सिमकोट । फुटवल एशोसियशनको अन्तरािष्ट्रय महासंघ फिफाले हुम्लाका तीन वटा विद्यालयहरुलाई दिएका फुटवलहरु वितरण गरिएको छ ।
एन्फाको फुटवल फर स्कुल कार्यक्रम अन्तरगत अखिल नेपाल फुटवल संघ एन्फा मार्फत प्रति विद्यालय २५ थान फुटवल वितरण गरिएको हो ।
दुई वर्ष अघि उक्त कार्यक्रम अन्तरगत अनलाई फारमका आधारमा जिल्लाका दुई वटा सामुदायिक र एक संस्थागत विद्यालयले फिफाले प्रदान गरेका फुटवल प्रदान गरेको उन्फाका कार्यक्रम अधिकृत पंकज शाहीले जानकारी दिए ।
विद्यालय स्तरबाटै फुटवल खेलाडी उत्पादन गर्ने हेतुले फिफाले सिमकोटको वाल मन्दिर माध्यमिक विद्यालय, सर्केगाडको हिमज्योती माध्यमिक विद्यालय र अदानचुलीको माउण्ट एभरेष्ट इंलिस वोर्डिङ्ग स्कुललाई उक्त बल प्रदान गरेको हो । बल हस्तान्तरण गर्न सिमकोटको सिम ब्वाइज क्लवद्धारा आयोजित कार्यक्रम मार्फत सम्बन्धित विद्यालयलाई उक्त बल प्रदान गरिएको हो ।
बल हस्तान्तरण कार्यक्रममा सिमकोट गाउँपालिकाका अध्यक्ष बिजय भण्डारीले फिफा जस्तो संस्थाले हुम्लाका दुई सामुदायिक र एक संस्थागत विद्यालयमा बल वितरण गरेर हुम्लाको फुटवल खेलका लागि राम्रो योगदान गरेको बताए । कार्यक्रममा सिमकोट गाउँपालिकाका उपाध्यक्ष शुसिला भाम रोकायाले हरेक क्षेत्रमा महिलाको सहभागिता अनिवार्य रुपमा ५० प्रतिशत गराउनु पर्ने आवश्यकता जस्तै खेल क्षेत्रमा पनि छात्राहरुको सहभागितामा ख्याल गर्नुपर्नेमा जोड दिइन् ।
सिमब्वाइज क्ल्वका अध्यक्ष धिरज बोहराको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रोकायाले आगामी दिनमा जिल्ला स्तरमा छात्राहरुको फुटवल प्रतियोगिता आयोजनाका लागि आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
कार्यक्रममा सामाजिक विकास कार्यालयका प्रमुख इश्वर बहादुर सिंहले जिल्लाको खेलकुदको विकासका लागि सामाजिक विकास कार्यालयले जस्तोसुकै पनि सहयोग गर्न तत्पर रहेको जानकारी दिए । बल प्राप्त गर्ने विद्यालयहरुको तर्फबाट माउण्ट एभरेष्ट इंलिस वोर्डिङ्ग स्कुलका अध्यक्ष नवराज महताराले हुम्लाको फूटवल खेलको विकासका लागि अदानचुलीबाट कर्णाली किड्स कपको आयोजना गरेको उल्लेख गर्दै फिफाले प्रदान गरेका बलहरुलाई अदानचुली क्षेत्रको खेल विकासमा प्रयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
सिमकोटको हाई अल्टीच्युट फुटसलमा आयोजित कार्यक्रममा सिमकोट स्थित सिमव्वाइज क्ल्वका संरक्षक वसन्त रोकाया, नेपाल पत्रकार महासंघका अध्यक्ष राजन रावत, वालमन्दीर माध्यमिक विद्यालयका प्राचार्य कैलसा रोकाया, हाई अल्टीच्युट फुटसलका सञ्चालक राजबहादुर वस्नेत, वालमन्दीरका वाल वालिकाहरुको सहभागिता रेको आयोजक सिमव्वाइज क्लवले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ २४, २०८३ १८:०९