काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरका ४३ करोड थान नयाँ नोट छपाइको प्रक्रिया अगाडि बढाएको छ ।
यसका लागि केन्द्रीय बैंकले अन्तर्राष्ट्रिय स्तरमा बोलपत्र आह्वान गर्दै छपाइमा इच्छुक योग्य कम्पनीहरूलाई प्रस्ताव दिन आग्रह गरेको हो ।
बोलपत्र पेश गर्न इच्छुक कम्पनीहरूले आर्थिक तथा प्राविधिक प्रस्तावसहित शिलबन्दी ढाँचामा अक्टोबर ९ अर्थात् अगामी असोज २२ गते भित्र प्रस्ताव बुझाउनुपर्नेछ । प्रस्तावहरू अक्टोबर १० मा खोलिने छन् र ती १२० दिनसम्म मान्य हुने केन्द्रिय बैंकले जनाएको छ ।
नयाँ नोट डिजाइन, छपाइ र आपूर्तिसम्मको जिम्मेवारी पाउने कम्पनीले बोलपत्र कागजात खरिद गर्दा नेपाली रुपैयाँ २० हजार वा १४४ अमेरिकी डलर, १२३ युरो वा १०७ पाउन्ड स्टर्लिङ बुझाउनुपर्नेछ । यस्तै, बोलपत्रको धरौटीका रूपमा ६ करोड ४० लाख रुपैयाँ तोकिएको छ ।
यस अघि गत फागुनमा पूर्वयोग्यता प्रक्रिया पूरा गरेका ६ अन्तर्राष्ट्रिय कम्पनीमध्येबाट छानिएका कम्पनीहरूले मात्र प्रतिस्पर्धामा भाग लिन पाउने छन् । ती कम्पनीहरू चीन, बेलायत, जर्मनी, रुस, फ्रान्स र पोल्याण्डका हुन् ।
राष्ट्र बैंकका अनुसार नयाँ नोट उच्च सुरक्षा विशेषता सहितको हुनेछ भने छपाइ सम्पन्न भएपछि चरणबद्ध रूपमा वितरण गरिनेछ ।