सिमकोट । हिमाली जिल्ला हुम्लामा तीन हजार सात सय असी भाइल एचपिभी खोप आइपुगेको छ ।
पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रयोग हुने ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप अभियानका लागि हुम्लामा केही दिन अगाडी उक्त भाइल खोप आइपुगेको बताइएको छ । जिल्लामा पुगेको उक्त खोपका भाइल सुरक्षित साथ राखिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाले जनाएको छ । देशभर माघ २२ गतेदेखि उक्त खोप लगाउने अभियान सञ्चालन भएपनि हुम्लामा फागुन १८ गतेबाट हुने भएको खोप कार्यक्रमका संयोजक प्रेम पाण्डेयले बताउनुभयो ।
जिल्लाका विद्यालय यतिबेला बन्द भएका कारण फागुनबाट यो अभियान सञ्चालन हुने भएको छ । विद्यालय उमेर समुहका किशोरी लक्षित खोप अभियान सरकारले सञ्चालन गरेका कारण नयाँ शैक्षिक शत्र सुरु भएर विद्यालय खुलेपछि यो अभियान सञ्चालन हुने भएको संयोजक पाण्डेयले बताउनुभयो । १० देखि १४ वर्ष उमेर समूहका किशोरीले निःशुल्क यो खोप पाउने भएका छन् । जिल्लामा मिनपचास दिनका लागि हिउँदे विदामा रहेका विद्यालय फागुनबाट खुलेपछि एचपिभी खोप अभियान सञ्चालनमा आउने भएको छ ।
विद्यालय जाने किशोरी र विद्यालय नजाने दुबै उक्त समुहका उक्त किशोरीमा यो खोप लगाइने भएको हो । स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डाक्टर प्रतिक्षा भारतीका अनुसार, जिल्लाका सातवटा स्थानीय तहमा ९९ वटा खोप केन्द्रबाट उक्त खोप अभियान सञ्चालन हुने भएको बताउनुभयो । देशभर माघ २२ गतेदखि फागुन ६ गतेसम्म यो खोप अभियान सञ्चालन हुने भएपनि हुम्लामा भने फागुन १८ गतेदेखि केही ढिला गरी खोप अभियान सञ्चालन हुने भएको प्रमुख भारतीले बताउनुभयो ।
जिल्लाको ६ वटा स्थानीय तहमा फागुन २९ गतेसम्म यो खोप अभियान सञ्चालन हुने भएको छ । भने उत्तरी नाम्खा गाउँपालिकाको हिमाल पारीको गाउँ लिमी, यारी लगायतका गाउँ हिउँले बाटो बन्द हुने हुँदा फागुन महिनाको बिस गतेदेखि २०८२ सालको बैशाख सात गतेसम्म उक्त खोप अभियान सञ्चालन हुने भएको प्रमुख भारतीले बताउनुभयो ।
जिल्लाको उत्तरी नाम्खा गाउँपालिबाको १७ खोप केन्द्रबाट तीन सय १९ किशोरी, सिमकोटमा बिस खोप केन्द्रबाट सात सय ५६, खार्पुनाथमा १५ खोप केन्द्रबाट तीन सय ६५, सर्केगाडमा १८ खोप केन्द्रबाट ६ सय ८६, चंखेलीमा सात खोपबाट तीन सय ३१, अदानचुलीमा दश खोप केन्द्रबाट ६ सय सात र ताँजकोटमा १२ खोप केन्द्रबाट तीन सय ७८ जना किरोशीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप लगाइने भएको स्वास्थ्य सेवा कार्यालय हुम्लाले जनाएको छ ।
विद्यालय जाने कक्षा ६ देखि १० सम्मका किशोरीलाई विद्यालयमै खोप दिइने र विद्यालय नजाने किशोरीलाई पनि उक्त खोप लगाइने तयारी गरिएको छ । खोप केन्द्रमा ९९ जना स्वास्थ्यकर्मी र एक सय ९८ जना स्वयंसेवक परिचालन गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार जिल्लाका सबै स्थानीय तहहरूसँग समन्वय गरी कार्यक्रम सञ्चालन गरिनेछ । यो अभियानले पाठेघरको मुखको क्यान्सरको जोखिम कम गर्न महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।