आरोप प्रत्यारोपमै बिते कांग्रेस केन्द्रीय कार्य समिति बैठकका पाँच दिन
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठकको पाँचौ दिन सकिँदासम्म संस्थापन र इतर पक्षबीच आरोपरप्रत्यारोप कायम छ। बैठकमा केन्द्रीय सदस्यहरु नेतृत्वको विरोध र बचाउमै केन्द्रित देखिएका छन्।
गठबन्धनभित्र अर्को मोर्चा बनाएकोप्रति आपत्ति
नेता डा शेखर कोइरालाले गठबन्धनभित्र अर्को मोर्चा बनाएकोप्रति आपत्ति जनाएका छन। सत्तारुढ दलको नेतृत्व गरेको माओवादी केन्द्र सहितका वाम घटकहरुले समाजवादी मोर्चा बनाएको भन्दै डा कोइरालाले आपत्ति जनाएका हुन्।
पार्टी र सरकारका गतिविधिबारे १५ बुँदे धारणा राखेका डा कोइरालाले समाजवादी मोर्चा किन बनेको होरु गठबन्धन भित्रैबाट बनेको यसको औचित्य के होरु भन्दै प्रश्न गरे। उनले भने, ‘राज्यका जिम्मेवार निकायहरुकै कारण देशमा पछिल्ला दिनहरुमा दण्डहिनता बढेर गएको छ। नीतिगत रुपमै कानुन बनाएर दण्डहिनतालाई प्रश्रय दिने काम भइरहेको छ। हाल संसदमा रहेको ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक९२०८००’ तत्काल खारेज गरिनुपर्छ।’
नेतृत्वको बचाउ गर्दै मन्त्रीहरु
कांग्रेसबाट सरकारको प्रतिनिधित्व गर्ने मन्त्रीहरु नै नेतृत्वको बचाउ र विरोधमा देखिएका छन्। खासगरी संस्थापन पक्षका मन्त्रीहरुले देउवाको खुलेरै प्रशंसा गरेका छन्।
परराष्ट्र मन्त्री एनपी साउदले देउवाको नेतृत्वमा गठबन्धन दलले बहुमत ल्याउन सफल भएको बताए। उनले भने, ‘हामी त निर्वाचन लडेर बहुमत प्राप्त गरेको गठबन्धन हो। जुन गठबन्धनले बहुमत प्राप्त गर्यो, त्यसले सत्तामा दाबा गर्नु स्वभाविक थियो। तर सत्तामा बहुमत प्राप्त नगरेका दलहरुले हाम्रो गठबन्धनलाई तोड्ने गरेर जसरी सरकारमा दाबा गरिराखेका थिए। त्यो गैरराजनीतिक थियो।’
उनले नक्कली भुटानी शणरार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणको बचाउ गरेका थिए।
अर्थमन्त्री समेत रहेका डा प्रकाशशरण महतले नेतृत्वलाई गाली नगर्न सुझाव दिए। गालीगलौज नगरी एकतावद्ध भएर अगाडि बढेमा कांग्रेसलाई कसैले बिस्थापित गर्न नसक्नेमा उनले जोड दिए। उनले पार्टीभित्र अनुशासनको आवश्यकता रहेको पनि बताए।
बैठकमा स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले महामन्त्रीद्वयले आफूलाई केन्द्रमा राखेर आलोचना गर्ने गरेको आरोप लगाए। उनले भने, ‘पार्टी विधि र विधानअनुसार चल्नुपर्ने पनि भन्ने अनि सडकमा लगेर पोख्ने कार्यले कांग्रेस बलियो हुन्छरु’ बस्नेतले भने, ‘जसलाई जे मन लाग्यो त्यही अभिव्यक्ति दिँदा पनि भएको छ। कांग्रेस कमजोर गराउने काम निश्चित व्यक्तिबाट भएको छ।
सभापतिको चर्को आलोचना
बैठकमा सभापति देउवाको खुलेरै आलोचना भएको छ। खासगरी सहमहामन्त्रीहरुले देउवाको आलोचना गरेका छन्। उनीहरुले भ्रातृ संगठनको गठनदेखि समावेशी, समानुपातिकसम्म देउवा चुकेको भन्दै आलोचना गरेका छन्।
सहमहामन्त्री फरमुल्ला मन्सुरले देउवाकै कारण पार्टी कमजोर भएको टिप्पणी गरे। उनले भने, ‘सभापतिको नेतृत्वमा कांग्रेस कमजोर हुँदै गएको छ। समावेशिता कमजोर हुँदैछ। समानुपातिक प्रणालीमाथि प्रहार भइराखेको छ। उपलब्धिमाथि प्रहार भइराखेको छ। देशभरिमा साढे ५ प्रतिशत मुसलमान छन्। जम्मा एक जना मुसलमानले टिकट पायो। एउटा दलितले टिकट पाएन, देशभरिमा। थारु, मधेसीहरुले जनसंख्याको आधारमा टिकट पाएनन्। त्यति मात्र होइन, संविधानले अनिवार्य गरेको ३३ प्रतिशत महिला छैनन्।’
उनले संघीय निर्वाचनको परिणाम आउँदा संघमा दलित मुसलमानको उपस्थित नभएको र समानुपातिकतर्फ निर्णय गर्दा दलित, थारु र मुसलमानहरुलाई उपेक्षा गरेको बताए।
त्यस्तै सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले स्थिर सरकारको आवश्यकता औंल्याए। उनले २०८४ सालमा एक्लै लड्ने कि गठबन्धन गर्ने भन्ने कुरा अहिले नै निक्र्योल गर्नु नहुनेमा जोड दिए।
पाण्डेले गएको १४औं महाधिवेशनमा एकता, उत्साह र रुपान्तरण पार्टी महाधिवेशनको नारा रहेको स्मरण गरे। उनले भने, ‘वास्तवमा यही नाराको आलोकमा हामीले हाम्रा कार्यक्रमहरु, सांगठनिक गतिविधिहरु अगाडि बढाउनु पर्छ।’
त्यसैगरी सहमहामन्त्री जीवन परियारले बैठक लाइभ गरेकोप्रति असन्तुष्टि व्यक्त गरे। उनले भने, ‘आज बैठकको लाइभ गरेर हाम्रा कुरा सुनाइरहेका छौं। फेसबुक लाइभको भियोर्सको डाटा हेर्ने हो भने प्रत्येक दिन घट्दो क्रममा छ। यसबाट आम जनसमुदायलाई हाम्रो कुरा सुन्ने रुचीमा ह्रास देखाउँछ।’