एजेन्सीँ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामग्रीमाथि भन्सार दर कम गर्ने घोषणा गर्नुभएको छ । दक्षिण कोरियामा चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेपछि ट्रम्पले चीन विरुद्धको कर १० प्रतिशत घटाउने बताउनुभएको हो ।
अहिले अमेरिकाले चिनियाँ बस्तुमा ५७ प्रतिशत भन्सार शुल्क लगाइरहेको छ । अब ४७ प्रतिशत कायम हुने ट्रम्पको भनाइ छ । त्यस्तै, चीनबाट अमेरिकामा आयात हुने दुर्लभ खनिज तत्व माथिको चिनियाँ कडाई खुकुलो गर्ने विषय पनि सल्टिएको ट्रम्पले बताउनुभयो ।
चीनले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै दुर्लभ खनिज तत्व र धातुको निर्यातमा कडाई गरे पछि अमेरिका र पश्चिमा देशको अर्थतन्त्रमा ठूलो असर पुगेको थियो । राष्ट्रपति ट्रम्पले चीनसँग चाँडै व्यापार सम्झौतामा हस्ताक्षर हुने पनि बताउनुभएको बीबीसीले जनाएको छ ।
एपेक सिईओ सम्मेलनमा भाग लिन गएका बेला दुई नेताबीच भेटवार्ता भएको हो । भेटवार्तापछि चीनका राष्ट्रपति सी जिनपिङले अमेरिकासँग आर्थिक तथा व्यापारिक विषयमा सहमति कायम भएको जानकारी दिनुभएको चिनियाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।
सन् २०१९ पछि पहिलोपटक भएको यो उच्चस्तरीय भेटमा विश्वका दुई ठूला अर्थतन्त्रबीच लामो समयदेखि चल्दै आएको व्यापारिक तनाव अन्त्य गर्न सम्भावित सहमतिको सङ्केत देखिएको छ । पृथ्वीमा रहेका १७ वटा रसायनिक तत्वहरुको समूहलाई रेयर अर्थ अर्थात् दुर्लभ खनिज तत्व भनिन्छ ।
स्मार्टफोन, इलेक्ट्रिक उपकरण, गाडीका पाटपूर्जा, पानीजहाज तथा फाइटर जेटजस्ता सैन्य सामग्री निर्माणमा यसको उपयोग हुन्छ । दुर्लभ खनिज–तत्वको ० प्रतिशत खानी चीनमा रहेको अनुमान छ । ९० प्रतिशतभन्दा धेरै चीनमा प्रशोधन हुन्छ । अमेरिकी राष्ट्रपती ट्रम्पले चीनसँग व्यापार युद्ध शुरु गरेपछि चीनले दुर्लभ खनिज तत्व निर्यातमा कडाइ गरेको थियो । दुई नेताबीचको सहमतिका विशिष्ट विवरणहरू सार्वजनिक गरिएका छैनन् ।