काठमाडौँ : यूएईले विश्वकप लिग २ मा नेपाललाई ४८ रनले पराजित गरेको छ । १ सय ६९ रनको विजय लक्ष्य लिएर आएको नेपाल ३५.१ ओभरमा केवल १ सय २० रनमा अलआउट भयो । नेपालबाट रोहित पौडेलले सर्वाधिक ४६ रन बनाए ।
उनले ६० बल खेल्दै ४ चौका प्रहार गरे । ८२–३ को स्थितिमा रहेको नेपालले अन्तिम ७ विकेट केवल ३८ रनमा गुमायो । रोहितले ज्ञानेन्द्र मल्लसँग चौथो विकेटमा ५५ रनको साझेदारी गरे । ज्ञानेन्द्रले ६२ बल खेली १ चौकासहित २८ रन बनाए । ज्ञानेन्द्र आउट भएपछि आरिफ शेख शुन्य, सोमपाल कामी ६, कमलसिंह ऐरी शुन्य, कप्तान सन्दीप लामिछाने ७ र करण केसी ६ रनमा आउट भए ।
नेपालको सुरुआत राम्रो थिएन् । ओपनरद्वय कुशल भुर्तेल ११ र आसिफ शेख ७ रनमा आउट भए । दीपेन्द्रसिंह ऐरी ४ रनमा रनआउट हुनु नेपालका लागि दुर्भाग्य बन्यो । यूएईका स्पिनर बसिल हमिदले ४ विकेट लिए । उनले ५ ओभरमा १ मेडन राख्दै १५ रन खर्चे । जुनाइद सिद्धिकीले ७.१ ओभरमा १ मेडन राख्दै १८ रन खर्चेर ३ विकेट लिए ।
सन् २०२३ को विश्वकप छनोटको आधार पनि रहेको लिग २ मा १५ खेलमा नवौं विजय हात पारी दोस्रो स्थानमा छ । नेपालले १० मध्येको पाँचौं खेलमा पराजय भोगेको हो । पाँच खेल नै जितेको नेपाल सात राष्ट्रसम्मिलित प्रतियोगिताको छैटौं स्थानमा छ ।
यसअघि दुबई अन्तर्राष्ट्रिय रंगशालामा शुक्रबार टस जितेर पहिला ब्याटिङ गरेको यूएई ४६.३ ओभरमा १ सय ६८ रनमै अलआउट भएको थियो । तीब्रबलरद्वय सोमपाल र करणले सुरुआत देखि बनाएको दबाबमा नेपालले यूएईलाई सानो स्कोरमा रोक्न सफल भयो । चौथो ओभरमा सोमपालले बाउन्सर बलमा चिराग सुरीलाई आउट गरी नेपाललाई सफलता दिलाउन सुरु गरेका थिए ।
सोमपालले आफ्नो अर्को ओभरमा वृत्य अरभिन्दलाई विकेटकिपर आसिफ शेखबाट आउट गरी नेपाललाई ठुलो सफलता दिलाए । सुरीले ६ र अरभिन्दले ३ रनमात्र बनाउन सके । १० औं ओभरमा सोमपालले ओपनर मोहम्मद वासिमलाई २१ र ११ औं ओभरमा करणले आसिफ खानलाई २ रनमा आउट गरेपछि यूएई ३५–४ को स्थितिमा पुगेको थियो ।
पूर्वकप्तान रोहन मुस्ताफा र सी रिजवानले धैर्यपूर्वक खेल्दै २३ ओभरमा ७७ रनको साझेदारी गरे । रिजवानलाई कप्तान सन्दीप लामिछानेले आफिसबाट स्टम्प आउट गराए । रिजवान र मुस्ताफा दुबैले समान ४० रन बनाए । रिजवानले ८५ बल खेले र कुनै बाउन्ड्री प्रहार गर्न सकेनन् । ८१ बल खेली २ चौका र १ छक्का प्रहार गरेका मुस्ताफालाई दीपेन्द्रसिंह ऐरीले बोल्ड गरे ।
बसिर हमिदलाई १४ रनमा ज्ञानेन्द्र मल्लबाट क्याच गराई सागर ढकालले एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो पहिलो विकेट लिए । खासिफ दौडलाई १८ रनमा आउट गरी सोमपालले चौथो विकेट लिए । करणले यूएईका कप्तान अहमद राजालाई १७ रनमा आउट गरी नेपाललाई नवौं सफलता दिलाए । त्यहि ओभरमा करणले जाहुर खानलाई शुन्यमा आउट गरे ।
सोमपालले ९ ओभरमा ३९ र करणले ७.३ ओभरमा १ मेडन राख्दै १६ रन खर्चेर ३ विकेट लिए । कप्तान सन्दीप लामिछानेले १० ओभरमा १ मेडन राख्दै ३० र दीपेन्द्रले १० ओभरमा ४२ रन खर्चे । नेपालले विकेटकिपर ब्याटर विनोद भण्डारीको स्थानमा कमलसिंह ऐरी खेलाएको थियो । तीब्र बलर कमलको यो दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेल हो । विनोदको स्थानमा आसिफ शेखले नेपालको विकेटकिपिङ गरेका थिए ।