सिमकोट । अप्रत्यासित रुपमा महंगी बढिरहेका बेला हुम्ला जिल्लाले पनि नयाँ दररेट कायम गरेको छ ।
प्रमुख जिल्ला अधिकारी सिता परियारको अध्यक्षतामा बसेको जिल्ला दररेट समितिको बैठकले जिल्लाको सबै क्षेत्रमा नयाँ दर रेट कायम गरेको हो । आगामी साउन १ गतेदेखि कार्यान्व्यनमा ल्याउने गरेर कायम गरिएको नयाँ दररेटमा दक्ष कामदाराको दैनिक ज्याला एक हजार छ सय ५० कायम गरिएको छ । यसैगरी अदक्ष कामदारको दैनिक ज्याला एक हजार कायम गरिएको समितिका अध्यक्ष सिता परियारले जानकारी दिनुभयो । बढ्दो महंगी, स्थानीय प्रचलन लगायतका आधारमा तय भएको नयाँ दररेट अनुसार प्राविधिक कामदारको ज्याला दैनिक एक हजार सात सय पुर्याइएको छ । यो गएको वर्षको तुलनामा ७० प्रतिशतले वृद्धि गरिएको हो ।
यसैगरी बैठकले सजिलो सामानको भारी बोक्ने भरियाका लागि दैनिक एक हजार ज्याला तय गरेको छ भने असजिलो सामान बोक्ने भरियाका लािग दैनिक एक हजार २ सय रकम ज्याला तोकेको छ । निर्माण सामाग्री ढुंगा, वालुवा आदीको दर सम्बन्धित कार्यालयको विभागिय नम्स हनुसारको दर कायम गर्ने निर्णय गरेको समितिले नेपालगञ्जदेखि सिमकोटसम्मको सामान ढुवानी प्रतिकेजी एक सय ५० कायम गरेको छ भने सुर्खेतदेखि सिमकोटको प्रति किलो समानको ढुवानी एक सय ४० रुपैयाँ कामय गरेको हो ।
हेलिकोप्टरमार्फत ढुवानी हुने सामान र चार्टरको लागि हेलिकोप्टरले नैं तय गरेको दरका आधारमा हुने निर्णय गरेको समितिले डोजरबाट माटो खन्न १२० एक्साभेटरको फ्युल बाहेक प्रतिघण्टा तीन हजार ३००, पिसी १२० भन्दा माथिका एक्साभेटरको प्रतिघण्टा तीन हजार ७०० र ब्याकहोल्डरको प्रतिघण्टा दुई हजार ३५० का दरले काम गराउने गरी दर कायम गरिएको छ । जसमा अपरेटर र हेल्परको पारिश्रमिक समेत जोडिएको छ ।
कवाडी, गल्फागाड, सलिसल्लालाई पहिलो पटक सडक हेडका रुपमा तय गरेको जिल्ला दररेट समितिले नेपालगञ्जबाट कवाडीसम्मको सामान ढुवानी अधिकतम प्रति केजि १३, गल्फागाड प्रतिकेजी १६ र सलिसल्ला प्रतिकेजी १८ रुपैयाँका दरले सामान ढुवानी गराउन सकिने निर्णय गरेको छ । यो दर पेट्रोल र डिजेलको मुल्यमा गिरावट आए समायोजन गर्ने जिल्ला दररेट समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी परियारले जानकारी दिनभयो । यसैगरी सिमकोटका लागि भरेको ग्याँस सिलिण्डरको ७ हजार र खाली सिलिण्डरको ४ हजारका दरले खरिद विक्री गर्न मिल्ने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा आइतबार र सोमबार बसेको समितिको बैठकले पेट्रोलको प्रति लिटर चार सय, डिजेलको तीन सय ३०, मट्टिीतेलको प्रतिलिटर तीन सय ३० र मोविलको प्रति लिटर नौं सय दर कायम गरेको छ ।
बैठकले आराले च्यातेको २ इन्च भन्दा बाक्लो सल्लाको काठको सात हजार ८ सय, देवदारको काठको आठ हजार तोकेको छ । जिल्लाको क्षेत्रगत दररेट कायम गर्दै समितिले हरेक क्षेत्रमा विगतको भन्दा १० देखि ७० प्रतिशतले वृद्धी गरेको छ भने प्रयोगमा नआउने रैथाने समाग्रीहरुको मूल्यमा केही घटाएको छ । यसैगरी जिल्लाका सञ्चार माध्यमले लिने विज्ञापन शुल्कमा समेत यो वर्ष केहि प्रतिशत दर बढाइएको छ ।
समितिको निर्णय अनुसार रेडियो प्रसारण गर्ने एक मिनेटको विज्ञापनका लागि प्राइम टाइमको प्रतिमिनेट ३५०, सुपर टाइमको २५०, सामान्य टाइमको २०० र आधा घण्टाका कार्यक्रम उत्पादन तथा प्रसारण वापत आठ हजार रकम तय गरिएको छ । बैठकले जिल्लाका पत्रपत्रिका र अनलाइनको समेत विज्ञापनको दर कायम गरिएको समितिका सदस्य सचिव पूर्वाधार विकास कार्यालयका प्रमुख देवी ऐडीले जानाकरी दिनभयो ।
बैठकले गरेका निर्णयका आधारमा समितिले केहि दिनमै जिल्लाको दररेट जारी गर्ने जनाइएको छ ।
प्रकाशित मिति: सोमबार, असार २७, २०७९ १७:३३