त १५, काठमाडौं । विदेशी लगानी भित्र्याउन सरकारले आयोजना गरेको लगानी सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गरेका छन् ।
काठमाडौंको होटल सोल्टीमा आयोजित विशेष समारोहका बीच लगानी बोर्डका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले शुक्रबार बिहान सम्मेलनको उदघाटन गरेका हुन् ।सम्मेलनमा बोल्दै नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले राजनीतिक संक्रमण अन्त्य गर्दै नेपाल समृद्धिको यात्रामा अघि बढेकाले हातेमालो गरेर अघि बढ्न लगानीकर्तालाई आग्रह गरे ।
राजनीतिक संक्रमणकाल सकिएकाले ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीले लगानीकर्तालाई आग्रह गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल लगानीका लागि ‘भर्जिन ल्यान्ड’ भएको भन्दै ओलीले कुनै पनि द्विविधा नपरी लगानी लिएर नेपाल आउन आग्रह गरे ।
‘नेपाल लगानीका लागि भर्जिन ल्यान्ड हो, यहाँ सबै क्षेत्रमा नाफा छ,’ उनले भने,’यहाँ जलविद्युतमा उच्च सम्भावना छ, पर्यटन, पूर्वाधार, सूचना प्रविधि, उद्योग, खानी लगायतका क्षेत्रमा प्रशस्त सम्भावना छन् ।’
प्रधानमन्त्री ओलीले सरकारले अब दोहोरो अंकको आर्थिक वृद्धिको लक्ष्य राखेर काम गरिरहेको भन्दै त्यसका लागि स्वदेशी पुँजी पर्याप्त नभएको बताए । ‘हामीलाई दोहोरो अंकको वृद्धि हात पार्न ठूलो विदेशी लगानी आवश्यक छ, त्यसका लागि हामीले विदेशी लगानीलाई सहज रुपमा भित्र्याउन कानूनहरु संशोधन गरेका छौं, नयाँ कानून ल्याएका छौं,’ उनले भने,’हामी नाफाको सम्मान गर्छौं, लगानीबाट प्राप्त लाभांश फिर्ता लैजान पनि रोक्दैनौं ।’
प्रधानमन्त्री ओलीले निजी क्षेत्रको साथ विना ‘सुखी नेपाली, समृद्ध नेपाल’को सपना पुरा नहुने भन्दै त्यसैलाई ध्यानमा राखेर लगानीमैत्री कानूनहरु बनाइएको बताए । उनले नेपाल भूराजनीतिक हिसावले निकै महत्वपूर्ण ठाउँमा रहेको भन्दै यहाँ गरिने उत्पादन भारत र चीनजस्ता ठूला बजारमा सजिलै लैजान सकिने बताए ।
‘हामीले ब्यापार सहजीकारण लागि विभिन्न काम गरेका छौं, भारतसँग जलमार्गबाट पनि छिट्टै जाडिँदैछौं,’ ओलीले भने,’चीनसँग पनि पारहवन प्रोटोकलमा छिट्टै हस्ताक्षर हुँदैछ । यसले यहाँ हुने लगानीलाई अझ सहज गर्छ भन्ने हाम्रो विश्वास छ ।’
सम्मेलनमा स्वदेशी तथा विदेशी गरी झण्डै १ हजार लगानीकर्ताको उपस्थिति रहेको छ । विभिन्न ४० देशहरुबाटमात्रै ६ सय भन्दा बढी लगानीकर्ताको सम्मेलनमा सहभागी भएका छन् ।
सम्मेलनमा लगानीका लागि निजी क्षेत्रको तर्फबाट २७ समेत गरी सरकारले ७७ वटा परियोजनाहरु प्रस्ताव गरिदैछ । उद्घाटन शत्र पछि हुने विषयगत शत्रहरुमा ति परियोजनाहरुमा लगानीका विषयमा छलफल हुने बोर्डले जनाएको छ ।
उद्घाटन शत्रमै म्यानमारका यूनियन मन्त्री उ ताउन टूनल सम्बोधन गर्ने आयोजकले जनाएका छन् । मेनहार्ड ग्रपका कार्यकारी अध्यक्ष शाहाद नासिम,एशियाली विकास बैंकका उपाध्यक्ष शिक्षिन चेन, विश्व बैंकका उपाध्यक्ष हार्टविग सेफर र दी मुथहोट ग्रुपका अध्यक्ष एमजी जर्ज मुथहोटले पनि उद्घाटन समारोहलाई सम्वोधन गर्नेछन् ।