काठमाडौं । आज माघ शुल्क पञ्चमीको दिन । आजका दिन प्रत्येक वर्ष विद्याकी देवी सरस्वती पूजा गरिन्छ । जसअनुसार आज देशभर हिन्दु धर्मावलम्बीहरुले विधिपूर्वक देवी सरस्वतीको पूजा गर्दैछन । यस अवसरमा विशेष गरी विद्यार्थी, लेखक, कवि, पत्रकार, कलाकारलगायतले सरस्वती, किताब, कपी, कलम, बाध्ययन्त्रलगायतका साधनको पूजा गर्दैछन ।
विशेष रुपमा विद्यालयमा सरस्वतीको पूजा गरींदै आएको परम्परा रहेपनि यसवर्ष कोरोना संक्रमण जोखिमका कारण विद्यालयहरु बन्द रहेकाले विद्यार्थीले घर–घरमै सरस्वतीको पूजा आराधाना गर्दैछन् ।
यस अवसरमा आज काठमाडौंको लाजिम्पाटस्थित निल सरस्वती, स्वयम्भूको सरस्वती मन्दिर, ललितपुरको लेलेस्थित सरस्वती कुण्ड एवं देशभरका सरस्वती मन्दिरमा पूजा गर्ने भक्तजनको भीड लाग्छ । यसवर्ष स्वास्थ्य मापदण्ड पालना गरी पूजा आराधाना गरिँदै छ ।
वसन्त श्रवण गरिँदै
आजको दिन हुनुमान ढोकास्थित नासल चोकमा आज वसन्त श्रवण गरिँदै छ । वसन्त श्रवणका लागि बिहान १०ः३० बजेको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जानकारी दिएको छ ।
वसन्त श्रवणमा कवि जयदेवले रचना गरेका सरस्वतीसम्बन्धी श्लोक पाठ गर्ने परम्परा रहेको हुनुमान ढोका दरबार हेरचाह अड्डा कार्यालयका प्रमुख सन्दीप खनालले जानकारी दिए । यो पाठ १५ श्लोकको रहेको छ ।
आजका दिन वसन्त श्रवण गरिने भएकाले यो पर्वलाई वसन्त पर्व पनि भनिन्छ । वसन्त श्रवणमा राष्ट्राध्यक्ष, सरकार प्रमुख, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्याधीशलगायतका विशिष्ट व्यक्तित्वको नासल चोकमा उपस्थिति रहने परम्परा छ ।
प्रकाशित मिति: आइतबार, माघ २३, २०७८ ०८:४६