काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताहरुले पार्टीको नाम र चुनाव चिह्न परिवर्तन गर्नुपर्ने सुझाव दिएका छन् ।
काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा मंगलबारदेखि जारी पहिलो विधान अधिवेशनमा समूहगत छलफलको निष्कर्ष सुनाउने नेताहरुले सहरी समुदायलाई सहज हुने गरी जनजिब्रोमा झुण्डिने नाम र चुनाव चिन्ह राख्न सुझाव दिएका हुन् ।
समूहका संयोजकहरुले सुझाव प्रस्तुत गर्ने क्रममा पार्टीको अहिलेको नाम उपयुक्त नभएको भन्दै समाजवादी चरित्रको अर्को नाम राख्नुपर्ने माग गरे । त्यस्तै, ुचुनाव चिन्ह गोलाकारभित्र हँसिया हथौडाु असजिलो भएको भन्दै सजिलो खालको अर्को चुनाव चिन्ह राख्नु उपयुक्त हुने सुझाव राखे ।
अधिवेशनमा मंगलबार अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले प्रस्तुत गरेको विधानको मस्यौदामाथि छलफल गर्न नेताहरुको विभिन्न २० समूह बनाएर छलफल गरिएको थियो । त्यसमध्ये बुधबार १३ समूहबाट सुझाव प्रस्तुत गर्दै समूहका संयोजकहरुले बदलिँदो समयअनुसार पार्टीलाई चलायमान बनाएर अघि बढ्नुपर्ने माग गरे ।
समूहगत छलफलको सुझाव पेश गर्नेक्रममा केन्द्रीय सदस्य सरल सहयात्रीले प्रस्तावनालाई छरितो बनाउनुपर्ने, पार्टी र निर्वाचन चिन्ह फेर्नुपर्ने सुझाव राखे । सङ्गठनात्मक सिद्धान्तलाई छोटो बनाउनुपर्ने र पार्टी सदस्य दिँदा सरल बनाउनु उपयुक्त हुने उनको भनाइ थियो । ‘अहिलेको अवस्थामा पार्टीको नाम र चुनाव चिन्ह फेर्नु उपयुक्त हुन्छ,’ उनको सुझाव थियो । नेता सहयात्रीले पार्टीको महाधिवेशनको मिति तोक्न समेत माग गरे ।
अर्का नेता युवराज चौलागाईले प्रत्यक्ष निर्वाचनमा पार्टी समितिलाई लैजानुपर्ने सुझाव पेश गर्दै पार्टीको स्थायी समितिको आवश्यकता नभएको बताए । ‘पार्टीभित्र मात्र नभई सबै तहका सार्वजनिक पदको उम्मेदवार पार्टी सदस्यबाट तय गर्नुपर्छ’ उनको भनाइ थियो ।
नेता कञ्चन खनालले महाधिवेशन प्रतिनिधि पार्टी समिति सदस्यबाट निर्वाचित भएर आउनुपर्ने र सहिद, वेपत्ता र घाइते सदस्यहरुलाई महाधिवेशनमा पर्यवेक्षकका रुपमा राख्नुपर्ने बताइन् ।
विधान मस्यौदामाथि सुझाव दिंदै दिलीपकुमार प्रजापतिले केन्द्रीय समितिको आकार अझै घटाउनुपर्ने बताए । ‘केन्द्रीय सदस्यको आकार सकेसम्म कम गर्नुपर्छ,’ उनले भने, ‘पूर्णकालीन पार्टी सदस्यको व्यवस्था स्पष्ट रुपमा व्यवस्था गर्नुपर्छ ।’
त्यसैगरी कुमार पौडेलले घाइते तथा पूर्व जनमुक्ति सेनालाई विशेष व्यवस्था गर्नुपर्ने धारणा राखे । विधान मस्यौदामाथि परशुराम रम्तेलले पार्टी एकता, आन्तरिक मूल्याङ्कन र मनोनयनलाई व्यवस्थित गर्नुपर्ने र छुवाछुतलाई गम्भीररुपमा लिने व्यवस्था गर्नुपर्ने धारणा राखे । उनले पनि चुनाव चिन्ह फेर्नुपर्ने सुझाव समूहमा आएको बताएका थिए।
बामदेव क्षेत्रीले विधानलाई छरितो र कार्यान्वयनमुखी बनाउनुपर्ने सुझाव दिंदै प्रदेश र स्थानीय पार्टी समितिलाई कार्यकारी बनाउने गरी व्यवस्था गर्न माग गरे । हरिराज अधिकारीले चुनाव चिन्ह बदल्नुपर्ने सुझाव प्राप्त भएको उल्लेख गर्दै नागरिकता पाएपछि पार्टीको सदस्या प्राप्त गर्ने अवस्था बनाउनुपर्ने सुझाव पेश गरे । ‘सबै पार्टी समितिलाई साना र छरितो बनाउनुपर्छ’ उनको सुझाव थियो ।
यही अधिवेशनबाट पार्टी विधान पारित गरेर कार्यान्वयनमा ल्याउनुपर्ने सुझाव रञ्जित तामाङले दिए । ‘सरकार र पार्टीलाई समावेश गरेर सत्ता सञ्चालन समन्वय समिति बनाउनुपर्छ,ु उनको भनाइ छ । झक्कुप्रसाद सुवेदीले वैज्ञानिक समाजवादमा जाने गरी प्रस्तावना लेखिनुपर्ने सुझाव दिए ।
नेता निर्मल आचार्यले पार्टी सदस्य अनलाइनमार्फत् नवीकरण गर्ने व्यवस्था गर्न र पार्टीलाई प्रविधियुक्त बनाउन सुझाव दिए । स्थायी समिति विधानमा राख्न नपर्ने सुझाव रहेको उल्लेख गर्दै उनले पार्टीमा संरक्षक समिति बनाउनुपर्ने माग गरे ।
बाँकी रहेका ७ समूहले बिहीबार सुझाव पेश गर्ने र अधिवेशन सकिने माओवादीले जनाएको छ ।