सिमकोट । हिमाली जिल्लामा नयाँ शैक्षिक सत्र सुरु भएको झण्डै एक महिना पुग्न लाग्दा पनि हुम्लाका अधिकांश विद्यालयमा पाठ्यपुस्तक पुगेको छैन । पाठ्यपुस्तक नपुग्दा विद्यार्थीको पढाइ प्रभावित भएको गुनासो आउन थालेको छ ।
फागुन २ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु भएपनि हुम्लाका सातै स्थानीय तहका केही सामुदायिक विद्यालयमा अझैसम्म पाठ्यपुस्तक पुग्न नसकेको पाइएको छ । जिल्लाको दक्षिण भेगमा रहेको अदानचुली, ताँजकोट, चेंखेली र सर्केगाडका अधिकांस विद्यालयमा पाठ्यपुस्तक नपुगेको गुनासो आउन थालेको छ । भने यस्तै जिल्लाको सिमकोट, खार्पुनाथ, नाम्खा गाउँपालिकामा रहेका केही विद्यालयमा पनि पुस्तक नपुगेको पाइएको हो ।
कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक पुगेपनि कक्षा ६ देखि १० को किताब अझैसम्म नपुग्दा पठनपाठन प्रभावित भएको पाइएको छ । कक्षा एकद्खि पाँचसम्मका किताब पुर्याउने जिम्मा लिएका ठेकेदार कम्पनीले जिल्लामा पाठ्यपुस्तक पुर्याएपनि सम्बन्धित विद्यालयमा पुग्न नसकेका हुन् ।
काठमाण्डौ, नेपालगञ्ज हुँदै हुम्लामा पुस्तक पुगेपनि सम्बन्धित स्थानीय तह र विद्यालयले पुस्तक खरिद, ढुवानीको रकम समयमै जम्मा नगरि दिएका कारण पुर्याउन नसकिएको बताइएको छ । प्राय पालिकाले भने किताब किन्ने जिम्मेवारी विद्यालयलाई दिएको बताउँदै आएका छन् । हुम्ला मात्रै होईन कर्णालीका सामुदायिक विद्यालयका विद्यार्थीले पनि पुस्तक नपाउने समस्या बर्सेनि खेप्दै आएका छन् ।
यस्तै जिल्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिकामा भने विद्यार्थीले आफै पुस्तक किनेर पढ्न बाध्ये भएका छन् । गाउँपालिकाले विद्यालयमा समयमै पाठ्यपुस्तक पुर्याउन नसकेपछि निजी पुस्तक पसलबाट चर्को मूल्य तिरेर विद्यार्थीले लिन बाध्ये भएको गुनासो गरेका छन् ।
उता शिक्षा बिकास तथा समन्वय एकाई हुम्लाका निमित्त प्रमुख योगश आलेमगर भने जिल्लामा १४१ वटा विद्यालयहरुमा २० हजार ३९० विद्यार्थीहरु अध्ययन गर्दै आएकोले यसवर्ष नयाँ शैक्षिक सत्र सुरु हुनुभन्दा अगाडि पुस्तक जिल्लामा पुगेको बताउनुहुन्छ ।