काठमाडौँ । मंगलबार रातिदेखि पश्चिम नेपालबाट प्रवेश गर्न लागेको न्यूनचापीय प्रणालीको प्रभावले बुधबारदेखि देशका विभिन्न भागमा मौसम बदली हुने भएको छ ।
यो प्रभाव शनिबारसम्म रहने मौसमविद्ले जनाएका छन् । मौसमी प्रभावका कारण सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हिमपात हुनेछ ।
मौसम प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायातलगायत दैनिक जनजीवनमा असर पर्ने भएकाले सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले सर्वसाधारणलाई अनुरोध गरेको छ । महाशाखाले मंगलबार हिउँदयामको विशेष मौसम बुलेटिन निकालेर मौसमी प्रणालीका कारण सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशमा सामान्यदेखि पूर्णतया बदली हुने उल्लेख गरेको छ । प्रदेश १ र प्रदेश २ मा भने त्यसको आंशिक मात्र प्रभाव पर्ने आकलन गरिएको छ ।
गणितीय मौसम पूर्वानुमानको परीक्षण मोडलअनुसार बुधबारदेखि बिहीबारसम्म सबैभन्दा बढी असर सूदूरपश्चिम र कर्णालीमा पर्ने देखिन्छ । ‘वाग्मती प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ,’ बुलेटिनमा भनिएको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशका पहाडी तथा तराई भेगका केही र प्रदेश १ र प्रदेश २ का एक–दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना छ । महाशाखाका मौसमविद्ले यो प्रणालीको असर आइतबारसम्म पर्ने बताएका छन् ।