काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शहवाज सरीफले भारत र पाकिस्तानबीच चलेको चार दिन लामो युद्धमा विराम गराउन गरेको प्रयासका लागि अमेरिकी राष्ट्रपतिलाई धन्यवाद दिएका छन् ।
सरीफले ‘एक्स’ मा लेखेका छन्, ‘क्षेत्री शान्तिका लागि राष्ट्रपति ट्रम्पको नेतृत्व र सक्रिय भूमिकाका लागि आभार प्रकट गर्दछौं । पाकिस्तानले यो परिणामलाई क्षेत्रीय शान्ति र स्थायित्वको हितमा स्वीकार गरेको छ र यसमा सहयोग पुर्याएकोमा संयुक्त राज्य अमेरिका प्रति आभार व्यक्त गर्दछ ।’
उनले दक्षिण एसियामा शान्तिका लागि गरिएको महत्वपूर्ण योगदानका लागि उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रूबियोप्रति पनि धन्यवाद ज्ञापन गरेका छन् ।
सहमती कार्यान्वयनमा अँझै चुनौती
पहलगाम घटनालाई लिएर बुधबार बिहानदेखि एकअर्काविरुद्ध हमलामा उत्रिएका भारत र पाकिस्तान अन्ततः युद्धविराम गर्न सहमत भएका छन् ।
दुवै देशका सैन्य सञ्चालन महानिर्देशक (डीजीएमओ) बीच शनिबार भएको टेलिफोन संवादपछि युद्ध रोक्ने सहमति भएको हो । यद्धपी दुई देश बीचको सहमती कायान्वयनमा अँझै चुनौती देखिएको छ ।
भारतका विदेश सचिव विक्रम मिस्रीका अनुसार दुवै देशका सैन्य अधिकारीबीच शनिबार अपराह्न नेपाली समयअनुसार ३ बजेर ५० मिनेटमा कुराकानी भएको थियो । विदेश मन्त्रालयले साँझ ६ बजे गरेको पत्रकार सम्मेलनमा सचिव मिस्रीले दुवै पक्ष शनिबार साँझ ५ बजेबाट जमिन, आकाश र समुद्र सबैतिरको गोलीबारी र सैन्य कारबाही बन्द गर्न तथा कुनै तटस्थ भूमिमा वार्ता गर्न सहमति भएको जानकारी दिएका थिए । सैन्य कारबाही रोक्ने सहमतिलाई लागू गर्न दुवै पक्षले आफू मातहतलाई निर्देशन दिइसकेको उनले बताएका थिए । मिस्रीका अनुसार भारत र पाकिस्तानका डीजीएमओबीच अर्को वार्ता सोमबार १२ बजे हुनेछ ।
भारतका विदेशमन्त्री एस जयशंकरले पनि सामाजिक सञ्जाल ‘एक्स’ मा पोस्ट गर्दै भारत र पाकिस्तान सैन्य कारबाही रोक्न सहमत भएको उल्लेख गरेका थिए । पाकिस्तानका उपप्रधान तथा विदेशमन्त्री इशाक दारले सामाजिक सञ्जालबाटै त्यसलाई पुष्टि गरे । ‘पाकिस्तान र भारत तत्काल लागू हुने गरी युद्धविराम गर्न सहमत भएका छन् । पाकिस्तानले आफ्नो सार्वभौमिकता र क्षेत्रीय अखण्डतामा सम्झौता नगरी सधैं यस क्षेत्रमा शान्ति र सुरक्षा कायम गर्न प्रयास गर्दै आएको छ,’ उनले ‘एक्स’ मा लेखेका छन् ।
दक्षिण एसियाका दुई आणविक मुलुक भारत र पाकिस्तानबीच युद्धविराम गराउन अमेरिकाले मध्यस्थता गरेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेशमन्त्री मार्को रुबियोले यसबारे सामाजिक सञ्जालबाटै खुलासा गरेका थिए । युद्धविराम पहिलो घोषणा नै अमेरिकी राष्ट्रपति ट्रम्पले गरेका थिए । उनले ‘ट्रुथ सोसल’ मा लेखेका थिए, ‘अमेरिकाको रातभरिको मध्यस्थतापछि म यो घोषणा गर्न पाउँदा खुसी छु कि भारत र पाकिस्तान तत्काल लागू हुने गरी सम्पूर्ण रूपमा युद्धविराममा सहमत भएका छन् । विवेक र बुद्धिमानी देखाएकामा दुवै देशलाई बधार्ई ।’
अमेरिकी विदेशमन्त्री रुबियोले पनि अमेरिकाको गहन कूटनीतिक प्रयासपछि भारत र पाकिस्तान तत्काल युद्धविराम गर्न सहमत भएको सोसल मिडियामा लेखेका थिए । ‘पछिल्लो ४८ घण्टामा उपराष्ट्रपति जेडी भेन्स र मैले प्रधानमन्त्री नरेन्द्र मोदी र शाहबाज सरिफ, विदेशमन्त्री (भारत) जयशंकर, सेना प्रमुख असिम मुनिर (पाकिस्तान), राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल (भारत) र असिम मलिक (पाकिस्तान) लगायत वरिष्ठ भारतीय र पाकिस्तानी अधिकारीसँग छलफल गर्यौं,’ एक्समा उनले लेखेका थिए, ‘म यो घोषणा गर्न पाउँदा खुसी छु कि भारत र पाकिस्तानका सरकारहरू तत्काल युद्धविराम गर्न र तटस्थ स्थानमा वार्ता सुरु गर्न सहमत भएका छन् ।’
पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले युद्धविरामका लागि गरेको पहलप्रति अमेरिकी राष्ट्रपति ट्रम्प, उपराष्ट्रपति जेडी भेन्स र विदेशमन्त्री रुबियोलाई धन्यवाद दिएका छन् । उनले ‘एक्स’ मा लेखेका छन्, ‘यसलाई पाकिस्तानले क्षेत्रीय शान्ति र स्थायित्वको हितमा स्वीकार गरेको छ ।’
भारतको जम्मु–कश्मीर राज्यको पहलगाममा २२ अप्रिलमा आतंकवादी समूहले गरेको हमलामा एक नेपालीसहित २६ पर्यटकको ज्यान गएको थियो । त्यस घटनालगत्तै भारतले पाकिस्तानीका लागि भिसा रद्द गरेको थियो भने सिन्धु जल सन्धिलाई निलम्बन गरेको थियो । दिल्लीमा रहेका पाकिस्तानी सुरक्षातर्फका कूटनीतिक अधिकारीलाई भारत छाड्न भनिएको थियो । जवाफमा पाकिस्तानले पनि भारतीय जहाजका लागि आफ्नो हवाई रुट बन्द गरेको थियो भने भारतीय कूटनीतिज्ञलाई देश छाड्न निर्देशन दिएको थियो ।
पहलगाम घटनामा जवाफदेही बनाउने प्रतिबद्धता व्यक्त गरेको भारतले बुधबार बिहान १ बजेर ५ मिनेटमा पाकिस्तानका विभिन्न स्थानमा हवाई आक्रमण गरेको थियो । भारतले त्यसलाई ‘अपरेसन सिन्दूर’ नाम दिएको थियो । यसबाट आतंककारी मारिएको दाबी गरिरहँदा पाकिस्तानले भारतको हमलामा सर्वसाधारणको मृत्यु भएको र त्यसमा महिला एवं बालबालिका पनि परेको दाबी गरेको थियो । भारतले पाकिस्तानको सार्वभौमसत्तामाथि धावा बोलेको भन्दै पाकिस्तानले आफ्ना सेनालाई भारतविरुद्ध कारबाहीमा उत्रिन आदेश दिएको थियो । पाकिस्तानी सेनाले गोलीबारी गर्दा भारततर्फ कम्तीमा १६ जनाको मृत्यु भएको थियो । पाकिस्तानले बिहीबार साँझ भारतका विभिन्न स्थानमा करिब ४ सय ड्रोन आक्रमण गरेको तर सबैलाई निस्तेज पारिएको भारतीय सैन्य अधिकारीहरूको दाबी थियो । पाकिस्तानले भने ड्रोन आक्रमण नगरेको दाबी गरेको थियो ।
पाकिस्तानले शनिबार बिहान १ बजेर ४० मिनेटमा पञ्जाबको सैन्य अड्डामा तीव्र गतिको मिसाइल प्रहार गरेको र त्यसलाई निष्क्रिय पारिएको भारतले शनिबार बिहानको ‘प्रेस ब्रिफिङ’मा दाबी गरेको थियो । पाकिस्तानका तर्फबाट २६ स्थानमा गरिएको हवाई घुसपैठलाई निस्तेज पारिएको पनि भारतीय कर्णेल सोफिया कुरैशीले दाबी गरेकी थिइन् । पाकिस्तानका तर्फबाट गरिएको गोलीबारीबाट शनिबार जम्मु–कश्मीर प्रशासनका एक सरकारी अधिकारीको मृत्यु भएको भारतीय पक्षले पुष्टि गरेको छ ।
अर्कातिर भारतीय सेनाले पाकिस्तानको सैन्य हवाई अड्डामा हमला गरेको पाकिस्तानी सेनाले दाबी गरेको थियो । भारतका तर्फबाट तीन सैन्य हवाई अड्डामा हमला गरिएको र त्यसलाई पाकिस्तानको हवाई प्रतिरक्षा प्रणालीले खसालेको पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद सरिफ चौधरीले बताएका थिए । पाकिस्तानले शनिबार मात्रै ‘अपरेसन बुन्यान अल–मर्सुस’ घोषणा गरेको थियो । पाकिस्तानका तर्फबाट गरिएको गोलीबारीबाट शनिबार जम्मु–कश्मीर प्रशासनका एक सरकारी अधिकारीको मृत्यु भएको भारतीय पक्षले पुष्टि गरेको छ ।
दुवै मुलुकले युद्धविराममा सहमति भएको घोषणा गरे पनि शनिबार साँझ नै भारत प्रशासित श्रीनगरमा विस्फोट सुनिएको सञ्चारमाध्यमले उल्लेख गरेका छन् । हवाई आक्रमणको भिडियो जम्मु–कश्मीरका मुख्यमन्त्री ओमर अब्दुल्लाह नै ‘एक्स’ मा राखेका थिए । विस्फोट हुन थालेलगत्तै सीमावर्ती भारतका केही स्थानमा ‘ब्ल्याकआउट’ गरिएको थियो । शनिबार राति दुवैतर्फ ड्रोन हमला र गोलाबारी चलेको सञ्चारमाध्यमले जनाएका छन् ।
नयाँदिल्लीमा विदेश सचिव मिस्रीले राति ११ बजेपछि पत्रकार सम्मेलन गर्दै केही घण्टामै सहमति उल्लंघन गरिनुलाई गम्भीरतापूर्वक लिइएको जनाएका छन् । भारतीय सुरक्षा फौजले त्यसको उपयुक्त जवाफ दिइरहेको पनि उनले उल्लेख गरेका छन् । उनले पाकिस्तानलाई स्थितिलाई गम्भीरता र जिम्मेवारीका साथ सम्बोधन गर्न पनि आग्रह गरेका छन् ।