काठमाडौं । रुस–युक्रेन युद्धको बहानामा नेपाली बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य छोइनसक्नु महँगो बनाइएको छ ।
एक महिनामै हरियो तरकारी, फलफूल, खाद्यान्न, मासु, खानेतेललगायतको मूल्य अकासिएको छ । देश आत्मनिर्भर रहेको भनिएको अन्डा र दूधलगायतको मूल्यसमेत बढेको छ ।
युक्रेन युद्धको बहानामा नेपाली बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य छोइनसक्नु महँगो बनाइएको छ । एक महिनामै हरियो तरकारी, फलफूल, खाद्यान्न, मासु, खानेतेललगायतको मूल्य अकासिएको छ । देश आत्मनिर्भर रहेको भनिएको अन्डा र दूधलगायतको मूल्यसमेत बढेको छ ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार २६ माघमा प्रतिबोरा एक हजार ६ सय २५ रुपैयाँ रहेको जिरा मसिनो चामल एक महिनापछि एक सय ७५ रुपैयाँले बढेर एक हजार आठ सय पुगेको छ । सनफ्लावर तेल प्रतिलिटर ३० रुपैयाँ बढेर दुई सय ७० पुगेको छ । त्यस्तै, भटमास तेल ३५ रुपैयाँ बढेर दुई सय ५५ तथा भुटेको तोरीको तेल ४० देखि ५० रुपैयाँले बढेर तीन सय ४० देखि तीन सय ८० रुपैयाँसम्म पुगेको छ ।
सबैखाले दालको मूल्य पनि बढेको छ । २६ माघमा प्रतिकेजी एक सय ६० रुपैयाँ रहेको मासको दाल २० रुपैयाँले बढेर एक सय ८० पुगेको छ । त्यस्तै, रहर दाल २० रुपैयाँले बढाएर एक सय ९० तथा मुसुरो दाल ३० रुपैयाँले बढाएर एक सय ६० मा बिक्री गरिएको छ ।
रुस–युक्रेन युद्धलाई लिएर खाद्यान्नको मूल्य अस्वाभाविक वृद्धि भएको खुद्रा व्यापार संघका अध्यक्ष अमूलकाजी तुलाधर बताउँछन् । ‘चामल, खानेतेल, दाललगायत खाद्यान्नको मूल्य अस्वाभाविक वृद्धि भएको छ,’ उनले भने, ‘कच्चा भटमास, तोरी र सूर्यमुखीको दानाको मूल्य पनि बढेको छ ।’
तरकारीमा अधिक मूल्यवृद्धि खुर्सानीमा भएको छ । हरियो खुर्सानी २६ माघमा प्रतिकेजी एक सय ३० रुपैयाँमा कारोबार भएकोमा ६५ रुपैयाँले बढेर एक सय ९५ रुपैयाँ पुगेको छ । सुकेको खुर्सानी पनि ६५ रुपैयाँले नै बढेर प्रतिकेजी तीन सय ७५ कायम भएको छ । नेपालमा खुर्सानीको उत्पादन ठप्पजस्तै रहेकाले भारतीय खुर्सानीमा नेपाली भान्सा निर्भर रहेको कालिमाटी फलफूल तरकारी बजार समितिका प्रवक्ता विनय श्रेष्ठले बताए ।
लोकल काँक्रो २६ माघमा ९५ रुपैयाँ रहेकोमा प्रतिकेजी एक सय १० मा कारोबार भयो । घिउसिमी १० रुपैयाँले बढेर ७५ रुपैयाँ पुगेको छ । फलफूलमा एभोकाडो मूल्य २५ रुपैयाँ वृद्धि भएर चार सय ५० पुगेको छ । एक सय २० रुपैयाँ प्रतिकेजी रहेको कागती दुई सय रुपैयाँ पुगेको छ । हरियो प्याज, काउली, गोलभेँडालगायत सिजनका तरकारीमा भने खासै मूल्य बढेको छैन । गाँजर, रायोको साग, भिन्डीलगायत तरकारीको मूल्य पनि स्थिर छ ।
अन्डाको मूल्य पनि बढेको छ । अन्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीका अनुसार अहिले ठूलो अन्डाको प्रतिक्रेट चार सय १० रुपैयाँ र मध्यमको प्रतिक्रेट तीन सय ६५ रुपैयाँ पुगेको छ । यसअघि ठूलो अन्डाको तीन सय ९५ र मध्यमको तीन सय ३५ रुपैयाँ प्रतिक्रेटमा कारोबार भएको थियो । ‘दाना बनाउने कच्चा पदार्थको मूल्य बढेसँगै अन्डा पनि महँगो पर्न गएको हो, अझै बढ्न सक्छ,’ अध्यक्ष केसीले भने । अन्डाको मात्रै होइन कुखुराको मासुको मूल्य पनि बढेको छ । कुखुराको मासु प्रतिकेजी ३० रुपैयाँ बढेर अहिले चार सय पुगेको छ ।
दाना उत्पादक संघका अध्यक्ष रोशन पुरी कच्चा पदार्थको मूल्य बढेसँगै दाना महँगिएको बताउँछन् । ‘मकै र भटमासको पिना तथा तेलको मूल्य बढेसँगै दानाको मूल्य बढेको हो । भारतबाट आउने मकैमा पाँच प्रतिशत र भटमासमा नौ प्रतिशत कर लाग्ने गरेको छ, जसले किलोमा तीनदेखि चार रुपैयाँसम्म बढ्छ,’ उनले भने । चालू आर्थिक वर्षको ६ महिनामा दाना बनाउन प्रयोगमा आउने भटमासको पिना ११ अर्ब ९९ करोडको आयात भएको छ । दूधको मूल्य पनि प्रतिलिटर १० रुपैयाँ बढेर सय पुगेको छ ।
रुस–युक्रेन युद्धलाई बहाना बनाएर मूल्य बढाएको देखिएको छ स् हरि पंगेनी, प्रवक्ता वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग
खानेतेल, खाद्यान्नलगायत उपभोग्य वस्तुको मूल्य वृद्धि उच्च भएको तथा सामग्रीसमेत अभाव भएको गुनासो आएको छ । रुस–युक्रेन विवादलाई बहाना बनाएर उपभोग्य वस्तु लुकाउने तथा अस्वाभाविक मूल्यमा बिक्री गर्ने विक्रेतालाई कारबाहीसमेत गरेका छौँ भने अनुगमनलाई दोब्बर बनाएका छौँ ।
हाम्रो अनुगमनले उपभोग्य वस्तुको मौज्दात आगामी दुई–तीन महिनालाई पुग्ने गरी पर्याप्त छ । उद्योगीसँग समेत छलफल गरेका छौँ । उद्योगीले कच्चा पदार्थको र इन्धनको मूल्य वृद्धि, ब्याजदर वृद्धिलगायतका कारण उत्पादन लागत बढेको बताएका छन् । यद्यपि, लागत बढे पनि नाफा कम गरेरै भए पनि तत्काललाई फ्याक्ट्री मूल्य नबढाउन उहाँहरू सहमत हुनुभएको छ ।
पेट्रोलियम पदार्थको भाउ अहिलेसम्मकै महँगो
पेट्रोल र डिजेलको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । पेट्रोल प्रतिलिटर एक सय ५० तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक सय ३३ रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै नेपाल आयल निगमले मूल्य बढाएको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल ९ब्रेन्ट क्रुड०को मूल्य प्रतिब्यारेल एक सय ३० अमेरिकी डलरसम्म पुगेको छ । एक महिना अघिसम्म अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारेल ९२।६९ अमेरिकी डलर रहेको थियो । रुसले युक्रेनलाई आक्रमण गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उच्चदरमा वृद्धि भएको छ ।
एलपी ग्यासको मूल्य पनि आकासियो
उपभोक्ताको भान्छामा छिनछिनमै प्रयोग हुने एलपी ग्यासको मूल्य पनि आकासिएको छ । पछिल्लो पटक नेपाल आयल निगमले २४ कात्तिकमा ग्यासको मूल्य बढाएको थियो । १५०० रुपैयाँ रहेको ग्यासको मूल्य ७५ रुपैयाँ बढाएर अहिले प्रतिसिलिन्डर १५७५ कायम गरिएको छ । ग्यासमा सरकारले आयल निगमलाई अनुदान दिँदै आएको छ ।
सुन र चाँदीको मूल्य हालसम्मकै महँगो
नेपाली बजारमा सुन र चाँदीको मूल्य पनि अहिलेसम्मकै उच्च भएको छ । बुधबार एकै दिन छापावाल सुन प्रतितोला दुई हजार पाँच सयले वृद्धि भएर तोलाको एक लाख पाँच हजार पाँच सय पुगेको छ । त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला एक हजार चार सय ५० रुपैयाँ पुगेको छ ।
दुई सातामै डन्डीको मूल्य ३० रुपैयाँ बढेर एक सय ३५ सम्म पुग्यो, कोइलाको मूल्य पनि दोब्बर भयो
नेपाली बजारमा डन्डीको मूल्य पनि अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । १००–१०५ प्रतिकिलो सम्म बिक्री भइरहेको डन्डीको मूल्य अहिले प्रतिकिलो एक सय ३५ सम्म पुगेको छ । त्यस्तै प्रतिकिलो २० रुपैयाँमा आयात भइरहेको कोइला अहिले ४० रुपैयाँ पुगेको छ । नयाँपत्रिका