सिमकोट । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन् ।
रक्षाबन्धन गर्दा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको छ ।
मानव रक्षाका लागि जप, तप र पूजागरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको जनै र डोरो धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।
काठमाडौँको पशुपतिनाथ मन्दिर सहित देशभरका मन्दिरहरूमा आज जनै लगाउने र रक्षासूत्र बाँध्नका लागि भक्तजनहरूको भीड लागेको छ । आजकै दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई दीर्घायुको कामना गर्दै राखी बाँधिदिने र दाजुभाइले दिदीबहिनीलाई दक्षिणा दिने चलन छ ।
हुम्लाभर साउने पूर्णिमा
हिमाली जिल्ला हुम्लाको ठूलो पूर्णीमाका रुपमा मनाइने साउन पुनी (जनै पूर्णिमा) धुमधामका साथ नाइदैछ । साउन शुक्ल पूर्णीमाको अवसरमा चतुदर्शीको दिन देखि मनाउन शुरु हुने साउने पुर्णीमा जिल्लाभरका रामपा, बाडपाल, कालाशिल्ता, मदना, मष्टो देवताका माडु (मन्दिर)मा पुजाआजा र धामी नाचेर मनाइने गरिन्छ । जिल्लाका विभिन्न गाउँवस्तीमा स्थापना गरिएका देउताका माडुहरूमा धामी नाचेर शनिबार (आज) पूर्णिमा मनाइदैछ ।

बिहानैबाट आफूले मान्ने कुल देवताको पूजापाठ गरिसकेपछि दिउँसोबाट धामी नाचेर मनाउन सुरु गरिने प्रचलन रहेको छ । यो पर्व सोमबार अन्तिम दिन सदरमुकाम सिमकोटमा रहेको तल्लो बजारको बाँडपाललगायत देवताको माडुमा (मन्दिर) धामी नाचेर मनाइने स्थानीय गोरा रावतले बताउनुभयो ।
हुम्ला जिल्लाका धेरै स्थानमा पूर्णिमा मनाइने गरिन्छ । धामी झाँक्रीले एकादशीबाट पूजापाठ र व्रत बस्न सुरु गर्ने गरेपनि चतुर्दशीबाट धामी नाचेर यो पर्व सुरु हुने गर्छ । एकदशीको दिनबाट यहाँका धामी झाँक्रीले एक छाक मात्रै खाना खाने र व्रत बस्ने संस्कार रहेको छ ।
पूर्णीमाको अवसरमा सोमबार बिहानैदेखि जिल्ला सदरमुकाम सिमकोट गाउँपालिका– ५ को बाँडपालको माडु (मन्दिर), वडा नम्बर ६ को मुग्राधार स्थित कालासिल्ताको माडुमा धुमधामका साथ धामी नाच्न नाचेर साउने पूर्णीमा मनाइदैछ । यसअघि धुपी रुखमा बाँडपालका झाँक्रीले तल्लो र माथिल्लो गाउँका धामी भेट हुनेबित्तिकै दूध छर्किन्छन् । कालाशिल्ता, मष्टो, बाँडपाल, घण्टपाल, समैजी, गुरा, भवानीलगायत धामी पालैपालो नाचेर मनाउने कार्य निकै रमणीय र सबैले चासो दिएर हेर्ने गरिन्छ ।
बोकाको बलि पनि दिने गरिन्छ । घरबाट टाढा गएका मानिस पूर्णिमामा आउने भएका कारण यो पूर्णिमा भेटघाट हुने पर्वका रुपमा पनि मानिन्छ ।
ठेहेको रामपाल माडुमा पनि ठूलो धाम
सिमकोट गाउँपालिका वडा नम्बर २ ठेहेको रामपालको माडुमा पनि धुमधामका साथ पूर्णीमा मनाइएको छ । ठेहेका सबै पट्टीका देवताका थानबाट आएका धामीहरुको जात्रो ठेहे गाउँ नजिकैको रामपालको माडुमा जम्मा भएर धामी नाच्ने र देवताको पुजाआज गर्दै पूर्णीमा सकिएको छ ।

जैरमा पनि ठूलो धाम
जिल्लाको मध्ये क्षेत्र सर्केगाड गाउँपालिका वडा नम्बर १ जैरमा समेत ठूलो धाम सहित पूर्णीमा शुरु भएको छ । बिहानै देखि जैरका सबै गाउँका धामी सहितको टोली बिच गाउँमा जम्मा भएर पूर्णीमा मनाइदैछ । जैरका सहकार्मीका अनुसार हुम्लाको जैर, सर्केगाड र मुगुको नेरदेखिका श्रद्धालुहरुको उपस्थितीमा मनाइदैछ ।
अदानचुली र ताजकोटको झाडमाडौंमा मेला
जिल्लाको दक्षिणमा रहेका अदानचुली र ताँजकोट गाउँपालिकाको मेला झाडमाडुमा मनाइदैछ । मदना र बाह्रभाई मष्टोको मुख्य पर्वका रुपमा मनाइने साउन पूर्णीमाको अवसरमा दुवै गाउँपालिकाका मदना र मष्टोका धामीसहितको श्रद्धालुहरु ताजकोट–५ स्थित झाडमाडुमा भएको माडुमा ठूलो पुजाआज र धामी नाचेर पूर्णीमा मनाउन शुरु भएको छ ।
झाडमाडुमा मदना देवताका धामीले आफ्नो नचाउने घण्टमा अक्षेताका सहायताले जमरा निकालेर सत/भिध गर्ने प्रचलन छ । धेरै देवता चलेपछि सत गर्ने बेला मदनाले जमरा निकाल्दै आएका छन् । अदानचुली वडा नम्बर ४ र ५ का धामी, ताँजकोट ३, ४ र ५ का धामीहरु एक ठाउँमा जम्मा भएपछि ३ पालिका हुम्ला, २ पालिका मुगु र केहि बाजुराका दर्शक समेत आउने गरेका छन् ।

पूर्णिमाको अवसरमा जिल्लाका विभिन्न माडुमा हुने धाममा स्थानीयहरू नयाँ कपडामा सजिएर माडुमा रमाइलो हेर्न जाने गर्छन् । पहिले–पहिले यो पर्वको अवसरमा वर्षमा एक दिन नयाँ कपडा फेर्ने दिनका रूपमा पनि लिइन्थ्यो । यो पर्वको दोस्रो दिन बाँडपालको माडुमा पनि धामी नाच्ने गरिन्छ । केही वर्ष अगाडि साउने पूर्णिमाको महत्व घटेको भन्ने भनाइ आइरहेको बेला अहिले भने झनै बढेको देखिन्छ ।