काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आसन्न संसद बैठकमा यथास्थितिमै एमसीसी सम्झौता टेबल भएमा वर्तमान सत्ता गठबन्धन नटुट्ला भन्न नसकिने खुलासा गरेका छन् ।
रातो पार्टी अनलाइनसँगको विषेश अन्तरवार्ताका क्रममा पुर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले यस्तो खुलासा गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच एमसीसी संसदमा टेबल गर्ने–नगर्नेबारे वालुवाटारमा सम्पन्न बैठक विना निष्कर्ष टुंगिए लगत्तै प्रचण्डको यो अन्तरवार्तालाई राजनीतिक वृतमा निकै अर्थपुर्ण रुपमा हेरिएको छ ।
सरकारका तर्फबाट संसदका टेवल हुन लागेको एमसीसी संशोधन वा परिमार्जन नगरी हुबहू सम्झौता टेबल गरिए आफूहरु सरकारमा बस्न नैतिकरुपमा नमिल्ने प्रचण्डले स्पष्ट पारेका छन् ।
प्रधानमन्त्री देउवाले आगामी बैठकमा एमसीसी टेबल गर्ने अडान राखेका थिए भने प्रचण्ड र नेपालले यथास्थितिमा टेबल नगर्न प्रधानमन्त्रीलाई भनेपनि त्यसको प्रतिक्रिया प्रधानमन्त्री देउवाबाट सकरात्मक नआएपछि नेताहरु दाहाल र नेपाल निराश भएर फर्किएका थिए ।
सरकारले परिमार्जनविनै टेबल गर्ने अवस्थामा माओवादी पार्टीलाई सरकारमा बस्न नैतिकताले नदिने स्पष्ट पारेका प्रचण्डले भने, ‘त्यो अवस्थामा सरकारले प्रस्ताव लाने, भोटिङ हुने, त्यही सरकारभित्रको पार्टीलेचाहिँ विरोध गर्ने स्थिति बन्यो भने सरकारमा बस्न नैतिकरुपले मिल्दैन ।’
एमसीसीका सम्बन्धमा नेकपा एमालेले खेलेको भूमिकाको कडा शब्दमा आलोचना गरेका प्रचण्डले एमसीसीको समस्या योरुपमा गिजोलिनुमा एमाले नेतृत्व जिम्मेवार रहेको आरोप लगाएका छन् ।
प्रचण्डले आफू वर्तमान सत्ता गठबन्धनलाई जोगाएरै अघि बढ्ने प्रयासमा रहेको बताए । तर, एमसीसीका कारण गठबन्धन टुट्दै टुट्दैन भनेर ग्यारेन्टी गर्न नसक्ने उनले स्पष्ट पारे । प्रचण्डले भने, मैले इमान्दारितासाथ के भन्नुपर्छ भने विभिन्न शक्तिहरू, राजनीतिक दल र प्रवृत्तिहरू जसरी आ–आफ्नो इन्ट्रेष्ट अनुसार चल्न खोजिराखेको स्थिति छ, ग्यारेन्टीका साथ गठबन्धन टुट्दैन भनेर शतप्रतिशत भन्न पनि मलाई अप्ठ्यारो छ ।’
सत्तागठबन्धनले स्थानीय तहको निर्वाचन सम्म जाने वा नजाने भन्ने विषयको प्रश्न धेरैतिरबाट धेरै मानिसहरूले सोध्ने गरेको बताएका प्रचण्डले भने, आजका दिनसम्म गठबन्धन टुट्ने कुनै सम्भावना मैले देख्दिनँ । गठबन्धन जान्छ । प्रधानमन्त्रीदेखि गठबन्धनका सबै नेताहरूको यसलाई चुनावसम्म लिएर जानुपर्छ र सकियो भने चुनावपछि पनि लानुपर्छ भन्ने एउटा कमिटमेन्ट भएको र अहिले पनि कायमै भएको हुनाले गठबन्धन टुट्दैन भन्ने नै मैले महसुस गर्छु ।
म नेपालको राजनीतिमा त्यस्तो पात्रका रुपमा आफूलाई भेट्छु कि राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र हुँदैन भन्ने एउटा उक्ति छ । मैले त्यो व्यवहारमा पनि शान्ति सम्झौतादेखि विभिन्न मानिसहरूलाई प्रधानमन्त्री बनाउने सन्दर्भमा पनि, कार्यगत एकता गर्ने सन्दर्भमा पनि राजनीतिका घुम्ती मोडहरूमा त्यस्तो गर्दै आएको छु । त्यसकारण मैले रुलआउट चाहिँ गर्दिनँ ।
तर, अहिले एमसीसीकै विषयलाई लिएर जस्ता किसिमका कुराहरू बाहिर आइराखेका छन् र बहस जसरी भइराखेको छ, म के ग्यारेन्टीका साथ आफूलाई भन्ने स्थितिमा पाउँदिनँ भने टुट्दै टुट्दैन भन्न पनि गाह्रो भएको मलाई महसुस भएको छ ।
तपाईंले जसरी सीधा भन्दिनोस् त भनेर सोध्नुभयो नि, पहिलो भाग त मैले सीधा भनेँ, 'हाम्रो गठबन्धन टुट्दैन भन्ने नै प्रधानमन्त्री, हामी सबैको छ भनेर । दोस्रो भागमा मैले इमान्दारितासाथ के भन्नुपर्छ भने विभिन्न शक्तिहरू, राजनीतिक दल र प्रवृत्तिहरू जसरी आ–आफ्नो इन्ट्रेष्ट अनुसार चल्न खोजिराखेको स्थिति छ, कहीँ दुर्घटना त हुँदैन भन्ने कुरामा पनि त्यत्तिकै सतर्कता अपनाउनुपर्ने छ । त्यसैले ग्यारेन्टीका साथ टुट्दैन भनेर शतप्रतिशत भन्न पनि मलाई अप्ठ्यारो छ । '
कांग्रेसका नेता शेखर कोइरालाल आफूकहाँ आएको प्रसंगमा बोल्दै उनले भने, शेखरजी यहीँ आएर हाम्रो कुरा भयो । कुरा सबै राम्रो भयो । यो राष्ट्रिय समस्याका बारेमा सकारात्मक नै कुरा भएको हो । गठबन्धनमा पनि उहाँको केही प्रश्न थिएन । स्थानीय चुनावमा तालमेलसँग सम्बन्धित कुरा, त्यसमा चाहिँ सम्भव हुँदैन प्रष्ट भन्नुभएको हो उहाँले । उहाँको भाषै भन्छु म– ‘स्थानीय चुनावमा जाँदा माओवादी कार्यकर्ताहरूले काँग्रेसलाई भोट हाल्नै सक्दैनन्, हाल्दैनन् । काँग्रेसले पनि माओवादीलाई र कम्युनिस्ष्टहरूलाई भोट हाल्न गाह्रो मान्छन् । अझ ०४६ सालभन्दा पहिलेका काँग्रेसले त कम्युनिस्टलाई भोट हाल्ने भनेपछि तिनको हातै उठ्दैन । या त उनीहरूले बदर गरिदिन्छन् या उनीहरूले रुखमै हालिदिन्छन् । हँसिया हथौडा या सूर्यमा हाल्दैनन् ।’