जेठ ३० गते
सिमकोट । भूमिगत बरफ पग्लिएर ओढार बनेपछि हिमतालको पानी निस्कँदा हुम्लाको तिल्जुङ खोलामा ठूलो बाढी आएको निष्कर्ष अध्ययन टोलीले निकालेको छ ।
जेठ १ गते राति साढे १० बजेको आसपासमा एक्कासि माथितिरबाट आएको बाढीले हुम्लाको उत्तरी विकट नाम्खा गाउँपालिका–६ तिल गाउँलाई जोखिममा पारेको थियो । तत्कालको समयमा गाउँमाथि रहेको दुईवटा ताल भत्किएर बाढी आएको अनुमान स्थानीयले गरेका थिए तर सरकारी निकायले यस सम्बन्धमा यकिन गरेको थिएन ।
तिल गाउँको बाढी र माथि रहेको भनिएको हिमतालको सम्बन्धमा अध्ययन गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) सुशीलकुमार श्रेष्ठ संयोजकत्वको टोली पठाइएको थियो । अध्ययन टोलीले आज (शुक्रबार) प्रतिवेदन बुझाएको छ ।
अध्ययनपश्चात् भूमिगत बरफ पग्लिएर बनेको सानो ओढार जस्तो संरचनाले तालतर्फ निरन्तर रूपमा क्षयीकरण गर्दा एक्कासि तालको पानी हिमोढको भित्री भाग हुँदै बाहिरिएको निष्कर्ष निकालिएको छ ।
‘माथि रहेका दुईवटा तालको पानी तलबाट ड्रेनआउट भएको हो, तालको छेउमा ३० चालिस मिटर अग्लो ढुङ्गाको पहाडजस्तो छ, त्यसको तल हिउँहरू पग्लियो, यसकारणले तालको पानी तलबाट बग्यो, त्यसले गर्दा माथि क्र्याक (चर्किएको) हरू आयो’‚ सिनियर डिभिजनल इन्जिनियर श्रेष्ठले भने
उनका अनुसार त्यहाँ सफा पानी बगेको छ र पानी बग्ने क्रममा ठाडो र भिरालो खोल्सो भएका कारण ठाउँठाउँमा रोकिँदै तल खस्दै गर्दा खेरी, त्यसले जति तल आयो त्यति कटान गरेर बाढीको रूप लिएको देखिन्छ ।
तिल गाउँ जोखिममा छ ?
हिमाली जिल्लाको गाउँ भएका कारण पनि यसअघि यस्ता घटना भएका देखिन्छ । स्थलगत अध्ययन र स्थानीयको अनुभव सुन्दा पहिले पनि यस्ता घटना भएको देखिन्छ । गाउँको माथिपट्टि ठाडो ढुङ्गाको पहाड भएका कारण बेलाबेला ढुंगा खस्ने देखिन्छ । पछिल्लो बाढीका क्रममा ठाउँठाउँमा जमिन चर्किएको छ ।
त्यसले ठूलो पानी पर्दा प्राकृतिक रूपमै भत्किन सक्ने देखिएको सिडिई श्रेष्ठ बताउँछन्। यद्यपि पछिल्लो बाढीले खेतीयोग्य जमिन कटान गरिएको देखिन्छ तर गाउँमा धेरै क्षति देखिंदैन, तीनवटा घरका छेउसम्म चिरा परेको छ । ‘तथापि हिमतालकै कारणले थप जोखिम यो वर्षका लागि छैन, किनभने माथि भएको हिमतालको जति पनि पानी थियो त्यो बगिसक्यो, श्रेष्ठले भने‚ ‘यस वर्ष उक्त हिमतालमा फेरि पानी जमेर बग्ने सम्भवतः नहोला ।
यस्तै घटना तिल गाउँको उतापट्टि रहेको हल्जी गाउँमा यसअघि सन् २००४ देखि २०११ सम्म ६ पटक हिमतालबाट पानी बगेर बाढी आएको जर्मन वैज्ञानिकहरूको अध्ययनले पत्ता लगाएको थियो । सिडिई श्रेष्ठका अनुसार हिमतालकै कारण भने अहिले नै त्यस क्षेत्रबाट बस्ती सार्नुपर्ने अवस्था छैन ।
‘अर्को वर्ष फेरि चिसो मौसममा हिउँ जम्मा हुने र तलका प्वाल पनि बरफ बनेर टालिन सक्छ’, उनले भने‚ ‘तापक्रम बढ्दै जाँदा गर्मी महिनामा फेरि अहिले जहाँबाट पानी निस्कियो त्यहीबाट बरफ पग्लिएर फेरि पनि पानी ड्रेनआउट हुनसक्ने सम्भावना भविष्यमा रहनसक्छ तर यही वर्षका लागि हिमतालको जोखिम छैन र हिमताल पग्लिएकै कारण बस्ती नै सारिहाल्नुपर्ने अवस्था देखिंदैन।’
स्थानीयका अनुसार खानेपानीसहितका असुविधाका कारण करिब २५ वर्षअघि पारि पट्टीबाट गाउँ नै सरेर तिल गाउँमा बस्ती बसेको पाइएको छ । अहिले हिमताल रहेको ठाउँमा यसअघि स्थानीय पनि पुगेका थिएनन् । दुईवटा हिमताल ५ हजार ३६० मिटरको उचाइमा रहेका छन् भने सँगै करिब ३० मिटर जति चौडाइको अर्को सानो हिमताल पनि रहेको भेटिएको श्रेष्ठले बताए । उक्त सानो हिमताल अहिले पनि केही भएको छैन ।