काठमाडौं । अरुले गर्दा आपत्ति जनाउने अनि आफूले गर्दा जे पनि हुने रु यो प्रश्न काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहलाई हो ।
नेताहरुको नाममा संरचना बनाउँदा विरोध जनाउने उनले महानगरबासीले तिरेको करले आफ्ना स्वर्गीय मित्रको नाममा पार्क निर्माण गरेका छन् । मेयरमा निर्वाचित भएदेखि नै महानगरको ढुकुटीलाई आफ्नो व्यक्तिगत सम्पत्तिजसरी खर्च गर्दै आएका उनले महानगरबासीले महानगरको विकासका लागि तिरेको करको चरम दुरुपयोग गरिरहेका छन् ।
जसको एउटा जल्दोबल्दो उदाहरण हो–यमबुद्ध स्केटबोर्ड पार्क । र्यापर यमबुद्धको नाममा यतिबेला वडा नम्बर ५ मा पार्क निर्माण भइरहेको छ । बालेन आफैंपनि र्यापर हुन् । उनको यमबुद्धसँगका तस्विरहरु अहिलेपनि सामाजिक सञ्जालमा भेटिन्छन् । एउटै पेशाको भएकाले उनले महानगरबासीले तिरेको करबाट यमबुद्धको नाममा पार्क निर्माण थालेका हुन् । बालेनले मेयरमा निर्वाचित हुनेबित्तिकै यमबुद्ध स्केटबोर्ड पार्क बनाउने घोषणा गरेका थिए ।
जसको चर्को विरोधसमेत भएको थियो । र्यापर यमबुद्धको नाममा वडा नम्बर १६, खुसिबुस्थित नयाँ बजारमा रहेको सात रोपनी जग्गामा पार्क निर्माण गर्नका लागि २०७९ सालमै साढे एक करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । त्यहाँ यमबुद्धको शालिक पनि राख्ने भनिएको थियो । कर दुरुपयोग गर्न खोजेको भन्दै चौतर्फी विरोधमा आवाज उठेपछि बालेनले आफ्नै खर्चमा शालिक बनाउने भनेका थिए ।
१६ नम्बर वडाका वडाध्यक्ष मुकुन्द रिजालको निधन भएपछि महानगरले त्यहाँ जग्गा प्राप्त गर्न सकेन । त्यसपछि वडा नम्बर २ मा पार्क बनाउने प्रयास गरिएकोमा सरकारले जग्गा उपलब्ध गराएन ।
बालेनको दाहिने हात मानिने वडा नम्बर ५ का वडाध्यक्ष विरेन्द्र प्रजापतिले जग्गा मिलाइदिएका हुन् । १३ रोपनी जग्गामा पार्क निर्माण भइरहेको छ । हाँडीगाउँस्थित ५० प्रतिशत निर्माण भइसकेको पार्कको ठेक्का सानु सुवाल–पवन जेभीले प्राप्त गरेको छ । २०८१ जेठ २९ गते ठेक्का सम्झौता भएकोमा २०८३ जेठ ३१ गते निर्माण सम्पन्न गरिनेछ ।
पार्कमा अन्तर्राष्ट्रिय स्तरको स्केटबोर्डिङ्ग एरिया, बालबालिकाको खेलमैदान, ओपन जिम, ट्वाइलेट ब्लक, भलिबल कोर्ट हुने भनिएको छ । बालेनले सामाजिक सञ्जालमा स्ट्याट्स लेख्दै तीन वर्षको संघर्षपछि यमबुद्ध स्केटबोर्ड पार्कको सपना साकार हुँदै भनि जानकारी दिएका छन् । जसपश्चात पुनः पनि नामको विषयलाई लिएर विवाद शुरु भएको छ । पार्कबाट यमबुद्धको नाम हटाउनुपर्ने माग उठेको छ । महानगरकै एक कर्मचारी भन्छन्,‘यमबुद्ध आफ्नो साथी हो र मनपर्छ भन्दैमा उनको नाम राख्न मिल्दैन । यमबुद्ध हटाएर महानगरको इतिहास झल्काउने खालका नाम राख्नुपर्छ ।’
महानगरका सहायक प्रवक्ता ध्रुव काफ्लेले पार्क महानगरको बजेटमा निर्माण भएको बताए । हालसम्म शालिक भने निर्माण नगरिएको उनको भनाइ छ । उनले भने,‘पार्क महानगरको बजेटमा निर्माण गरिएको हो । शालिक निर्माण भएको छैन । शालिक कसको खर्चमा बन्छ ? त्यो अहिले भन्न सकिने अवस्था छैन ।’