काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्याख्यात्मक घोषणा सहित एमसीसी संसदबाट अनुमोदन भएकोमा खुसी लागेको बताउनुभएको छ ।
आफ्नै निवास खुमलटारमा पत्रकार सम्मेलन गरी प्रचण्डले व्याख्यात्मक टिपपणी सहित एमसीसी पारित भएपछि देश दुर्घटनाबाट बचेको टिप्पणी गर्नुभयो । प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसीसीमा व्याख्यात्मक टिप्पणी राख्ने सोँच पनि आफ्नै भएको दाबी गर्नुभयो ।
यसले गठबन्धन पनि जोगिएको र एमसीसी पनि पारित भएको तथा एमसीसीमा भएको गलत प्राबधानहरू पनि हटाउन सफल भएको प्रचण्डको दाबी रहेको थियो । संसदबाट अनुमोदन गर्ने प्रवधान थप्नुका साथै तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको अमेरिका भ्रमणका क्रममा नेपाल पनि इण्डो प्यासिफिक रणनितिमा सामेल भएको प्रचार भएपछि एमसीसी विवादमा परेको प्रचण्डको भनाइ रहेको थियो । परराष्ट्र र संविधानका विज्ञहरूसँग छलफल गरेर यसमा व्याख्यात्मक टिप्पणीको प्रस्ताब राखेको उहाँले बताउनुभयो ।
सार्वभौम संसदले पास गरेको व्याख्यात्मक घोषणालाई कागजको खोस्टो भन्नु भ्रम भएको समेत प्रचण्डले बताउनुभयो । अध्यक्ष प्रचण्डले अब स्थानीय तहको निर्वाचन निश्चित भएको पनि बताउनुभयो ।
मतदान गर्ने राजनीतिक दललाई काँग्रेसको धन्यवाद
एमसीसी पारित गर्ने पक्षमा मतदान गर्ने सत्तागठबन्धनका राजनीतिक दललाई नेपाली काँग्रेसले धन्यवाद दिएको छ ।
काँग्रेसले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता डा. प्रकाश शरण महतले, पार्टी सभापति शेरबहादुर देउवाले संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरुबीच सहमति जुटाउन गर्नुभएको प्रयासको समेत प्रशंसा गर्दै पक्षमा मतदान गर्ने सांसदलाई धन्यवाद दिनुभएको हो ।
एमसीसी पारित गर्न ल्याएको ब्याख्यात्मक घोषणाले विभिन्न क्षेत्रबाट उठाइएका भ्रमलाई चिर्न ठूलो मद्दत पु¥याएको भन्दै ब्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता प्रतिनिधि सभाबाट पारित भएपछि अमेरिकाले समेत स्वागत गरिसकेको काँग्रेसले बताएको छ ।
अब एमसीसी अनुदान सहयोग अन्तर्गतका परियोजनाहरू कार्यान्वयनमा जाने सुनिश्चितता भएको नेपाली काँग्रेसका प्रवक्ता डा.महतले जानकारी बताउनुभयो ।
यस्तै काँग्रेसले एमसीसी सम्झौता पारित गर्ने सन्दर्भमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय प्रक्रियामा सहभागी हुन नसके पनि एमसीसीको पक्षमा नै रहेको समेत दावी गरेको छ । एमसीसी सम्झौता नेपालमा आएका विकास सहयोगको मानक बन्ने पनि नेपाली काँग्रेसले विश्वास गरेको छ ।