फागुन २५, काठमाडौं । राजधानी काठमाडौंको बसुन्धारामा वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा भएको शक्तिशाली विष्फोट विप्लव समूहले गराएको हुनसक्ने आशंका गरिएको छ ।
गुरुङको घरको ग्यारेजमा राखिएको गाडीमा शुक्रबार साँझ शक्तिशाली विस्फोट भएको थियो । विष्फोटमा परेर ४ जना घाइते भएका छन् भने घरमा पार्किङ गरेर राखिएको बा १० च ६७८९ नम्बरको ल्याण्ड क्रुजर गाडी पुर्ण क्षती भएको थियो ।
संघिय राजधानी काठमाडौंमै भएको २ दिन बित्दा समेत विष्फोट कसरी भयो भन्ने बारेमा बिरोध हुन थालेपछि विष्फोट गराउनेका बारेमा एकिन भैसकोको प्रहरीले दावी गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले नेपालबोटसँग भने, ‘विष्फोट भएको हो । तर, कुन प्रकृतिको हो भन्ने केही सबुत भेटिएको छैन ।’
अर्धभुमिगत नेत्रविक्रम चन्द विप्लव समूहले मागे अनुशारको चन्दा नदिएपछि विष्फोट गराएको हुन सक्ने प्रहरीले पुर्वानुमान गरेको छ । आफूले मागेअनुसार चन्दा नदिएको भन्दै विप्लव समूहले माघ १० मा नख्खुस्थित एनसेल कार्यालयमा विस्फोट गराएको थियो । विप्लव समूहका कार्यकर्ताले कार्यालयभित्र छाडेको बम सुरक्षागार्डले बाहिर ल्याउँदा विस्फोट भएको थियो, जसमा बाटो हिँडिरहेका एक जनाको मृत्यु भयो भने दुई जना घाइते भएका थिए ।
एक स्रोतका अनुसार विप्लव समूहका कार्यकर्ता गुरुङ कहाँ पनि तिन महिना अघि चन्दा माग्न पुगेका थिए । युवा संगठनको नाममा वैदेशिक रोजगार व्यवसायी संघको कार्यालयमा पत्राचार गरेर चन्दा माग गरिएको थियो । तर गुरुङ ले चन्दा नदिएको बुझिएको छ ।
‘त्यसपछि पटकपटक गुरुङ र विप्लवका कार्यकर्ताबीच भेटघाट भएको देखिन्छ’, प्रहरी अधिकारी भन्छन्, ‘गुरुङले आफूहरु आर्थिक संकटमा रहेको भन्दै चन्दा दिन नमानेपछि यो घटना भएको हो।’
विप्लवका कार्यकर्ताबीचको भेटघाटमा गुरुङले मलेसियाको रोजगारी बन्द भएको र सरकारले मेनपवारको धरौटी रकम ६ करोड बनाउने प्रस्ताव गरेकाले आर्थिक संकटमा रहेको जवाफ दिएर चन्दा दिने कामलाई आलटाल गर्दै आएका थिए ।