दुनै । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ जना कैदी फरार भएका छन्।
कैदीहरूले कारागारभित्रबाट सुरुङ खनेर शुक्रबार राति फरार भएका हुन्। घटनाबारे जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिलराज गिरीसहितको टोली कारागार पुगेको थियो।
चार मिटर ६३ सेन्टिमिटर लामो सुरुङ खनेर आठ जना भागेको उनले जानकारी दिए। घटनाको विस्तृत अनुसन्धान तथा स्थलगत निरीक्षणपछि मात्रै घटनाको थप विवरण यकिन हुने छ।
फरार रहेका कैदीबन्दीहरुमा रुकुमपश्चिमको आठबिसकोट नगरपालिका-१० का जबरजस्ती करणी मुद्दाका राम बिक, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-७ का जबरजस्ती करणी मुद्दाका कालिप्रसाद रोकाया, त्रिपुरा सुन्दरी–४ घर भएका जबरजस्ती करणी मुद्दाका धनबहादुर बुढा भन्ने हरिबहादुर बुढा, सल्यानको कुमाख गाउँपालिका ५ घर भएका जबरजस्ती करणी मुद्दाका रेशम राना, जाजरकोटको बारेकोट गाउँपालिका १ घर भएका जबरजस्ती करणी मुद्दाका यज्ञ बिक र जाजरकोटको नलगाड नगरपालिका-९ घर भएका चोरी मुद्दाका कैलाश भन्ने कपिल परियार रहेका छन्।
त्यसैगरी पुर्पक्षका लागि थुनुमा रहेका रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ घर भएका चोरी मुद्दाका तिलक भण्डारी र आठबिसकोट नगरपालिका–३ घर भएका चोरी मुद्दाका आदेश भण्डारी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय डोल्पाले उनीहरूको खोजतलासको लागि जिल्लाका सबै सुरक्षा निकायलाई परिचालन गरिसकेको छ ।
सुरुङ खन्ने तरिका हेर्दा उनीहरूले शुक्रबार राति मात्रै नभई धेरै अगाडिदेखि भाग्ने योजना बनाएको देखिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक विनय सिंहले जानकारी दिए ।
उनका अनुसार कारागारभित्र १५ फिट लामो सुरुङ खनेको देखिएको छ । बाँकी भागमा सेफ्टी ट्याङ्कीको सहायतासमेत लिएको पाइएको छ । शुक्रबार राति पानी परेका कारण ड्युटीमा रहेका प्रहरीले उनीहरू भागेको थाहा पाउन सकेनन् ।
“हिजो राति पानी परेका कारण ड्युटीमा रहेका प्रहरीले थाहा पाएनन्,” प्रहरी निरीक्षक सिंहले नेपालवोटलाई भने, “बिहान करिब ६ बजे मात्र प्रहरीले उनीहरू फरार भएको थाहा पायो ।”
डोल्पा जिल्लाका कारागार प्रशासक दीर्घराज आरसीका अनुसार कैदीबन्दीहरूले आफूहरू सुत्ने कोठाको सिरानीपट्टिबाट सुरुङ खनेका थिए । उनीहरूको कोठानजिकै सेफ्टी ट्याङ्कीसमेत रहेकाले सुरुङ खन्ने र त्यसको सहायताले बाहिर निस्कने योजना बनाएको देखिन्छ ।
“सुत्ने कोठाको सिरानीबाट उनीहरूले सुरुङ खनेका रहेछन् । त्यो कसैलाई पनि थाहा भएन,” आरसीले थपे, “म बाहिर थिएँ, बिहान पौने ६ बजे सुरक्षाकर्मी र हाम्रा कर्मचारीले उनीहरूको कोठा चेक गर्दा नभेटाएपछि बल्ल उनीहरू भागेको थाहा भयो ।”
कारागारको सर्च नहुँदा प्रहरी अनविज्ञ
एक सयजनाको क्षमता रहेको डोल्पा जिल्ला कारागारमा घटनाको समयमा १७ जना कैदीबन्दी थिए । आठजना फरार भएपछि अहिले नौ जना मात्रै बाँकी रहेका छन् ।
कारागारमा बेला–बेला सर्च गर्ने गरिए पनि पछिल्लो पटक दसैँयता सर्च अभियान सञ्चालन गरिएको थिएन ।
कारागार प्रशासक आरसीका अनुसार कैदीबन्दीबीच झगडा वा विवाद भएको अवस्थामा मात्रै सर्च अभियान चलाउने गरिएको थियो । पछिल्लो समय उनीहरूबीच कुनै विवाद नभएकाले पनि नियमित सर्च हुन नसकेको उनको भनाइ छ ।
“हामीले कैदीबीच केही झगडा भयो वा केही विवाद भयो भने मात्रै त्यस्तो सर्च अभियान चलाउने गरेका थियौँ । पछिल्लो समय उनीहरूबीच त्यस्तो केही पनि विवाद भएको देखिएको थिएन,” उनले बाह्रखरीसँग भने ।
पुरानो प्रहरी सहायक निरीक्षकको सरुवा भएपछि नयाँ आएको र त्यसपछि सर्च गर्ने विषयमा छलफल भए पनि कार्यान्वयन हुन सकेको थिएन ।
“सई साब पनि नयाँ आउनुभयो । खाली साँझ पौने ६ बजे र बिहान पौने ६ बजे चेक मात्र गर्ने गरेका थियौँ,” उनले भने, “नयाँ जिम्मेवारीमा आउनुभएका सुरक्षाकर्मीले सर्च गरौँला भन्दै गर्दा यस्तो घटना भइहाल्यो ।”
कारागारको नियमित सर्च नहुनु र कैदीबन्दीले लामो सुरुङ खनेर बाहिरिँदासमेत सुरक्षाकर्मीले समयमै जानकारी नपाउनु घटनापछि गम्भीर सुरक्षा चुनौतीका रूपमा देखिएको छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक १४, २०८३ १४:३१