काठमाडौं । वैदेशिक रोजगार वृद्धि भएपछि मुलुकमा आउने विप्रेषण (रेमिटेन्स) ले ‘नयाँ रेकर्ड’ कायम गरेको छ। स्वदेशमा रोजगारीको अभावले युवाहरू धमाधम विदेश गएपछि विप्रेषण रेमिटेन्स बढ्दै गएको हो। एक वर्षको अवधिमा १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ रेमिटेन्स आएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१/८२ मा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धि भएको छ । रेमिटेन्सलाई सही ढंगले सदुपयोग गर्नुपर्ने नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. नरबहादुर थापा बताउँछन्। ‘रेमिटेन्सलाई देशविकासमा प्रयोग गर्नुपर्छ,’ थापाले भने, ‘देशविकास गर्ने युवा विदेश जानु भनेको चिन्ताको विषय हो।’
तत्कालका लागि विप्रेषणले मुलुकका लागि फाइदा गरे पनि दिगो र टिकाउ नहुने भएकाले सरकारले यस विषयमा गम्भीर भएर सोच्नुपर्ने थापा बताउँछन्।
२०८२ असारको विप्रेषण आप्रवाह एक खर्ब ८९ अर्ब ११ करोड रुपैयाँ छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो आप्रवाह एक खर्ब १७ अर्ब ७८ करोड रुपैयाँ रहेको थियो। गत वर्ष नेपालबाट वैदेशिक रोजगारीका लागि आठ लाख ३९ हजार दुई सय ६६ जना रोजगारीका लागि गएका छन्।
वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या पाँच लाख पाँच हजार नौ सय ५७ र पुनः श्रम स्वीकृति लिनेको संख्या तीन लाख ३३ हजार तीन सय नौ जना रहेको छ। औपचारिक रूपमा श्रम स्वीकृत लिएको यो संख्या भए पनि भिजिट भिसामा विदेश गएर उतै बस्नेको संख्या पनि ठुलो रहेको छ। त्यस्तै अध्ययन तथा विभिन्न पेसा व्यवसायका लागि बिदेसिएका नेपालीबाट पनि विप्रेषण प्राप्त हुने गरेको छ।
आर्थिक वर्ष २०८०/८१ मा सात लाख ४१ हजार दुई सय ९७ जना रोजगारीका लागि विदेश गएका थिए। रेमिटेन्स आप्रवाह वृद्धि भएपछि विदेशी विनिमय सञ्चिति पनि ह्वात्तै बढेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८१/८२ मा कुल विदेशी विनिमय सञ्चिति ३१.२ प्रतिशतले वृद्धि भई २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८२ असार मसान्तमा २७.७ प्रतिशतले वृद्धि भई १९ अर्ब ५० करोड पुगेको छ। आर्थिक वर्ष २०८१र८२ को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १८.२ महिनाको वस्तु आयात र १५.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ। आर्थिक वर्ष २०८१/८२ मा चालु खाता चार खर्ब नौ अर्ब २० करोड रुपैयाँले बचतमा छ। अघिल्लो वर्ष चालु खाता दुई खर्ब २१ अर्ब ७१ करोड रुपैयाँले बचतमा रहेको थियो।
महँगी घट्यो
मुलुकमा अघिल्लो वर्षभन्दा महँगी केही मात्रामा घटेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१/८२ को अन्त्यमा वार्षिक मुद्रास्फीति ४.०६ प्रतिशत छ। अघिल्लो आवमा यस्तो मुद्रास्फीति ५.४४ प्रतिशत थियो। वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.२० प्रतिशत रहेको छ।
अघिल्लो आवको तुलनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उपसमूहको मूल्यवृद्धि १०.७१ प्रतिशत, घ्यू तथा तेलको ८.७२ प्रतिशत, दाल तथा गेडागुडीको ७.९० प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको ६.१३ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
क्षेत्रगत रूपमा हेर्दा मुद्रास्फीति काठमाडौं उपत्यकामा ३.७७ प्रतिशत, तराईमा ४.१४ प्रतिशत, पहाडमा ३.८६ प्रतिशत र हिमालमा ४.८९ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ।