काठमाडौं । बुद्धनगरस्थित भण्डारीको भाइको घरको भुइँ तलामा गएराति आमाछोरा मात्रै थिए ।
नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी बुधबार बेलुकी कांग्रेस नेता सबुज बानियाँको बिहेमा गएका थिए । फर्किएर बुद्धनगरस्थित घरमा आउँदा सवा १० भइसकेको थियो ।
‘ग्यासको गन्ध आएपछि आमाले छोरा भण्डारीलाई राती १० बजेतिर बोलाउनुभएछ । लगत्तै सांसद भण्डारी के भएको रहेछ भनेर बत्ती बाल्न लाग्नुभएछ’, काठमाडौं प्रहरी परिसरका एसपी सीताराम रिजालले भने, ‘के भएको रहेछ भनेर बत्ती बालेर हेर्न खोज्दा स्पार्क निस्केर फैलिएको ग्यासमा आगो सल्किएको र विस्फोट भएको भन्ने अहिलेसम्म बुझेका छौं।। अरू विषयमा हामी पनि अनुसन्धान गर्दैछौं ।’
प्रहरीका अनुसार भान्सामा ग्याँस सिलिण्डर जस्ताको तस्तै छ । तर आगलागीपछि विस्फोटले झ्यालका सिसा फुटेका छन् । आगलागीबाट भण्डारीका आमाले लगाएका सबै कपडा जलेर शरीरका विभिन्न भागमा गहिरो चोट घाउ लागेको थियो ।
तातो हावा र ग्यास फोक्सोसम्म पुगेपछि दुवैको अवस्था गम्भीर बनेको अस्पतालले जनाएको छ।
आमाको शरीरको ७० प्रतिशत र सांसद भण्डारीको ३० प्रतिशत भाग जलेको अस्पतालले जानकारी दिएको छ । अस्पतालका अनुसार फोक्सोसम्म ग्यास र तातो हावाको असर परेकाले सांसद भण्डारीको पनि स्वास्थ्य अवस्था सहज नभएकाले थप उपचारका लागि भारत लान चिकित्सकले सिफारिस गरेका छन् ।
भण्डारीको अनुहार पनि गहिरो रुपमा जलेको छ । हात र खुट्टामा पनि जलन भएको छ । यसैले गहिरो गरी पोलेको घाउमा छाला नै फेर्नुपर्ने भएकोले नेपालमा सम्भव नहुने भन्दै अस्पतालले भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा रेफर गरेको हो ।
भण्डारीले भारतमा उपचार गर्न मानेका थिएनन् । तर परिवार र कांग्रेस नेताले समस्या बढ्न सक्ने भन्दै सचेत गराएपछि उनी तयार भएका हुन् ।
बिहीबार बिहानसम्म उनी सामान्य कुराकानी गर्न सक्ने अवस्थामा थिए । भण्डारी ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा गुल्मी १ बाट निर्वाचित सांसद हुन्।
आगलागीपछि उनलाई उपचारका लागि राखिएको कीर्तिपुरस्थित अस्पतालमा नेता कार्यकर्ताको ठूलो भीड लागेको थियो । कांग्रेस सभापति शेरबहादुर देउवा, सभामुख, अर्थमन्त्रीसहित, कांग्रेस उपसभापतिहरू महामन्त्रीसहितका नेता कार्यकर्ता कीर्तिपुर पुगेका थिए ।
उनलाई अहिले भने उपचारका लागि भारतको मुम्बई लगिएको छ। उनलाई एअर एम्बुलेन्समार्फत भारत लगिएको हो। कांग्रेस सांसद चन्द्र भण्डारीको बुद्धनगरस्थित घरमा ग्यास विस्फोट भएपछि उनकी आमाको निधन भयो।
बुधबार राति खाना पकाउने ग्यास विस्फोटमा परी घाइते भएकी भण्डारीकी ८६ वर्षीया आमा हरिकला भण्डारीको उपचार क्रममा बिहीबार बिहान कीर्तिपुर अस्पतालमा निधन भएको हो ।