काठमाडौं । जल तथा मौसम विज्ञान विभागले असोज २० गतेसम्म मुलुकका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदैै सचेत रहन सबैमा आग्रह गरेको छ ।
वर्षासँगै पहिरोको पनि जोखिम भएकाले विभागले राति यात्रा नगर्न आग्रह गरेको हो । सडक विभागले पनि राति यात्रा नगर्न सुझाउँदै मातहतका सम्पूर्ण कार्यालयका कर्मचारीलाई विपद्प्रतिधार्यकार्यका निम्ति तयार रहन आह्वान गरेको छ ।
साथै विभागले नागढुङ्गा–मुग्लिन, मुग्लिन–नारायणगढ सडक, बिपी राजमार्ग, कान्ति लोकपथ, त्रिभुवन राजपथ, दाउन्ने सडकमा यात्रा गर्नेलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ ।
रातको समय यात्रा नगर्न काठमाडौं प्रशासनद्धारा सूचना जारी

सम्भावित वर्षा र त्यसबाट उत्पन्न हुन सक्ने विपद्बाट जोगिन जिल्ला प्रशासन कार्यालय काठमाडौंले आग्रह गरेको छ । सतर्कता अपनाउनेसम्बन्धी जरुरी सूचना जारी गर्दै प्रशासनले असोज १७ ९आज० देखि २० गतेसम्म अत्यन्त जरुरी नभई सकेसम्म लामो दुरीको यात्रा नगर्न, काठमाडौंबाहिर जाने र प्रवेश गर्नेहरुले रातको समयमा यात्रा नगर्न भनेको हो ।
ुजल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान तथा प्रेषित सूचनाबमोजिम २० गतेसम्म भारी वर्षा हुने र सोबाट जोखिमयुक्त स्थानहरुमा बाढी, पहिरो, भूक्षयजस्ता विपद्जन्य घटना हुने सम्भावना भएकाले आफ्नो स्थानमा रही सतर्कता र सावधानी अपनाउनु जारी विज्ञप्तिमा भनिएको छ ।
विपद्को समयमा तत्काल उद्धार, सहयोग र राहतका लागि सम्पर्क नम्बर पनि प्रशासनले उपलब्ध गराएको छ ।
जल तथा मौसम विज्ञान विभागले आजदेखि २० गतेसम्म भारी वर्षा हुने पूर्वानुमान गरेको छ । खासगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यदेखि भारी वर्षाको सम्भावना देखिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् पूर्व तयारीका लागि बिहीबार उच्च अधिकारीसहित देशैभरका प्रमुख जिल्ला अधिकारीहरूसँग भर्चुअल बैठक गरेको थियो । त्यसलाई सम्बोधन गर्दै गृहमन्त्री ओमप्रकाश अर्याललले सम्भावित खतरालाई मध्यनजर राखेर आवश्यक सबै तयारी पूरा गरेर बस्न निर्देशन दिएका छन् । मानवीय क्षति रोक्नका लागि आवश्यक सतर्कता अपनाउन उनले विपद्को व्यवस्थापन तथा राहत र उद्धार कार्यमा सक्रिय रहने अधिकारीहरूलाई निर्देश गरेका हुन् ।
बैठकमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई आवश्यक प्रतिकार्यका लागि तयारी रहन निर्देशन दिइएको छ । नेपाली सेनाका अधिकारीले राहत तथा उद्धार कार्यका लागि सेनाको ६ वटा हेलिकप्टरलाई तयारी हालतमा राखिएको बैठकमा जानकारी दिएका थिए ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि पाँच प्रदेशमा चार दिनसम्म अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न अनुरोध गरिसकेको छ ।
अत्यन्त जरुरी नभए २० गते सोमबारसम्म यात्रा नगर्न अनुरोध गरेको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिइन् ।
ललितपुरका सीडीओद्धारा चोभार गल्छीको अनुगमन
ललितपुरका प्रमुख जिल्ला अधिकारीसहितको टोलीले काठमाडौं उपत्यकाको पानी निकास हुने एकमात्र ठाउँ चोभार गल्छीको आज स्थलगत निरीक्षण गरेको छ ।
स्थलगत निरीक्षणपछि ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जोखिमयुक्त क्षेत्रका बस्तीका बासिन्दालाई सुरक्षित ठाउँमा गएर बस्न अनुरोध गर्ने बताए ।

जल तथा मौसम विज्ञान विभागले शनिबारदेखि काठमाडौं उपत्यकामा समेत भारी वर्षाको प्रक्षेपण गरेकाले प्रमुख जिल्ला अधिकारी घिमिरेको संयोजकत्वमा जिल्ला सुरक्षा समितिका सबै निकायका प्रमुखसहितको टोलीले चोभार गल्छीको निरीक्षण गरेको थियो ।
‘अहिले तत्काल गर्न सकिने थप केही छैन । हाम्रो प्राथमिकता भनेको जनधनको सुरक्षा कसरी गर्ने भन्ने मात्र हो,’ प्रमुख जिल्ला अधिकारी घिमिरेले भने, ‘त्यसैले जोखिम क्षेत्रका बासिन्दालाई केही दिन सुरक्षित स्थानमा जान भनेका छौं ।’
उनले सुरक्षित स्थानमा गएर बस्न र धन सम्पत्तिको सुरक्षा गर्न अनुरोध गर्दै प्रहरीले माइकिङ गर्ने जानकारी दिए ।
नक्खु सहित काठमाडौं उपत्यकाका खोलानालाको एक मात्र निकास चोभार गल्छी हो । प्राचीन समयमा काठमाडौं उपत्यकामा रहेको तलाउको पानी चोभारको डाँडो काटेर बाहिर पठाई बस्ती बसालेको किंवदन्ती छ । डाँडो काटेको भनिएको ठाउँ साँघुरो छ । त्यहाँबाट पानी निकास कम हुने हुँदा काठमाडौं उपत्यकाका नक्खु, कुलेश्वर, बल्खु, थापाथली, शंखमूल लगायत भूभाग हरेक वर्षायाममा डुबानमा पर्दछन् ।
गत वर्ष २०८१ सालको असोज १० देखि १३ गतेभित्र काठमाडौं उपत्यकाका २५ स्थानमा रेकर्ड ब्रेक वर्षा हुँदा पनि बस्तीहरू डुबानमा परेका थिए ।
प्रकाशित मिति: शुक्रबार, असोज १७, २०८२ १६:२१