हुम्ला । शैक्षिक सत्र सुरू भएको एक महिना विति सक्दा पनि हुम्लाका विद्यार्थीहरूले पाठेपुस्तक पाएका छैनन् । विद्यार्थीले पाठ्य पुस्तक पाउन नसकेपछि विद्यार्थीको पठनपाठनमा प्रभावित भएको छ । पाठ्यपुस्तक नपाएपछि अखिल नेपाल रष्टिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटि हुम्लाले विहिबार सरोकारवाला निकाय र स्थानीय तहको ध्यानार्कष गरिएको छ ।
सिमकोट र नाम्खा गाउँपालिकाका विद्यालयमा समयमै पाठ्यपुस्तक नपुगेपछि अनेरास्ववियु जिल्ला कमिटि हुम्लाले सिमकोट र नाम्खा गाउँपालिका, शिक्षा विकास तथा समन्वय इकाई र जिल्ला प्रशासन कार्यालयको ध्यानार्कषण गराएको हो ।
सो संगठनका उपाध्यक्ष छक्क लामाको नेतृत्वमा गएको टोलिले हालसम्म हुम्ला जिल्ला भित्रका दुई वटा गाउँपालिकाका विद्यालयहरूमा पाठ्यपुस्त नपुगेपछि ध्यानार्कषण गराएको बताए । सिमकोट गाउँपालिकामा कक्षा ४ देखि १० सम्मका बाँकी रहेका पाठ्य पुस्तक खच्चडबाट ढुवानी हुँदै आएको सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले बताए ।
उनले भने सिमकोट गाउँपालिकाका विद्यालयका लागि ढुवानीको जिम्मा लिएका ज्ञान बहादुर रोकायाले सर्केगाड गाउँपालिकाको सलिसल्ल भन्ने स्थानबाट बाँकी रहेको पाठ्यपुस्तक जेठ १० गतेभित्र आई पुग्ने र १ देखि ३ कक्षासम्मका पाठ्यपुस्तकहरु जेठ १५ गते भित्र पुगाई सक्ने जानकारी आएको छ ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार समयमै पाठ्यपुस्तक नपुग्नु दुखत हो । ढुवानीका लागि सवै सरोकारवाला निकाय र स्थानीय सरकारसंग समन्वय गरि रहेको र पाठ्यपुस्तक छिटो उपलव्ध गराउनका लागि ढुवानीको जिम्मा लिएका ठेकेदारहरूलाई छिटो उपलव्ध गराउन निर्देशन दिइरहेको जानकारी दिइन् ।
त्यस्तै नाम्खा गाउँपालिकाका कक्षा ४ देखि १० सम्मका पाठ्य पुस्तक पुगि सकेको भए पनि वितरण नगरेको पाइएको छ । खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिका कक्षा १ देखि ३ सम्मका विद्यार्थीको पाठ्यपुस्तक अझैँ पुगेको छैन ।
दक्षिण भेगका सर्केगाड, चंखेली, अदानचुली र ताँजाकोट गाउँपालिकामा भने पाठ्य पुस्तक पुगेर वितरण कार्य भइ रहेको भए पनि सो ठाउँका विद्यालयहरुमा पनि केही छिटफुट पुस्तकहरु आउँन बाँकी रहेको बताइएको छ ।