सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका वडा नम्बर २ र ३ मा रहेको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको रलिङ गुम्बामा जेठ शुक्ल पूर्णिमाको अवसरमा रलिङ पर्व अर्थात् रलिङ पूर्णिमा भव्य रूपमा मनाइदै छ ।
समुद्री सतहबाट करिब चार हजार मिटरको उचाइमा अवस्थित रलिङ गुम्बामा वौद्ध र हिन्दु धर्मालम्बीहरुका भक्तजनहरुले संयुक्त रुपमा आज बिहानै देखि पूजाआजा, धार्मिक अनुष्ठान तथा सांस्कृतिक कार्यक्रम गरी मनाइरहेको रलिङ गुम्बामा रहेका स्थानीय जनाएका छन् ।
जिल्लाको प्रसिद्ध धार्मिक स्थल गुरु पद्मसम्भवको महातीर्थ रलिङ गुम्बा (सेल्मुगाङ अर्थात् सानो कैलाश) मा विशेष धार्मिक महोत्सव आयोजना भएको छ । सिमकोट गाउँपालिकाको सहयोग तथा रलिङ व्यवस्थापन समिति र बुराउसे गाउँको आयोजनामा घोडा वर्षको विशेष सागा दावा तथा आजकै दिन पर्ने भएकाले “रलिङ सेल्मुगाङ महोत्सव” सञ्चालन गरिएको आयोजक लामा साँस्कृतीक मञ्चले जनाएको छ ।
महोत्सवमा वौद्ध धर्मगुरु पेमा रिक्साल रिन्पोछे प्रमुख आतिथ्यता विश्व शान्ति तथा समस्त प्राणी जगतको कल्याणको कामना गर्दै क्रोधीकाली पूजा, चिरायु पूजा लगायत विविध धार्मिक कार्यक्रम सञ्चालन भैरहेको लामा साँस्कृतीक मञ्चका अध्यक्ष छेपाल दोर्जे लामाले जानकारी दिए ।
उक्त धार्मिक महोत्सवमा सम्पूर्ण लामा गुरु, भिक्षु, भिक्षुणी, धर्मावलम्बी, श्रद्धालु भक्तजन तथा अन्य भक्तजनको बाक्लो उपस्थित रहेको प्रचार प्रसार उपसमितिका अविनास लामाले बताए ।
रलिङ पुर्णीमा रुपमा चिनिने आजको पर्वका अवसरमा सिमकोट, खार्पुनाथ, नाम्खाका स्थानीय र जिल्लामा कार्यरत विभिन्न कार्याल्यका कर्मचारी रमाइलो हेर्न रलिङ गुम्बामा गएका छन् । हिजो राती १२ बजेदेखि मोटरसाइकल, गाडीमा र पैदल गएका तिर्थालुहरुले पुजाआजाका साथ देउडा गीत गाएर रमाइलो गर्ने प्रचलन रहेको छ ।
गुम्बामा पुजाआजा र नाचगान पश्चात आजै तिर्थालुहरु तोक्रा चौरमा रमाइलो गर्ने, त्यहि वास बस्ने रातभर देउडा खेल्ने चलन रहेको छ । जस्तोसुकै खडेरीमा समेत रलिङ पुर्णीमाको अवसरमा गुम्बामा बाजा बजाउने बित्तिकै वर्षा हुने गरेको भएपनि यो वर्ष गएको राती देखि नैं वर्षा भएपछि जाडो बढेको छ ।
सिमकोटबाट नजिकैको दूरीमा भएको उक्त मेलामा ठूलो संख्यामा यातायातका साधनहरुको घुइचो लागेको बताइएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ १७, २०८३ १८:५२