काठमाडौं (अलजजिरा) । उत्तर कोरियाले बिहीबार १० भन्दा बढी छोटो दूरीका ब्यालिस्टिक मिसाइल प्रहार गरेको छ ।
दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले उक्त कदमको आलोचना गर्दै सेनालाई पूर्ण रूपमा तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।
दक्षिण कोरिया र अमेरिकाबीचको वार्षिक संयुक्त सैन्य अभ्यास अन्तिम चरणमा पुगेका बेला उत्तर कोरियाले यी मिसाइल प्रहार गरेको हो ।
दक्षिण कोरियाली संयुक्त चिफ्स अफ स्टाफका अनुसार ती मिसाइलले समुद्रतर्फ करिब ३०० किलोमिटर दूरी तय गरेका थिए ।
दक्षिण कोरियाले जारी गरेको वक्तव्यमा भनिएको छ, “उत्तर कोरियाले प्योङयाङ क्षेत्रबाट कोरियाली प्रायद्वीपको पूर्वी समुद्रतर्फ मिसाइल प्रहार गरेपछि राष्ट्रपति कार्यालयले आपत्कालीन सुरक्षा बैठक बोलाएको थियो । बैठकमा रक्षा मन्त्रालय र सेनाका अधिकारीहरू सहभागी थिए ।”
दक्षिण कोरियाले उत्तर कोरियाको यो कदमलाई संयुक्त राष्ट्र सुरक्षा परिषद्का प्रस्तावहरूको उल्लंघन भएको बताउँदै यस्ता गतिविधि तत्काल रोक्न माग गरेको छ ।
उत्तर कोरियासँग कति आणविक हतियार छन् ?
दक्षिण कोरियाले उत्तर कोरियाको आणविक हतियार क्षमताबारे पनि नयाँ रिपोर्ट सार्वजनिक गरेको छ । दक्षिण कोरियाका विदेशमन्त्री आह्न ग्यु–ब्याकले सांसदहरूलाई जानकारी दिँदै सामान्यतः उत्तर कोरियासँग करिब ८० देखि १२० वटा आणविक हतियार रहेको अनुमान गरिएको बताएका छन् ।
यद्यपि, उत्तर कोरियाको वास्तविक आणविक हतियार संख्या यकिन गर्न कठिन रहेको उनले स्पष्ट पारे ।
आह्नका अनुसार उक्त संख्या निजी अनुसन्धान संस्थाहरूले गरेका अनुमानमा आधारित छ । दक्षिण कोरियाली सेनाले भने यी तथ्यांकलाई आधिकारिक रूपमा पुष्टि गर्न नसक्ने उनले बताए ।
उत्तर कोरियाले आफ्नो आणविक तथा मिसाइल कार्यक्रमलाई निरन्तर विस्तार गर्दै आएको छ । उसले आणविक हतियारका साथै तिनलाई लक्षित क्षेत्रमा पुर्याउन सक्ने विभिन्न प्रकारका ब्यालिस्टिक मिसाइल विकास गरिरहेको छ ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ–उनसँग ५७ वटा अत्यन्त शक्तिशाली आणविक हतियार रहेको दाबी गरेका थिए । ट्रम्पले यसै वर्ष किमसँग पुनः भेटवार्ता गर्ने सम्भावना पनि व्यक्त गरेका छन् ।
उत्तर कोरियाको आणविक हतियारको वास्तविक संख्या सार्वजनिक रूपमा पुष्टि गर्न नसकिने भए पनि दक्षिण कोरियाको पछिल्लो अनुमानले प्योङयाङको आणविक क्षमता यसअघि सार्वजनिक भएका केही अनुमानभन्दा निकै ठूलो हुन सक्ने देखाएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ ५, २०८३ ०८:५९