय समितिमा एक तिहाई महिला हुनुपर्ने व्यवस्थालाई ध्यानमा राखेर ३३ जना सदस्य मनोनीत गर्ने अधिकार दिएको छ । त्यही अधिकार बमोजिम देउवाले १३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् ।