काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले कूल १८ खर्ब ६० अर्ब ३० करोडको बजेट सार्बजनिक गरेका छन् ।
मंगलबार अर्थमन्त्री पुनले संसदमा बजेट सार्बजनिक गर्दै कुल १८ खर्ब ६० अर्ब ३० करोडको बजेट सार्बजनिक गरेका हुन् । गत बर्ष १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट आएको थियो ।
अर्थमन्त्री पुनका अनुसार कूल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात ६१.३१ प्रतिशत रहेको छ भने पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात १८.९४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब १८ करोड १९.७४ प्रतिशत बजेट विनियोजन गरिएको छ ।
अर्थमन्त्री पुनले बजेट सार्बजनिक गर्दै यस बजेटका पाँच उद्धेश्य र पाँच प्राथमिकता रहेको बताएका छन् ।
बजेटका पाँच उद्देश्य
१. उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धि गर्नु,
२. निजी क्षेत्रको मनोबल बढाउँदै लगानी वृद्धि गर्नु र आर्थिक क्रियाकलापमा तीव्रता ल्याउनु,
३. मानव संसाधन विकास गर्नु,
४. स्रोत र साधनलाई सन्तुलित र समन्यायिक ढङ्गले परिचालन गरी आर्थिक असमानता र गरिबी न्यूनीकरण गर्नु, र
५. सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउनु ।
बजेटका पाँच प्राथमिकता
१. आर्थिक सुधार र निजी क्षेत्रको प्रवर्द्धन,
२. कृषि, ऊर्जा, सूचना प्रविधि, पर्यटन, औद्योगिक विकास तथा पूर्वाधार निर्माण,
३. शिक्षा, स्वास्थ्य लगायत सामाजिक क्षेत्रको विकास,
४. समावेशिता र सामाजिक सुरक्षा, र
५. सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहमा सुधार।