काठमाडौं । विगतका वर्षहरूमा दिनकै ५०–६० हजारको व्यापार गर्ने ‘अजय सु कलेक्सन’का दिनेश ताम्राकारलाई यो पटक दशैंको रौनक खासै लागेन ।
बिहान अबेरसम्म पनि बोहोनी नहुँदा उनी निराश अवस्थामा भेटिए । वर्षभरिको कुल व्यापारको ६० प्रतिशत दशैंतिहारमा हुने गरेकोमा यसपटक अपेक्षित व्यापार हुन सकेन ।
‘गत वर्षको भन्दा ६० प्रतिशत व्यापार घटेको छ’, ताम्राकारले भने, ‘बाटोमा मानिसहरू छन्, तर खरिद गर्ने निकै कम छन् । यो समयमा दिनकै ५० देखि ६० हजार रुपैयाँसम्मको व्यापार हुने गर्दथ्यो । अहिले बिहानदेखि बोहोनी पनि भएको छैन ।’
काठमाडौंको न्यूरोड–खिचापोखरीमा मानिसहरूको चहलपहल निकै बाक्लो देख्न सकिन्छ । यो काठमाडौंको बढी आवतजावत र चहलपहल हुने क्षेत्र हो ।
यस वर्ष दशैंमा पनि व्यापार नभएको खिचापोखरीस्थित कान्तिपुर स्टोरका कपिल पन्तले सुनाए । व्यापार देखेर दशैं आएजस्तै नलागेको उनले बताए ।
‘खौ के हो, दशैं आएजस्तो लागेकै छैन,’ पन्तले भने, ‘व्यापार छैन ।’
आर्थिक मन्दीका कारण निराश व्यापारीहरू दशैं कुरेर बसेका थिए । दशैंमा व्यापारले लय लिने उनीहरूको अपेक्षा थियो । तर, दशैंकै मुखमा निम्तिएको ठूलो विपत्तिले व्यापार प्रभावित हुन पुगेको उनीहरूको आशंका छ । अर्कातर्फ मन्दीको असर पनि सकिएको छैन ।
अहिलेको समग्र व्यापार करिब २० प्रतिशतभन्दा बढीले घटेको ‘फस्ट वाक सू’का विष्णु डल्लाकोटीले बताए ।
चार वर्षदेखि खिचापोखरी न्युरोडमा व्यापार गर्दै आएका डल्लाकोटीले सस्तोमा दिँदा पनि खरिद गर्ने मान्छे नआएको बताए ।
‘बजारमा मानिसहरू छन्, तर सामान खरिद गर्ने मानिस छैनन्, डल्लाकोटीले भने, ‘यति बेला बढी बिक्छ भनेर सामानको मूल्य घटाएका छौं, तर पनि व्यापार छैन ।’
समग्रमा न्युरोड क्षेत्रमा विगतको तुलनामा २० देखि ३० प्रतिशत व्यापार घटेको न्यूरोड–खिचापोखरी व्यापार संघका महासचिव रामकुमार पण्डितले बताए ।
आर्थिक मन्दी र बाढीपहिरोको विपदले गर्दा व्यापारमा कमी आएको उनको बुझाइ छ । ‘गत वर्षसम्म विस्तारै लयमा आउँदै थियौं । यस वर्ष विभिन्न कारणले व्यापारमा कमी आएको छ’, महासचिव पण्डितले भने, ‘करिब ३० प्रतिशतसम्मको व्यापार घटेको देखिएको छ । बाढीपहिरोले क्षति पुर्याएको छ । आर्थिक मन्दी पनि कायमै छ । त्यसले गर्दा थोरै–थोरै प्रभाव सबै तर्फबाट यहाँ परेको देखिएको छ ।’
अहिले व्यापार घटेपछि बिस्तारै बढ्ने कुरामा आशावादी रहेको उनले बताए ।
लत्ता कपडा, शृंगार तथा कस्मेटिक, एजेन्सी तथा फेन्सी सबैतर्फको व्यापारमा गिरावट आएको व्यापारीहरूको भनाइ छ । चार वर्षदेखि भोलाटाइल अवस्थामा रहेको अर्थतन्त्रमा बाढीपहिरोले शिथिलता थपेको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले बताए ।
‘दशैंअगाडिको बाढीपहिरोले निजी क्षेत्रमा ठूलो क्षति पुर्याएको छ’, उनले भने, ‘त्यसको पूर्ण तथ्यांक अझै आएको छैन । हामीले देखिरहेको भन्दा बढी क्षति भएको छ । यो चाडपर्वको समयमा सबैभन्दा बढी कारोबार हुने हो । तर, यस वर्ष घटेको छ । व्यवसायीहरूमा जुन किसिमको आशा देखिएको थियो, त्यो आशा निराशामा परिणत हुन पुग्यो ।’
व्यवसायीहरू जतिसुकै मारमा परे पनि आशावादी हुनुको विकल्प नरहेको अग्रवालले बताए ।