हुम्ला । नेपालको शिर्ष सदरमुकाम सिमकोट आइतबारदेखि राष्ट्रिय सडक सञ्जालसँग जोडिने भएको छ ।
२६ वर्ष अगाडीदेखि हुला सदरमुकाम सिमकोटलाई सडक सञ्जालमा जोड्ने योजना बनाएपनि आइतबार मात्रै सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको हो । खार्पुनदीमा नेपाली सेनामार्फत बेलीब्रीज निर्माण भएपछि सिमकोट सडक सञ्जालमा जोडिने भएको हो ।
राष्ट्रिय सडक सञ्जालमा जोड्न नसकेको नेपालको एक मात्रै हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटलाई सडकसँग जोड्नका लागि सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली आइतबार यहाँ आउनुहुने भएको छ ।
खार्पुदोभानमा दोजाम कर्णाली भएर बग्ने नदीमा बेलिवृज निर्माण कार्य सम्पन्न भएपछि प्रधानमन्त्री ओली आइतबार १० बजे हुम्लाको खार्पुनाथमा पुग्नु हुने नेकपा एमाले जिल्ला पार्टी सचिव तीर्थराज बोहराले बताउनुभयो । ७७ जिल्ला मध्येको सबैभन्दा पछाडी जोडिएको हुम्लालाई उद्घाटन गर्न प्रधानमन्त्री पुग्न लाग्नु भएको हो ।
सडकसँग जोड्न हुम्ला आउन लाग्नु भएको प्रधानमन्त्री ओलीसँगै भौतिक पूर्वधार मन्त्री देवेन्द्र दाहाल पनि जिल्लामा आउने तयारी भएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताउनुभयो । अन्य यहाँबाट संघ र प्रदेशका सांसदका साथै, पूर्वमुख्यमन्त्री, मुख्यमन्त्रीलगायतको टोली पनि हुम्ला आउने तयारी छ ।
प्रधानमन्त्री ओली हुम्ला आउने भएपछि जिल्लाको सुरक्षा व्यवस्था पनि थप चुस्त, दुरुस्त बनाउनका लागि कडाइ गरिएको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ ।
कर्णाली कोरिडोर भएर राष्ट्रिय सडकसँग जोड्नका लागि नेपाली सेनाले असार दश गते बेलिवृज पुल निर्माण कार्य सम्पन्न गरेको थियो । छोटो समयमै नेपाली सेनाले काम सम्पन्न गर्दा यहाँका नागरिकले खुसी व्यक्त गरेका छन् । हुम्लालाई सडकसँग जोड्नका लागि नेपाली सेनाको १४ बाइनी निर्माण टोली चैत दश गते हुम्ला पुगेको थियो भने जेठ एक गतेबाट काम सुचारु गरेर असार दश गते चालीस दिनमै काम सम्पन्न गरेको हो ।