ऐजेन्सी । पहलगाममा उग्रवादीहरूले गत एप्रिलमा गरेको हमलामा एक नेपालीसहित २६ जनाको ज्यान गएपछि बुधवार बिहान भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका विभिन्न ठाउँलाई लक्षित गर्दै हवाई आक्रमणहरू गरेको थियो।
पाकिस्तानले आफ्नोतर्फ ३१ जनाको ज्यान गएको र ५७ जना घाइते भएको उल्लेख गरेको छ। भारत-पाकिस्तानबीचको सीमा क्षेत्र लाइन अफ कन्ट्रोलमा भएको पाकिस्तानी गोलाबारीमा कम्तीमा १५ जना मारिएका भारतले बताएको छ। पछिल्लो द्वन्द्व कुन स्तरमा विस्तार हुन्छ त्यो स्पष्ट छैन।

यसरी हरेक दिन उग्ररुप लिदैं गरेको भारत-पाकिस्तान द्वन्द्वले नेपालको राष्ट्रिय सुरक्षामै चुनौती खडा गर्ने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गर्न थालेका छन् । उनिहरुले आवश्यक पूर्वतयारी थाल्न सरकारको ध्यानाकर्षण समेत गराएका छन्।
दुई परमाणु अस्त्रसम्पन्न देशबीचको तनावपूर्ण युद्धको स्तरमा विस्तार भएको खण्डमा भारतसँग खुला सिमाना भएको नेपाल त्यसबाट जोगिएर रहन नसक्ने उनीहरूको मत छ।
नेपाली भूमिको दुरुपयोग हुनसक्ने जोखिमका कारण भूराजनीतिक असरहरू समेत देखा पर्न सक्ने भन्दै उनीहरूले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।
सरकारी अधिकारीहरूले चाहिँ आफूहरूले सुरक्षा सतर्कता बढाएको र परिस्थितिको सूक्ष्म विश्लेषण गरिरहेको प्रतिक्रिया दिएका छन्।
राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्माले भने, 'भारत र पाकिस्तान लडाइँमा व्यस्त हुने परिस्थिति आउँदा आर्थिक, सुरक्षा र पर्यटनजस्ता क्षेत्रमा असर पर्छ। त्यसले हाम्रो दैनिक जीवनलाई नै अप्ठेरो पार्नसक्छ।'
उनले थपे, 'खुला सिमाना भए पनि युद्धकै परिस्थिति आयो भने सामानहरू जगेडा राख्नुपर्ने हुन्छ, त्यहाँको आपूर्ति प्रणाली अवरुद्ध हुँदा यहाँ महँगी बढेर जान्छ।'
भारत सरकारले आफ्नो देशमा रहेका पाकिस्तानीहरूलाई मुलुक छाड्न भनेको सन्दर्भ उल्लेख गर्दै उनले उनीहरू पनि खुला सीमाको हिसाबले सहजै आइपुग्ने नेपाल हो। शरण खोज्दै आउनेको सङ्ख्या बढ्न तर्फ संकेत गरे । नेपाली सेनाका पूर्वउपरथी विनोज बस्न्यात भारत र पकिस्तानबीचको जारी द्वन्द्व युद्धकै चरणमा नपुग्ने ठान्छन्। तर नेपाल सरकारले पर्याप्त तयारी नगरेको उनको ठम्याइ छ।
उनले भने, 'हाम्रो जस्तो भूराजनीतिक अवस्थामा भएको देशलाई कस्तो परिस्थिति आयो भने के गर्ने भनेर 'रिहर्सल' गर्ने समय पनि हो यो। इन्धन, खाना पकाउने ग्यास, औषधिजस्ता आधारभूत कुरामा के गर्ने भनेर हामीले ध्यान दिनु जरुरी छ। युद्ध हुने सम्भावना कम पो छ, तर भइहाल्यो भने राष्ट्रिय रूपमा के गर्ने भन्ने तयारी गर्नुपर्छ।'
भारत-पाकिस्तानबीचको द्वन्द्वले दुई देशका हवाई क्षेत्र बन्द हुने परिस्थिति निम्त्याए नेपालबाट हुने कैयौँ अन्तर्राष्ट्रिय उडानहरू समेत बन्द हुन सक्ने सम्भावनालाई नकार्न नसिकने नागरिक उड्ययनका जानकारहरूले बताएका विवरणहरू आएका छन्।
उग्रवादको लहरो फैलन सक्ने जोखिम
भारत पाकिस्तान द्वन्द्वका कारण भारत बसेर उग्रवादी गतिविधि गरिरहेका हुनसक्ने कतिपय समूह समेत नेपालतिर मोडिनसक्ने सम्भावना पनि टड्कारो रहेको कतिपय सुरक्षा विज्ञले औँल्याएका छन्।
राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख शर्मा भन्छन्, 'भारतमा लुकेर बसेका हुनसक्ने मुजाहिद्दीन वा अन्य समूहहरू पनि यता आउन सक्छन्। तिनीहरूबाट शान्ति सुव्यवस्था बिथोल्ने गतिविधि भइदियो भने झन् अप्ठेरो पर्छ। विगतमा यहीँबाट आतङ्कवादीहरूले विमान अपहरण गरेको घटना हामीले बेहोरेकै हो। त्यही भएर शान्ति कायम भएन भने दीर्घकालसम्म असर पर्छ।'

पाकिस्तान विरुद्ध सैनिक कारबाही 'अप्रेशन सिन्दू' सुरु गरेको लगत्तै भारतले सीमा क्षेत्रमा सुरक्षा व्यवस्थालाई 'उच्च सतर्कता'मा राखेको विवरणहरू आएका छन्। भारतीय गृहमन्त्री अमित शाहले नेपाल र भुटानसँगको सीमामा सुरक्षा सुनिश्चित गर्न भारतीय सीमा सुरक्षा बल (एसएसबी)लाई निर्देशन दिएको द इण्डियन एक्सप्रेसमा प्रकाशित एउटा खबरमा जनाइएको छ।
भू-परिवेष्ठित नेपाललाई तीन दिशाबाट भारतले घेरेको छ। दुई देशबीच १,७५१ किलोमिटर खुला सिमाना छ जसको सुरक्षाको जिम्मा नेपालतर्फ सशसस्त्र प्रहरी बल र भारततर्फ एसएसबीले पाएको छ।
उक्त खुला सिमानाको प्रयोग गरेर हुने जाली भारतीय नोटको प्रवेशदेखि लिएर उग्रवादी समूहहरूको आवतजावतजस्ता विषयलाई आफ्नो सुरक्षा चुनौतीका रूपमा बेलाबखत भारतले नेपालसमक्ष जोडदार रूपमा प्रस्तुत समेत गर्ने गरेको छ।
राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्मा भन्छन्, 'पाकिस्तानमा रहेका आतङ्कवादी समूहहरूको लुक्ने ठाउँ र आश्रयस्थल भयो भन्ने धारणा भारतले बारम्बार सुरक्षा बैठकहरूमा समेत राख्ने गरेको छ। भोलि उता केही घटना भयो भने तिमीहरूले कडाइ गर्न सकेनौँ भनेर नेपाललाई दोष दिनसक्ने अवस्था आउनसक्छ। त्यही भएर हामीले चनाखो हुनसकेनौँ भने यसले समस्या निम्त्याउन सक्छ।'
यि हुन्, भारतले हमलाको निसाना बनाएका मुख्य ठाउँ
भारतीय सेनाले मङ्गलवार राति पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा 'अपरेशन सिन्दू'अन्तर्गत नौ स्थानका 'आतङ्कवादी शिविरुमा हमला गरेको जनाएको छ।
भारतीय सेना र विदेश मन्त्रालयले बुधवार बिहान एक प्रेस सम्मेलनमा यो हमलाको बारेमा विस्तृत जानकारी दिएका छन्। कर्नेल सोफिया कुरैशीले भारतीय सेनाले 'अपरेशन सिन्दू' मा 'नौ ठेगानामा आतङ्कवादी शिविरहरूलाई निशाना बनाएको र तिनलाई सम्पूर्ण रूपमा बरबाद गरेको छ,' भन्ने कुरा सम्मेलनमा बताइन्।
पाकिस्तानी अधिकारीहरूले भनाइ छ; भारतीय हवाई हमलामा बालबालिका र महिलासहित कम्तीमा २६ जना मारिएको र ४६ घाइते भएका छन्।
मङ्गलवार राति पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले भने; भारतले पाकिस्तानको पन्जाब प्रान्तमा अहमदपुर शरकिया, मुरीदके, सियालकोट र शकरगढ तथा पाकिस्तान प्रशासित कश्मीरमा कोटली र मुजफ्फराबादलाई निशाना बनाएको छ।
कर्नेल सोफिया कुरैशीले भनिन्, 'पाकिस्तानमा पछिल्लो तीन दशकदेखि 'टेरर इन्फ्रास्ट्रक्चर' निर्माण भइरहेको छ जसमा भर्ती, ट्रेनिङ र लन्च प्याड पनि सामेल छ जुन पाकिस्तान र पाकिस्तान प्रशासित जम्मू-कश्मीरमा फैलिएको छ।'

अहमदपुर शरकिया (बहावलपुर)
अहमदपुर शरकिया पाकिस्तानको पन्जाब प्रान्तको बहावलपुर जिल्लाको एक ऐतिहासिक बस्ती हो।
पाकिस्तानी सेनाका प्रवक्ताका अनुसार यो इलाकामा मस्जिद सुब्हानलाई निशाना बनाइएको थियो जसमा चार हमला गरियो। त्यसबारे मस्जिद र त्यस आसपासको बस्तीमा नोक्सान पुगेको छ।
उनको भनाइ छ ;यो हमलामा पाँच मानिस मारिएका छन्, जसमा एक तीन वर्षकी बालिका, दुईजना महिला र दुई पुरुष छन्। ३१ जना घाइते भएका छन्।
बहावलपुर प्रतिबन्धित सङ्गठन जैश-ए-मोहम्मदको मुख्यालय भएको स्थान हो र मदरसतुल साबिर र जामा मस्जिद सुब्हान त्यसैको हिस्सा हो।
मुरीदके
मुरीदके पाकिस्तानको पन्जाब प्रान्तको शेखूपुरा जिल्लाको सहर हो, जुन लाहोरबाट करिब ४० किलोमिटर उत्तरमा रहेको छ।
लाहोरनजिकै बसेको यो सहर पहिले जमात-उद-दावा को केन्द्र दावा वल-इरशादका कारण पनि चर्चामा छ।
सेनाका प्रवक्ताको भनाइ छ; मुरीदकेमा मस्जिद उम्मूल कुरा र उसको आसपास रहेका चार क्वार्टर भारतीय हमलाको निशानामा परेको छ। यो हमलामा एक व्यक्ति मारिएको र एक घाइते भएको तथा दुईजना बेपत्ता भएका छन्।
नागियाना बुधवार बिहानै मुरीदकेमा राति हमला भएको ठाउँमा पुगेका पत्रकार उमर दराजका अनुसार मुरीदकेमा निशाना बनेको स्थान मुरीदके सहरदेखि केही टाढा जीटी रोडतिर र बस्तीको भित्र छ।
'स्थानीय मानिसहरूका अनुसार यहाँ एक अस्पताल र एक स्कूल छ। त्यहीँ रहेको एक ठूलो भवनलाई निशाना बनाइएको थियो जसको नजिकै एक ठूलो मस्जिद पनि थियो। हमलापछि भवन ध्वस्त भएको छ र मस्जिदको एक हिस्सामा पनि नोक्सान पुगेको छ।
उमर दराजका अनुसार स्कूल र अस्पतालको भवन साथै अरू भवन पनि छन् जुन आवासीय परिसर जस्ता देखिन्छन्। स्थानीय बासिन्दाका अनुसार त्यहाँ कर्मचारी आवास थिए। 'पहिले यो स्थान जमात-उद-दावा र त्यससँग जोडिएका सङ्गठनको कल्याणकारी गतिविधि गर्ने केन्द्र थियो जसका लागि एजुकेशन कम्प्लेक्स र हेल्थ सेन्टर बनाइएको थियो। तर यो सङ्गठनमाथि प्रतिबन्ध लागेपछि पाकिस्तान सरकारले यो स्थानको व्यवस्था आफ्नो हातमा लिएर त्यसलाई आममानिसलाई सुविधा दिने केन्द्रको रूपमा प्रयोग गर्न सुरु गरेको थियो', पत्रकार उमर दराजले भने ।
जम्मूको सीमा नजिकै भयो हमला
यो सहर पाकिस्तान प्रशासित कश्मीरको राजधानी हो जहाँ कैयौँ महत्त्वपूर्ण कार्यालय र सरकारी भवन छन्। पाकिस्तानी सेनाका प्रवक्ताले बताएका छन् स् यहाँ शवाई नालामा रहेको एक मस्जिद निशानामा परेको छ जसको नाम मस्जिद-ए-बिलाल हो।
बीबीसी संवाददाता ताबिंदा कौकबका अनुसार शवाई नाला मुजफ्फराबादमा मूल सडकमा छ जुन माथि पहाडसम्म जान्छ र यो पहाडको सबैभन्दा माथिल्लो स्थानलाई शहीद गली भनिन्छ।
उनी भन्छिन् ; हमलाको निशाना बनेका शवाई र सँगै जोडिएको समा बाडी भन्ने स्थानबाट केही मानिस नजिकैको स्थानमा गइरहेका छन्। यहाँ मोटरको लाइन लागेको छ। मानिसहरू आफ्ना नातेदारका हालखबर सोध्न र उनीहरूलाई लिन पुगेका छन्। सुरक्षा बल पनि त्यहाँ पुगिसकेको छ।
पाकिस्तानी सेनाका प्रवक्ताका भनाइ छ; बिलाल मस्जिदमा सात हमला भएको छ जसमा एक बालिका घाइते भएकी छन्।
कोटली
कोटली पाकिस्तान प्रशासित कश्मीरमा इस्लामाबाददेखि लगभग १२० किलोमिटरको दूरीमा लाइन अफ कन्ट्रोल (एलओसी) को नजिकै अवस्थित छ।
सेनाका प्रवक्ता भन्छन् ; कोटलीमा पनि एक मस्जिद निशानामा पर्यो र यस हमलामा एक १६ वर्षकी युवती र १८ वर्षका युवक मारिए, दुई महिला घाइते भए।
सियालकोट
सियालकोट चिनाबको किनारामा रहेको पन्जाब प्रान्तको एक प्रमुख सहर हो। यहाँदेखि जम्मूको इलाका केवल ४८ किलोमिटरको दूरीमा उत्तरतिर छ।
पाकिस्तानी सेनाका प्रवक्ताका अनुसार सियालकोटको उत्तरमा कोटली गाउँमा दुई गोला प्रहार गरिएको थियो जसमध्ये एउटाले काम गरेन। यस हमलामा कुनै नोक्सान नभएको उनले बताए।
शकरगढ
शकरगढ पन्जाब जिल्लामा पर्छ। यसको पूर्वमा भारतको गुरदासपुर जिल्ला र उत्तरमा जम्मूको इलाका छ अर्थात् यो पाकिस्तान र भारतको अन्तर्राष्ट्रिय सीमा दुवैतिर जोडिएको छ।
पाकिस्तानी सेनाका प्रवक्ता भन्छन् ; शकरगढमा पनि दुई गोली हानिएको थियो। एक औषधि पसलमा सामान्य क्षति भएको छ।
नेपाल सरकारको धारणा
पाकिस्तानमाथि भारतले आक्रमण गरेको ३६ घण्टाभन्दा बढी समयपछि नेपालले यस घटनाबारे आफ्नो औपचारिक धारणा सार्वजनिक गरेको छ।
बिहीवार साँझ एक विज्ञप्ति प्रकाशित गर्दै परराष्ट्र मन्त्रालयले भनेको छ, 'नेपाल सरकार भारत र पाकिस्तानबीच बढेको तनावप्रति गहिरो चिन्ता व्यक्त गर्छ। नेपाल तनाव कम हुने अपेक्षा गर्छ र यस क्षेत्रमा दीर्घकालीन शान्ति र स्थिरताप्रतिको प्रतिबद्धता दोहोर्याउन चाहन्छ।'
'आफ्नो सैद्धान्तिक अडानअनुरूप नै आतङ्कवादविरुद्धको लडाइँमा नेपाल सबैका साथमा उभिन्छ। नेपालले कुनै पनि हानि पुर्याउने शक्तिहरूलाई आफ्नो भूमि छिमेकी देशहरूविरुद्ध प्रयोग हुन दिने छैन,' विज्ञप्तिमा भनिएको छ।
उक्त विज्ञप्तिमा मन्त्रालयले एप्रिल २२ मा पहलगाममा भएको आतङ्कवादी आक्रमणको तत्काल निन्दा गरेको उल्लेख गर्दै त्यस बेला नेपाल र भारत शोक र पीडाको घडीमा एकसाथ उभिएको जनाएको छ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेको थियो भने गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको थियो।
राष्ट्रिय सुरक्षा परिषद्को बैठकपछि जारी गरिएको विज्ञप्तिमा 'भारत-पाकिस्तानबीच भएको घटनाक्रमबाट उत्पन्न हुनसक्ने परिस्थितिको सूक्ष्म विश्लेषण गरी आगामी दिनमा आइपर्ने परिस्थितिको सामना गर्न उपयुक्त रणनीति अपनाउने सम्बन्धमा छलफल भएको' जनाइएको थियो।
बुधवारबाट नै नेपाल-भारत सीमा क्षेत्र र काठमाण्डूस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा व्यवस्था कडा गरिएको अधिकारीहरूले बताएका थिए।