काठमाडौं । विराटनगर महानगरपालिका १९ मिलनचोककी २८ वर्षीय प्रियंका सुनारको हत्याको योजना १५ दिन अगाडि नै भएको खुलेको छ ।
प्रियंकाको हत्या उनकै श्रीमान् रमेश साहले हत्याको दुई हप्ताअघि योजना बनाएको खुलेको मोरङ प्रहरीले जनाएको छ । प्रियंकाको हत्या गर्न रमेशले मुख्य सहयोगी कटहरी गाउँपालिका – ५ का ६२ वर्षीय रमानन्द रामलाई २५ हजार रुपैयाँ एडभान्ससमेत दिएका खुलेको छ।
उनले हत्या पछि शव व्यवस्थापन गर्ने सम्मको योजना बनाएको प्रहरीको अनुसन्धानबाट खुलेको हो । शव व्यवस्थापन सुनसरीको चतराको जङ्गलमा लगेर फाल्नेसम्म योजना रमेश र रमानन्दले बनाएको मोरङ प्रहरीका डीएसपी रञ्जन कुमार दाहालले बताए ।
श्रीमती परपुरुषसँग अनैतिक सम्बन्ध रहेको भन्दै हत्या गर्ने योजना रमानन्दलाई रमेशले सुनाएका थिए ।
त्यही योजनाअनुसार रमानन्दले थप दुई जना सहयोगी लिएको अनुसन्धानबाट खुलेको डीएसपी दाहालले बताए । शव व्यवस्थापनका लागि रमानन्दले मारुती भ्यानका धनी कटहरी ५ का उमेश सरदारको साथ लिएका थिए भने सहयोगीमा विराटनगर(७ का वर्षीय श्रीराम चौधरीलाई पनि साथमा लिएका थिए । उमेशलाई २ हजार रुपैयाँ इन्धन हाल्न रमानन्दले दिएको समेत अनुसन्धानबाट खुलेको छ ।
प्रियंकाको हत्या गरेपछि शव भने चतराको जंगल फाल्ने नभए सप्तकोसीमा नदीमा हाल्ने योजना बनाएको समेत प्रहरीको अनुसन्धानबाट खुलेको छ । प्रियंकाको हत्यापछि बोरामा शव हालिएको थियो ।
बोरामा हालेको शव मारुती भ्यानमा हाल्न उमेशले इन्कार गरेपछि रमानन्द एम्बुलेन्स खोज्न कोशी अस्पतालमा गएका थिए । आइतबार राति ११ बजे अस्पतालमा एम्बुलेन्स खोज्दै पुगेको र शव सप्तकोसीमा लाने भने पनि उनी शङ्काको घेरामा तानिएका थिए ।
उनलाई पक्राउ गरेर अनुसन्धान गर्न थालेपछि प्रियंकाको हत्या भएको खुलेको थियो ।
रमानन्द आपराधिक क्रियाकलापमा संलग्न भएका समेत खुलेको छ । रमानन्द डाँका मुद्दामा ४ वर्ष कैद भुक्तान गरेर केही समयअघि निस्केका थिए । उनलाई मदिरा सेवनका लागि रमेशले रमानन्दलाई पैसा पनि दिने गरेका थिए ।
उनीहरूबीच कति पैसामा बार्गेनिङ भएको भन्ने अझै नखुलेको प्रहरीले जनाएको छ । घुम्न र धामीको झारफुक गर्न भन्दै रमेशले श्रीमतीलाई मोटरसाइकलमा हालेर आइतबार दिउँसो बुढीगंगा गाउँपालिका २ अमाहीमा लगेका थिए ।
अमाहीस्थित नरसिंह चौधरीको घरमा पुर्याएपछि प्रियंकाको हत्या श्रीमान् रमेशसहित अन्य तीन जनाको सहयोगमा डोरी र तन्नाले घाँटीमा कसेर हत्या भएको प्रहरीले जनाएको छ।
प्रियंकाको हत्या गरी बोरामा पोको पारेर फालेको अवस्थामा नरसिंह चौधरीको गोठमा शव सोमबार दिउँसो १२ बजेतिर फेला परेको थियो ।
घाँटी र कानमा चोटपटक रहेका कारण हत्यापछि प्रियंकाको शव बोरामा पोको पारेर फालेका थिए । पक्राउ परेका चार जनालाई प्रहरीले कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी थप अनुसन्धान बढाउने जनाइएको छ ।