सिमकोट । हुम्लाको खाना पकाउने ग्यासको मूल्य घटेको छ ।
एक वर्षअघि रु ६ हजार सात सयमा विक्री हुँदै आएको ग्याँसको मुल्य ह्वात्तै घटेको हो । नेपालगञ्ज सुर्खेतबाट यातायातका साधन हुम्लामा पुगेसँगै ग्याँस व्यापारी बढेका कारण प्रतिस्पर्धात्मक बजार भएकाले मूल्य घटेको दार्मेली जनरल स्टोरका प्रोपाइटर लक्ष्मण ऐडीले बताउनुभयो ।
ऐडीका अनुसार यसअघि नयाँ एउटा सिलिन्डर ग्राहकले किन्नु पर्दा छ हजार सात सय रुपैयाँ पर्नेमा अहिले मूल्य घटेर चार हजार पाँच सयमा झरेको बताउनुभयो । त्यसै गरी पुरानो सिलिन्डर साट्ने हो भने प्रतिसिलिन्डर ग्याँस भरेपछि तीन हजार तीन सय रुपैयाँ लाग्ने गरेको ऐडीले बताउनुभयो । यसअघि पुरानो सिलिन्डर भरेको मात्र पाँच हजार लाग्ने गथ्र्यो ।
खाना पकाउने ग्याँसको मूल्य एक्कासी घट्नुमा सडक सञ्जालसँग हुम्ला जोडिँदै आउनु र अर्कोतर्फ ग्याँस बिक्रेता व्यापारीको सङ्ख्या बढ्दै जानु, प्रतिस्पर्धात्मक बजारका कारण रहेको उहाँले बताउनुभयो । खाना पकाउने ग्यासको मूल्य घटेसँगै यसको प्रयोग गर्ने उपभोक्ताको संख्या वृद्धि भइरहेको छ । हुम्लामा हाल पाँच हजार बढी घरधुरीले खाना पकाउने ग्यासको प्रयोग गरिरहेको उहाँले बताउनुभयो ।
जिल्लाका अधिकांश होटेलले पनि ग्यासको प्रयोग गर्दै आएका छन् । भने अन्य कर्मचारी, सर्वसाधरणले समेत ग्यासको प्रयोगक गर्दै आएका छन् । पहिलो पटक हुम्ला जिल्लामा ग्याँस भित्रिँदा त्यसको मूल्य प्रतिसिलिन्डर चौध हजारसम्म परेको थियो । त्यसयता मूल्य भने बारम्बार घट्दो क्रममा रहेको छ । ग्याँस सिलिण्डर र चुलो सहित अहिले सात हजार पाँचसयमा विक्री हुँदै आएको उहाँले बताउनुभयो ।
नेपाल आयल निगमले गएको बुधबार देशैभरका लागि पेट्रोलको मूल्य प्रतिलिटर ७ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाएको थियो ।
ढुवानीको समस्या तथा अन्य विविध कारणले हुम्ला लगायतका दुर्गम हिमाली जिल्लाहरुमा निगमको मूल्या कार्यान्वयन हुने गरेको छैन् ।