खाँदबारी । सङ्खुवासभाको भोटखोला–४ मा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा एकको मृत्यु भएको छ । दुर्घटनामा परी स्थानीय भविन गुरुङको मृत्यु भएको डिएसपी वीरेन्द्र गोदारले जानकारी दिनुभयो ।
हेलिकोप्टरमा सवार चारजना गम्भीर घाइते हुनुभएको उहाँले बताउनुभयो । आज दिउँसो १ः१० बजे भोटखोला गाउँपालिका–४ हटियाको सिक्प्रुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर हेलिकोप्टर दुर्घटना भएको प्रहरीको भनाइ छ ।
मृतक गुरुङ हेलिकोप्टरमा सहयोगीका रुपमा काम गर्दै आउनुभएको थियो । दुर्घटनामा परी क्याप्टेन सुरेन्द्र पौडेल, को–पाइलट छिरिङ भोटे, अर्का सहयोगी मनोज थापा र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शङ्कर गम्भीर घाइते हुनुभएको छ । उहाँहरुलाई उपचारका लागि काठमाडौँ पठाइएको छ ।
पाइलटसहित गम्भीर घाइते दुईजनालाई काठमाडौं ल्याइँदैं
सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा क्याप्टेन सुरेन्द्र पौडेलसहित दुईजना गम्भीर घाइते भएका छन् । उनीहरुलाई उद्दार गरेर काठमाडौं ल्याइदै छ ।
घटनास्थल रहेको भोटखोला गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष विकास गुरुङले थप दुईजनालाई सामान्य चोटपटक लागेको बताए ।
गुरुङका अनुसार हेलिकोप्टरमा पाइलट पौडेलसहित टिम मेम्बर छिरिङ भोटे, स्थानीय भविन गुरुङ र विक्रम (थर नखुलेको) स्थानीय सवार थिए । भाटे र विक्रमले हेलिकोप्टरबाट हाम्फालेर ज्यान जोगाएको गुरुङले जानकारी दिए । उनीहरुलाई सामान्य चोटपटक लागेको छ ।
पौडेलसहित गम्भीर घाइते दुईजनालाई नेपाली सेनाले सिम्रिक एयरको हेलिकोप्टरले उद्दार गरेर काठमाडौं ल्याइरहेको उनले बताएका छन् ।