सिमकोट । जिल्लामा हुने गरेका अनियमितता र भ्रष्टाचार न्यूनिकरण विरुद्ध हुम्ला जिल्लामा वास नेपाल जुरमुराउन थालेको छ । मंगलबार वास नेपाल हुम्लाको आयोजनामा जिल्ला प्रशासन कार्यालयमा सांकेतिक धर्ना सहित प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा पुगेर वास नेपाल हुम्लाले ज्ञापनपत्र बुझाएको हो ।
वास नेपालका जिल्ला अध्यक्ष तिर्थराज भण्डारीको नेतृत्वको टोलिले जिल्लामा हुने असल शासन, सामाजिक जवाफदेहिता, सामाजिक सद्भाव, सामाजिक सुरक्षा, युवा ससक्तिकरण, सयंम सेवा, बालअधिकार बाल संरक्षण, लैङ्गिक हिंसा, भ्रष्टाचार, अनियमितता, ढिला सुस्ती, लापर्वाही जस्ता न्युनिकरणका विरुद्ध उक्त संस्थाले अभियानको सुरुवात गरेको वास नेपाल हुम्लाको स्रोतले जनाएको छ ।
जिल्लामा हुने गरेका सवै खालका भ्रष्टाचारहरुको नियन्त्रण गरियोस, सरकारी साधनहरूको दुरुपयोमा रोक लगाइयोस, नियमित रुपमा सार्वजनिक सुनुवाई व्यवस्था मिलाइयोस, सुचनाको हक सम्वन्धि ऐन र शुसासन ऐन अक्षरआंस पालना गरियोस भन्ने नाराकासाथ वास नेपालले सो अभियानको थालनी गरेको हो ।
कुनै पनि सरकारी निकायले सरल र सहज ढङ्गले जनतालाई सुविधा दिनुपर्ने, सरकारी कर्मचारी जनताप्रति जबाफदेही हुनुका साथै सेवाग्राहीलाई सम्मान गर्ने खालको हुनुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
हुम्लाका विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयसंग यस्ता कार्यप्रति आफूले निगरानी राख्ने र यसलाई न्युनिकरणको उपाया खोज्ने प्रजिअ श्रीनाथ पौडेलले जानकारी दिए । उनले वास नेपालले गरेको यो अभियानको प्रशंसा गर्दै सरकारी निकायबाट आफ्नो पनि साथ र सहयोग रहने प्रतिवद्धता जनाए ।