काठमाडौं । ११ महिनापछि मंगलबार कांग्रेस केन्द्रीय समिति बैठक बस्दै छ । महामन्त्री विश्वप्रकाश शर्माका अनुसार बैठकमा १० एजेन्डा रहनेछन् । राष्ट्रिय महत्वका र पार्टी जीवनका कैयौँ मुद्दामा कांग्रेसका संस्थापन र इतर समूहबीच एकरूपता छैन ।
प्रस्तावमा आफ्ना धारणा राख्न पदाधिकारी र केन्द्रीय सदस्यलाई निश्चित समय दिइन्छ । पहिलो दिनको बैठक अपराह्न १ बजेबाट सुरु हुन्छ । त्यसपछिका बैठक बिहान ११ बजेबाट सुरु हुन्छन् । यो साताभित्र बैठकले निष्कर्ष निकाल्नेछ ।
बैठकको पूर्वसन्ध्यामा सोमबार सभापति शेरबहादुर देउवानिवास धुम्बाराहीमा पदाधिकारी तथा पूर्वपदाधिकारीसँग छलफलपछि एजेन्डा तय भएका हुन् । महामन्त्री शर्माका अनुसार समसामयिक विषय, सांगठनिक कार्ययोजना, कार्यसम्पादन समिति बैठकका निर्णय अनुमोदन, निर्वाचन परिचालन समितिको प्रतिवेदन पेस, नीति अधिवेशनको प्रस्ताव, विभाग गठन, राष्ट्रव्यापी अभियानको घोषणा, अनुशासन समिति प्रतिवेदन पेस, संसदीय दल समीक्षा र केन्द्रदेखि प्रदेशसम्मका सरकारको समीक्षा बैठकका एजेन्डा छन् ।
सभापति र महामन्त्रीद्वयले तय गरेका प्रस्तावलाई पदाधिकारी तथा पूर्वपदाधिकारी तहमा छलफलपछि एजेन्डा बनाइएको हो । महामन्त्री शर्माले बैठक करिब एक साता चल्ने र एजेन्डामाथि नेताहरूले धारणा राख्ने बताए । ‘प्रस्तावमा आफ्ना धारणा राख्न पदाधिकारी र केन्द्रीय सदस्यलाई निश्चित समय दिइन्छ । पहिलो दिनको बैठक अपराह्न १ बजेबाट सुरु हुन्छ । त्यसपछिका बैठक बिहान ११ बजेबाट सुरु हुन्छन् । यो साताभित्र बैठकले निष्कर्ष निकाल्नेछ,’ उनले भने ।
झन्डै एक वर्षको अन्तरालमा बस्न थालेको बैठकमा आफ्नो पक्षका मत कसरी राख्ने भनेर संस्थापन र इतर दुवै समूहका नेता तयारीमा छन् । इतर समूह नेतृत्वको कार्यशैलीलगायतका विषयलाई लिएर आक्रामक रूपमा प्रस्तुत हुने तयारीमा छ । संस्थापन पक्षले प्रतिकूल अवस्थामा पनि पार्टीलाई केन्द्रदेखि प्रदेशसम्म सत्ता–राजनीतिको केन्द्रमा ल्याएको र निर्वाचनमा पहिलो दल बनाएकोलगायत विषय उठाउँदै छ ।
इतरपक्षीय केन्द्रीय सदस्य प्रकाश रसाइली स्नेहीका अनुसार सोमबार बैठकमा प्रस्तुत हुने विषयमा महामन्त्री गगन थापा र नेता डा। शेखर कोइरालाबीच छलफल भएको थियो । बालुवाटारस्थित कोइरालाको सम्पर्क कार्यालयमा दुई नेताबीच भेट भएको थियो । ‘बैठकका एजेन्डा र कसरी प्रस्तुत हुने भन्नेबारे उहाँहरूबीच छलफल भयो,’ रसाइलीले नयाँ पत्रिकासँग भने ।
अर्का केन्द्रीय सदस्य मधु आचार्यले बैठक सुरु हुनुअघि या बैठकको अवस्था हेरेर इतर समूहले आफ्नो रणनीति बनाउने बताए । ‘मगलबार बैठक सुरु हुनुअघि पनि हाम्रो समूहमा छलफल हुन सक्छ या बैठक चलेपछिको अवस्थाका आधारमा के गर्ने भन्ने टुंगो लगाउँछौँ,’ आचार्यले भने ।
इतर समूहले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको समीक्षा, गठबन्धनको औचित्य र नेतृत्वको कार्यशैलीलगायतलाई मुख्य रूपमा उठाउने तयारी गरेको छ । इतरले बैठकलाई औपचारकितामा सीमित गर्न नहुने र नेतृत्वले आलोचनालाई स्वीकार गर्न तयार हुनुपर्ने बताउँदै आएको छ ।
१४औँ महाधिवेशनपछि कांग्रेसको ६ पटक केन्द्रीय समिति बैठक बसेको छ । यसबीचमा २१ पटक केन्द्रीय कार्यसम्पादन समिति बैठक बसेका छन् । विधानले कार्यसमिति बैठक दुई महिनामा कम्तीमा एकपटक बस्ने व्यवस्था गरेको छ । कार्यसम्पादन प्रत्येक महिनामा कम्तीमा एकपटक र कार्यसमितिको एउटा बैठक र अर्को बैठकको बीचमा कार्यसमितिले गर्नुपर्ने काम केन्द्रीय कार्यसम्पादन समितिले गर्ने व्यवस्था छ ।
१० पुसमा कांग्रेस सरकारबाट बाहिर रहने अवस्था आएसँगै १२ पुसमा सभापति देउवाले २२ पुसमा केन्द्रीय समिति बैठक आह्वान गरेका थिए । तर, पहिलो संसद् बैठक, प्रधानमन्त्रीलाई विश्वासको मतलगायतका कारण देखाँउदै बैठक सारिएको थियो ।
यसबीचमा प्रधानमन्त्रीलाई विश्वासको मत दिनेलगायतका निर्णय कार्यसम्पादन समितिबाट निर्णय भएका थिए । यसबीचमा तीनपटक सरेर १५ माघमा तय भएको केन्द्रीय समिति बैठक फेरि अनिश्चित बन्दै आएको थियो । त्यसपछि टुंगो नलागेको बैठक २७ असारमा बोलाइएको थियो । तर, २७ असारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन र तयारी नपुगेको भन्दै स्थगित गरी आजका लागि सारिएको थियो ।
देउवाको प्रस्ताव– केन्द्रीय समिति बैठक लाइभ गरौँ
पदाधिकारी तथा पूर्वपदाधिकारीसँगको छलफलका क्रममा सभापति शेरबहादुर देउवाले बैठक प्रत्यक्ष प्रसारणको प्रस्ताव गरेका छन् । पूर्वमहामन्त्री डा. शशांक कोइरालाका अनुसार बैठकको सुरुमा नै यसबारे छलफल भएको थियो । तर, यसबारे फरकफरक धारणा रहेको उनले बताए । ‘सुरुमा शेरबहादुरजी आफैँले बैठक लाइभ गरौँ भन्नुभयो । धेरैले लाइभ गरे पनि हुन्छ भन्नुभयो । केहीले लाइभ हुने भएपछि हृदयबाट कुरा राख्न सक्दैनन्, सहमति–असहमतिका विषय राख्न सहज हुँदैन भन्नुभयो,’ कोइरालाले भने, ‘दुवै पक्षका कुरा भए । कतिपयले गरी हेरौँ त्यसको रिपोर्टका आधारमा गर्ने–नगर्ने निर्णय गरौँला भन्नुभएको छ । सायद सुरुमा बैठक लाइभ नै हुन्छ । त्यसको प्रतिक्रियाका आधारमा के गर्ने टुंगो लाग्छ ।’ महामन्त्री विश्वप्रकाश शर्माका अनुसार बैठक प्रत्यक्ष गर्ने–नगर्नेबारे मंगलबार नै टुंगो लाग्नेछ । ‘पार्टीको छलफल बन्द रूपमा हुने र छलफलका लागि सहज हुने परम्परा छ । तर, कांग्रेसले प्रविधिलाई प्रयोग किन नगर्ने भन्ने विषयमा छलफल भयो । हुन पनि सक्छ, नहुन पनि सक्छ । मंगलबार नै टुंगो लाग्छ,’ उनले भने ।
गगनका पछिल्ला तीन अभिव्यक्ति
२३ असार, बुढानीलकण्ठमा : मैले कांग्रेस संसदीय दलको नेता हुने कोसिस गरेको हो । मैले सबै साथीहरूको मन, चित्त त बुझाउन सकिनँ । तर, अब पनि कांग्रेसबाट पूर्वप्रधानमन्त्री मात्रै प्रधानमन्त्री बन्ने अवस्था आउन दिनुहुँदैन । म फेरि कांग्रेस संसदीय दलको नेता बदल्न लाग्छु । सके बदल्छु, नसके मेरै पुस्ताको अर्कोलाई प्रधानमन्त्री बनाउन लाग्छु ।
३० असार, विराटनगरमा ः दलको नेता परिवर्तनकोे प्रयास निरन्तर छ । साथ र संख्या पुगेको दिन संसदीय दलको नेता परिवर्तनका लागि सार्थक प्रयास हुनेछ । विधानले पनि दलको नेता परिवर्तन गर्न स्थान दिएको छ । पार्टीभित्र पटक–पटक प्रयोग भएर नेता परिवर्तन भएका उदाहरण छन् ।
३१ असार, संसद् भवन परिसरमा ः संसदीय दलको नेताका लागि मैले कुरिराख्नु वा कतिवेला मौका आउला भनेर हेरिराख्नु स्वाभाविक होइन । त्यो मैले गर्नैपर्छ । यो सबै कुरा मैले आदरणीय नेता शेरबहादुर देउवाबाटै सिकेको हो । संसदीय दलको नेता बदल्ने प्रयास गरिराख्नुपर्छ भन्ने कुरा पार्टी सभापतिबाटै सिकेको हुँ । गिरिजाप्रसाद कोइरालासँग लड्दै गर्दा जसरी शेरबहादुर देउवा थाक्नुभएन, त्यसरी नै लागेको हुँ । सामान्य कुरा हो ।
सात महिनाअघि मात्रै सभापति शेरबहादुर देउवासँग भारी मतान्तरले पराजित कांग्रेस महामन्त्री गगन थापाले पुनः संसदीय दलको नेतृत्व लिने आकांक्षा देखाएका छन् । पार्टीभित्रको शक्ति सन्तुलन झनै प्रतिकूल बन्दै गएका वेला उनले निरन्तर दलको नेतृत्व हेरफेरको मुद्दा उठाइरहेका छन्, जसबारे पार्टीभित्र चासो छ ।
संसदीय दलको नेतृत्व परिवर्तनको मुद्दा उठाएर महामन्त्री थापाले केन्द्रीय कार्यसमितिको बैठकपूर्व आफूलाई केन्द्रमा उभ्याएका छन् । देशलाई आफ्नो पुस्ताको नेतृत्व आवश्यक रहेकाले सके आफैँ दलको नेता बन्ने नभए आफ्नै पुस्ताको अरूलाई बनाउन पहल गर्ने उनको भनाइ छ । अहिलेको सत्तागठबन्धनले चित्त बुझ्ने गरी काम नगरेकाले गठबन्धन परिवर्तनको विषय पनि उनले उठाइरहेका छन् । महामन्त्री थापाले पछिल्लो एक सातामा संसदीय दलको नेता परिवर्तनको विषय तीनपटक उठाएका छन् ।
सभापति देउवानिकट नेता तथा पूर्वउपसभापति गोपालमान श्रेष्ठ भने संसदीय दलको नेतृत्व परिवर्तनको कुनै सम्भावना नरहेको बताउँछन् । ‘यसअघि पनि संसदीय दलको नेताको निर्वाचनमा गगनजी लड्नुभएकै हो । तर, परिणाम उहाँको पक्षमा देखिएन । अहिले पनि नेता परिवर्तनका लागि त उहाँले आवश्यक मत जुटाउन सक्नुपर्यो नि । त्यस्तो अवस्था तयार भएको देखिँदैन । तैपनि उहाँले किन यो विषय उठाइरहनुभएको उहाँलाई नै थाहा होला,’ उनले भने ।
तर, महामन्त्री थापानिकट नेता भने उनका पछिल्ला अभिव्यक्ति र प्रतिक्रिया रणनीतिक रहेको बताउँछन् । केन्द्रीय सदस्य मधु आचार्यका अनुसार थापाको अभियान नेतृत्वको असक्षम कार्यशैली परिवर्तन गर्न मनोवैज्ञानिक दबाब हो । ‘संसदीय दलको नेता परिवर्तन गर्ने विषय नेतृत्वको असक्षम कार्यशैली र सरकारमा सहभागी भएर पनि डेलिभरी दिन नसकेको कांग्रेसलाई परिवर्तन गर्न मनोवैज्ञानिक दबाब हो । यस्तै अवस्था रहिरहन्छ र हिजोकै परिणाम रहिरहन्छ भनेर बुझ्न हुँदैन । राजनीतिमा अनेक सम्भावना रहन्छन्,’ उनले भने ।
सभापति देउवालाई प्रधानमन्त्री बन्नबाट रोक्न थापाले अहिले दलको नेता परिवर्तनको मुद्दा उठाएको एक कांग्रेस नेताको दाबी छ । दलको नेता भए आफैँ प्रधानमन्त्री बन्न सकिने उनको विश्वास छ । कांग्रेसमा संसदीय दलको नेता नै प्रधानमन्त्री बन्ने व्यवस्था छ । सोहीकारण उनी संसदीय दलको नेता बन्ने प्रयत्नमा छन् ।
अहिलेको गठबन्धनमा आलोपालो प्रधानमन्त्रीको सहमति छ । अर्थात् पुष्पकमल दाहाल प्रचण्डपछि सरकारको नेतृत्व देउवाकहाँ जानेछ । तर, त्यसअगाडि नै थापा वर्तमान गठबन्धनको विकल्पका लागि समेत तयार छन् । स्रोतका अनुसार थापा अहिलेको गठबन्धन भत्काउन सके स्वीकार्य प्रधानमन्त्रीका रूपमा आफूलाई उभ्याउन सकिने योजनामा छन् ।
९ असारमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले गठबन्धन ठीक ढंगले चलेन र चित्त बुझेन भने फेर्ने कुरा नौलो नहुने बताएका थिए । उनले पार्टीमा सुधारका लागि पात्रमा समस्या भए पात्र र प्रवृत्तिमा समस्या आए प्रवृत्ति परिवर्तन गरेर अघि बढ्नुपर्ने समय आएको र आफू लागिपरेको सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् । यसले प्रश्न उब्जाएको छ– ‘के गगनले संसदीय दलको नेताका लागि तयारी गरिरहेका छन् ?’ तर, थापानिकट नेताका अनुसार उनले बाहिर प्रतिक्रिया जनाएजसरी आन्तरिक तयारी भने थालेका छैनन् ।
तत्कालका लागि थापाले पार्टी र जनस्तरमा सन्देश प्रवाह गर्ने रणनीतिअन्तर्गत दलको नेता बदल्ने मुद्दा उचालेका छन् । उनले ४ मंसिरको निर्वाचनमा आफूलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका थिए । निर्वाचित संसदीय दलको नेतामा लड्ने थापाको अडानले महामन्त्री विश्वप्रकाश शर्मा र युवा नेता प्रदीप पौडेललाई पनि एकठाउँमा उभ्याएको थियो ।
२३ असारमा बुढानीलकण्ठमा आयोजित कार्यक्रममा महामन्त्री थापाले आफू पुनः कांग्रेसको संसदीय दलको नेता बदल्न लाग्ने र सके आफू वा आफ्नो पुस्ताको व्यक्तिलाई प्रधानमन्त्री बनाउन लागिपर्ने बताएका थिए । पूर्वप्रधानमन्त्री मात्रै प्रधानमन्त्री बन्ने अवस्था अन्त्य गर्नुपर्ने उनको जोड थियो ।
थापाले आफू वा आफ्नो पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नु देशकोे आवश्यकता रहेको बताएका थिए । ‘मैले कांग्रेस संसदीय दलको नेता हुने कोसिस गरेको हो । मैले सबै साथीहरूको मन, चित्त त बुझाउन सकिनँ । तर, अब पनि कांग्रेसबाट पूर्वप्रधानमन्त्री मात्रै प्रधानमन्त्री बन्ने अवस्था आउन दिनुहुँदैन । म फेरि कांग्रेस संसदीय दलको नेता बदल्न लाग्छु । सके बदल्छु, नसके मेरै पुस्ताको अर्कोलाई प्रधानमन्त्री बनाउन लाग्छु,’ उनले भनेका थिए ।
शनिबार ३० असारमा विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग पनि उनले साथ र संख्या पुगेको दिन संसदीय दलको नेता परिवर्तनका लागि सार्थक प्रयास हुने बताएका थिए । ‘दलको नेता परिवर्तनकोे प्रयास निरन्तर छ । साथ र संख्या पुगेको दिन संसदीय दलको नेता परिवर्तनका लागि सार्थक प्रयास हुनेछ । विधानले पनि दलको नेता परिवर्तन गर्न स्थान दिएको छ । पार्टीभित्र पटक–पटक प्रयोग भएर नेता परिवर्तन भएका उदाहरण छन्,’ थापाले भनेका छन् ।
आइतबार पनि थापाले यस विषयमा आफ्नो अडान दोहोर्याए । संसद् भवनमा उनले कांग्रेसमा दलको नेता परिवर्तनको उदाहरण रहेको जिकिर गरे । ‘संसदीय दलको नेताका लागि मैले कुरिराख्नु वा कति वेला मौका आउला भनेर हेरिराख्नु स्वाभाविक होइन । त्यो मैले गर्नैपर्छ । यो सबै कुरा मैले आदरणीय नेता शेरबहादुर देउवाबाटै सिकेको हो । संसदीय दलको नेता बदल्ने प्रयास गरिराख्नुपर्छ भन्ने कुरा पार्टी सभापतिबाटै सिकेको हुँ । गिरिजाप्रसाद कोइरालासँग लड्दै गर्दा जसरी शेरबहादुर देउवा थाक्नुभएन, त्यसरी नै लागेको हुँ । सामान्य कुरा हो,’ थापाले भने ।
राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले महामन्त्री थापाको पछिल्लो अभिव्यक्तिलाई जनता र कार्यकर्ताको विश्वास जित्ने र कांग्रेसबाटै विकल्प छ भन्ने सन्देश दिन चाहेको रूपमा विश्लेषण गर्छन् । संसदीय दलको निर्वाचनबाट नै थापाले सभापति देउवा पटकपटक प्रधानमन्त्री बनेर जनअपेक्षाअनुसार डेलिभरी गर्न नसकेको कारण देखाउँदै विकल्पको रूपमा आफूलाई अघि सारेको र नयाँ आशा दिन खोजेको दाबी गर्छन् ।
‘संसदीय दलको नेता परिवर्तन गरेर कांग्रेसबाटै नयाँ भिजन भएको प्रधानमन्त्री दिनुपर्छ भनेर निर्वाचनमा जानुभएको थियो । तर, दलको चुनावमा पराजित हुनुभयो । अहिले पनि उहाँ संसदीय दलको नेता परिवर्तन गरेर नयाँ पुस्ताको विकल्प दिने प्रयत्नमा नै देखिनुहुन्छ,’ शर्माले भने, ‘पार्टी र जनस्तरका आक्रोश र वितृष्णा कम गर्न कांग्रेसले नै विकल्प दिन्छ भनेर जनता र कार्यकर्ताको विश्वास जित्ने तथा नयाँ आशाको सन्देश दिने दृष्टिकोणले उहाँको अभिव्यक्ति आएको देखिन्छ,’ उनले भने ।
थापा दलको नेतृत्व परिवर्तनको विषय २ साउनबाट सुरु हुने केन्द्रीय समिति बैठकमा पनि उठाउने तयारीमा छन् । यसका लागि उनले अनलाइनमार्फत नेता–कार्यकर्ताका सुझावसमेत संकलन थालेका छन् । सभापति देउवाले सोमबार पदाधिकारी र पूर्वपदाधिकारीलाई छलफलका लागि बोलाएका छन् । देउवाले दिउँसो ३ बजे धुम्बाराहीमा छलफल राखेका छन् । छलफलमा केन्द्रीय समिति बैठकका एजेन्डालगायत समसामयिक विषयमा छलफल हुन लागेको हो । बैठकको एजेन्डा भने मंगलबार बिहान सभापति र महामन्त्रीद्वय बसेर टुंगो लगाउनेछन् ।
४ मंसिरको निर्वाचनबाट कांग्रेस ८९ सांसदसहित पहिलो पार्टी बन्यो । ६ पुसमा कांग्रेस संसदीय दलको नेताको निर्वाचन भयो । महामन्त्री थापा सभापति देउवासँग संसदीय दलको नेतामा पराजित बने । देउवाले ६४ र महामन्त्री थापाले २५ मत पाएका थिए ।
दलको नेता निर्वाचनमा पराजित भएपछि थापाले संसदीय दलको नेता हुने प्रयत्नमा लागिरहने बताएका थिए । ‘म संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेपछि पनि संसदीय दलको नेता हुनका लागि प्रयास गरिरहन्छु । मेरो प्रयास त्यसकै लागि रहन्छ । म महामन्त्री छु, महामन्त्रीको रूपमा काम गर्छु । कांग्रेसको सांसद हुँ, सांसदको रूपमा काम गर्छु । कांग्रेसले संसदीय दलको नेता नयाँ पाउनुपर्छ भन्ने मैले ठानेको हो, ठानिराख्छु । त्यसका निम्ति प्रयत्न गरिराख्छु । मेरा लागि यो अपेक्षाकृत परिणाम होइन,’ उनले भनेका थिए ।
कांग्रेसमा दलको नेता परिवर्तनको विकल्प के छ ?
कांग्रेस विधानको दफा ४० मा संसदीय दलमा प्रतिनिधिसभाका सदस्यहरूले आफूमध्येबाट संसदीय दलको नेताको निर्वाचन गर्ने व्यवस्था छ । निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने हुन्छ । कांग्रेस संसदीय दलको विधानको दफा २२ को उपदफा १ मा नयाँ संसदीय दलको नेताको विकल्पका प्रावधान छन् । ‘नेताले कार्यसमितिसमक्ष लिखित राजीनामा दिएमा, विश्वासको प्रस्ताव पारित हुन नसकेमा, अविश्वासको प्रस्ताव पारित भएमा, निज प्रतिनिधिसभाको सदस्य नरहेमा वा निजको मृत्यु भएमा नेताको पद रिक्त हुनेछ,’ विधानमा छ । अहिलेको अवस्थामा अविश्वासको प्रस्तावबाहेक बाटो छैनन् । विधानमा २५ प्रतिशत सदस्यले संसदीय दलको नेतामाथि अविश्वास प्रस्ताव दर्ता गर्न सक्ने व्यवस्था छ । तर, अविश्वासको प्रस्ताव पारित हुन ५० प्रतिशत मत चाहिन्छ ।