काठमाडौं । विदेशमा फिल्म सुटिङको लागि नेपाल पर्यटन बोर्डको नक्कली लेटरप्याड प्रयोग गरेर निवेदन दिइएको खुलेको छ।
‘तिम्रो नजर’ नामको फिल्म सुटिङ नर्वेमा गर्नुपर्ने भन्दै भारतमा रहेको नर्वेजियन दूतावासमा फिल्म टिमले निवेदन दिएको हो।
निवेदन दिएको केही दिनपछि दूतावासले पर्यटन बोर्डबाट जानकारी लिएको थियो। तर, बोर्डले कुनै पनि फिल्म सुटिङको लागि अनुमति नमागेको जानकारी दिएपछि नक्कली कागजपत्र प्रयोग खुलेको हो।
पत्रमा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकारी धनञ्जय रेग्मीको हस्ताक्षर प्रयोग भएको छ। प्रमुख रेग्मीले आफूहरूले कुनै पनि फिल्मको लागि सिफारिस नगरेको बताएका छन्।
‘यो हस्ताक्षर नै नक्कली छ। हामीले कुनै पनि फिल्मलाई अनुमति दिन भनेका छैनौँ,’ रेग्मीले भने।
पर्यटन बोर्डको पत्र नम्बर ३०९ (२०७८ र ७९ मा जुलाई २० मा दूतावासमा भिसाको लागि आवेदन पेस गरिएको छ। फिल्म युनिटका १४ जना कलाकारका लागि भिसा आवेदन गरिएको छ जसमा नायिका केकी अधिकारी, हरिश सिग्देल ९आर्यन० लगायत १४ जनाको नाम रहेको छ। निर्माताले भिसाका लागि आवेदन गरेको भए पनि फिल्म निर्माणका लागि प्रयोग भएको कागजातका सम्बन्धमा कलाकार जानकार नहुन पनि सक्छन्।
फिल्मका निर्देशकमा दीपकप्रसाद आचार्यको नाम छ। त्यस्तै, निर्मातामा भने रोशन पराजुली रहेका छन्। पर्यटन बोर्डले अनुमति नलिएको र नक्कली कागजपत्र भनेपछि दूतावासले भिसा क्यान्सिल गरेको हो। यसरी आफ्नो कार्यालयको लेटरप्याड र नक्कली हस्ताक्षर प्रयोग भएकाले पर्यटन बोर्डले केस नेपाल प्रहरीलाई दिएको छ।
ुयो गिरोहमा कोको छन्रु के हो भनेर अनुसन्धान गर्न हामीले केस नेपाल प्रहरीलाई जानकारी दिएका छौँ,ु बोर्डका प्रमुख रेग्मीले भने।
फिल्म ब्लु बर्ड एचडी प्राइभेट लिमिटेडले बनाउन लागेको जनाइएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले अहिले घटनाको अनुसन्धान गरिरहेको छ। ब्युरोका प्रवक्ता एसपी कमल थापाले पर्यटन बोर्डले अनुसन्धानको लागि दिएको पत्र दर्ता भएर काम भइरहेको जानकारी दिए।
सरकारी पत्र दुरुपयोग मात्र होइन, फिल्मका नाममा मानव तस्करी समेत हुनसक्ने आशङ्कामा प्रहरीले अनुसन्धान गरिरहेको छ। भिसाका लागि दूतावासमा दिएको आवेदनमा चलेका कलाकार आर्यन सिग्देल र केकी अधिकारीको नाम समेत राखिएको छ। भिसाको लागि आवेदन दिएको फिल्म कम्पनीको नाम निर्माता संघमा दर्ता समेत नभएको भेटिएको छ।