सिमकोट । हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोट र आसपासका गाउँमा छोडुवा कुकुरको बिगिबिगी बढ्दै गएको छ ।
जथाभावी छोडिएका कुकुरहरुको टोकाइबाटै पछिल्लो एक सातामा घाइते हुने बिरामीको सङ्ख्या पुगेको छ ।
छाडा छोडिएका कुकुरले टोक्दा बिराी भएका सात जना उपचारका लागि जिल्ला अस्पताल पुगेका छन्।
अस्पतालकी वरिष्ठ अनमी सरिता बोहराका अनुसार, एक हप्ताभित्र बालबालिकादेखि वृद्धसम्म गरी सात जना कुकुरको टोकाइबाट घाइते भई उपचारका लागि आएका छन्।
'बिहान र रातिको समयमा छाडा कुकुरले टोक्दा घाइते हुनेको सङ्ख्या उल्लेख्य रुपमा वृद्धि भएको छ,' अनमी बोहराले नेपालवोटसँग भनिन्, 'यहि अवस्थामा कुकुरको टोकाइले घाइते हुनेको संख्या अस्पतालमा आउने हो भने रेबिज विरुद्धको खोपको पनि अभाव हुने देखिन्छ ।'
अहिले कुकुरले टोकेका घाइतेहरूको उपचारका साथै रेबिजविरुद्धको सुई पनि लगाइने गरिएको छ।
कुकुरको टोकाइबाट सिमकोट गाउँपालिका-५ र ६ को तल्लो गाउँ, माथिल्लो गाउँ र बजार क्षेत्रबाट बिरामीहरू अस्पताल पुगेका छन्।
मंगलबार मात्रै तल्लो गाउँका एक बालकलाई कुकुरले टोकेपछि अस्पताल लगिएको थियो। हाल घाइतेहरूका लागि आवश्यक औषधि उपलब्ध रहेको अस्पतालले जनाएको छ। सिमकोट गाउँपालिकाको वडा नं. २, ३, ४, ७ र ८ बाट पनि कुकुरले टोकेका बिरामीहरू अस्पताल आउने गरेका छन्।
यसअघि महिनामा तीन(चार जना बिरामी आउने गरे पनि पछिल्लो समय यो सङ्ख्यामा वृद्धि भएको हो। स्थानीय बख रोकायाले सदरमुकामको कालीचोक, बालमन्दिर, काठेचुली, तल्लो बजार र छात्रावास चोकमा छाडा कुकुर नियन्त्रण गर्न आवश्यक रहेको बताएका छन्।
बाटोमा हिँड्ने मानिसलाई छाडा कुकुरले टोक्ने गरेका कारण हिँडडुलमा पनि समस्या भएको छ।
छाडा छोडिएका र भुस्याहा कुकुरको टोकाइबाट थुप्रै पशु चौपाया समेत मर्ने गरेका छन् । छाडा कुकुर नियन्त्रणमा पटक पटक पहल गर्न स्थानीय प्रशासन र पालिकालाई आग्रह गरिएपनि कसैले सुनुवाई नगरेको गुनाशो स्थानीयको छ ।