सिमकोट । मानसरोवर कैलाशको दर्शन गर्न हुम्ला आइपुगेका भारतीय धार्मिक पर्यटकको सङ्ख्या दुई हजार एक सय बढी पुगेको छ।
हिल्सा नाका भारतीय धार्मिक पर्यटकहरुका लागि पनि चिनीयाँ सरकारले खुल्ला गर्दा गत असार महिनाबाट हुम्ला हुँदै मानसरोवर कैलाशको दर्शन गर्न आउने क्रम सुरु भएको थियो।
नेपालगंजबाट हवाई मार्ग भएर हुम्लाको सदरमुकाम सिमकोट आई पुग्ने भारतीय धार्मिक पर्यटकहरुको सङ्ख्या दुई हजार १२१ रहेको पर्यटन ब्यवसायी मिमबहादुर तामाङले बताए।
भारतीय पर्यटकहरु गत असार महिनायता मानसरोवर कैलाशको दर्शनका लागि आउने क्रम सुरु भएको थियो। यसमा एक हजार २१० जना पुरुष छन् भने एक हजार ९११ जना महिला धार्मिक पर्यटकहरु रहेका छन। यसरी भारतीय धार्मिक पर्यटकहरु आउने क्रम जारी रहनेछ।
भारतीय पर्यटकहरु आउन थालेपछि सिमकोट र हिल्सा बजारमा चहल पहल पनि बढेको छ। एक दिन १०१ जनासम्म पर्यटकहरु नेपालगंजबाट सिमकोट आई पुगेका छन। अझ मौसमलेृ साथ नदिदा पर्यटकहरु जिल्लामा भित्रिन समस्या हुने गरेको छ।
कुनै दिन मौसम सफा हुँदा बिहान सात बजेबाट नेपालगंजदेखि पर्यटकहरु ओसार्न जहाजले सुरु गर्ने, कुनै दिन दिउसो मात्र खुल्दा बेलुका छ बजेसम्म पनि उडान भर्ने गरिएको गरिएको छ। पर्यटक आउन सुरु भएयता हालसम्म एक दिनमा हवाई जहाज र हेलिकोप्टर गरि १६४ वटासम्म उडान भएको नेपाल नागरिक उड्डयान प्राधिकरण सिमकोटका प्रमुख महेन्द्र सिंहले बताए।
यसमा सिमकोट आई पुग्ने र सिमकोटबाट नेपालगंजतर्फ बाहिरीने पर्यटकहरुको सङ्ख्या पनि उस्तै रहेको छ। यसका लागि समिट एयरका तीन वटा, ताराका दुई वटा र सीता एयरका दुई वटा जहाजहरुले नेपालगंजबाट उडान भर्ने कार्य गरि रहेका छन भने सिमकोटबाट हिल्साका लागि पाँच वटा हेलिकोप्टरले उडान भर्ने गरेका छन। यसवर्ष बीस हजार भारतीय धार्मिक पर्यटकहरुले नेपालको रसुवा र हिल्सा नाकाबाट मानसरोवर कैलाश दर्शनका लागि यात्रा गर्ने जनाइएको छ।