काठमाडौं । नेपालसहित विश्वका विभिन्न मुलुक पछिल्लो २ वर्षदेखि कोरोना महामारीका कारण त्रसित र प्रभावित छन् ।
बेलाबेला सङ्क्रमणको दरमा देखिने उतारचढावका कारण जनजीवन सामान्य बन्ने र फेरि प्रभावित हुने गरेको छ । चीनको वुहानमा पहिलोपटक फेला परेको कोरोना भाइरस म्यूटेशन अर्थात उत्परिवर्तित हुँदै आएको छ ।
कोरोना भाइरसमा भएको म्यूटेशन अन्य भाइरसको तुलनामा फरक देखिएका कारण पनि यो खतरनाक ठानिएको छ । पछिल्लो समय देखिएको कोरोनाको नयाँ म्यूटेशन ओमिक्रोन भने पहिले देखिएका म्यूटेशनभन्दा फरक र कमजोर भएको विश्लेषण विज्ञहरूको छ । कारण, ओमिक्रोनमा मानिस गम्भीर बिरामी हुने र मृृत्यु गराउने दर कम छ ।
गत नोभेम्बरमा पहिलोपटक दक्षिण अफ्रिकामा फेला परेको कोरोनाको ओमिक्रोनले मानिसलाई तीव्र गतिमा सङ्क्रमित गराए पनि मानिसलाई मृत्यु गराउने दर कम छ भने मानिसमा जटिलता ल्याउने र अस्पताल भर्ना गराउने दरपनि कम रहेको हालसम्मको तथ्याङ्कले देखाएको छ । जसका कारण बेलायत, भारतका विभिन्न राज्यमा कोरोनाका कारण लगाइएका प्रतिबन्धहरूमा छुट दिन थालिएको छ । सङ्क्रामक रोग विशेषज्ञ डा.जनक कोइराला कोरोना भाइरसको पछिल्लो समय देखिएको म्यूटेशन कमजोर हुँदै गएको हो की भन्ने अनुमान गर्न सकिने बताउनुहुन्छ । उहाँका अनुसार पछिल्लो समय कोरोना भाइरसमा भएको म्यूटेशन कमजोर प्रकृतिको छ । यसले पूर्ण मात्रा खोप लगाएकाहरूलाई सङ्क्रमित गराएपनि मानिसमा जोखिम अवस्था आउन दिएको छैन । साथै यसले मानिसलाई यसअघिका म्यूटेट भाइरस जतिको असहज पनि गराएको देखिँदैन । जुन राम्रो पक्ष हो ।
हाल देखिएको कोरोनाको ओमिक्रोनले मानिस सङ्क्रमित भएपनि यो ३ देखि १ सातामै हराएर जान थाल्ने भएकाले पनि यो कमजोर भएको हुन सक्ने अनुमान पनि गर्न सकिने उहाँको भनाइ छ । कोरोना भाइरसमा हालसम्म देखिएका म्यूटेशनमध्ये डेल्टा सबैभन्दा बढी खतरनाक र लामो समयसम्म मानिसलाई अप्ठ्यारो गराउने देखिएको थियो । कोरोना भाइरसमा हालसम्म देखिएका म्यूटेशनमध्ये डेल्टा सबैभन्दा बढी खतरनाक र लामो समयसम्म मानिसलाई अप्ठ्यारो गराउने थियो । भाइरस म्यूटेशन हुनु भनेको प्राकृतिक प्रक्रिया हो ।
विश्व स्वास्थ्य सङ्गठनले पनि सन् २०२२ को अन्त्यसम्ममा कोरोना भाइरस सकिने बताइसकेको छ । तर, त्यसका लागि कोरोनाविरुद्धको खोप अभियानलाई भने समान रुपले वितरणमा तीव्रता दिनुपर्छ । नेपालमा पर्याप्त खोप भए पनि नागरिकलाई लगाउनमा भएका कम्जोरी सच्याउनमा भने ढिला भएको देखिन्छ । खोप बिना कोरोना सङ्क्रमण भएमा मानिसको मृत्युको जोखिमलाई टार्न समस्या हुने विज्ञहरूको भनाइ छ ।