काठमाडौं । सरकारले थप छ चाडलाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले थप छ चाडलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठको विशेष पहलमा सरकारले आगामी वर्षदेखि ती छ चाडलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
मन्त्री श्रेष्ठका अनुसार, आगामी वर्षदेखि उभौली पर्व–चण्डी पूर्णिमा, उधौली पर्व, योमरी पुन्ही ज्यापू विस (धान्य पूर्णिमा), क्रिसमस डे, तमु ल्होसार, सोनाम ल्होसार र ग्याल्पो ल्होसारका दिन सार्वजनिक बिदा दिने भएको छ ।
फागुन ३ गते मन्त्रिपरिषद प्रशासन समितिका संयोजक मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठको संयोजकत्वमा बसेको बैठकको सिफारिस अनुसार मन्त्रिपरिषदले छ चाडलाई सार्वजनिक बिदा दिने निर्णय भएको हो ।
मन्त्री श्रेष्ठले भने, ‘उभौली, उधौली, क्रिसमस, तमु ल्होसार, सोनाम ल्होसार, ग्याल्पो ल्होसार आदि चाडपर्वका दिन विदाका लागि डेलिगशन जानुपर्ने दिन अन्त्य भएको छ । यी महत्त्वपूर्ण चाडपर्वहरूमा सम्बन्धित समुदायलाई मात्र नभई दशैं, तिहारमा जस्तै सबैलाई सार्वजनिक बिदा हुने छ ।’