एजेन्सी । आज राती फिफा विश्वकप फुटबलको बहुप्रतिक्षित फाइनल खेल हुँदैन् । विश्वकपको उपाधीका लागि आज (आइतबार) स्पेन र अर्जेन्टिना भिड्दै छन् ।
विश्व फुटबलका दुई शक्तिशाली टोली स्पेन र अर्जेन्टिनाबीचको बहुप्रतिक्षित फाइनललाई लियोनेल मेस्सी र लामिन यामालको प्रतिस्पर्धाको रुपमा समेत हेरिएको छ। फाइनलअघि दुवै टोलीका प्रदर्शनका आधारमा फिफाले तयार गरेको तथ्यांक यस्तो छ।
६४८ः
स्पेनका मिडफिल्डर रोड्रीले यस विश्वकपमा ६४८ सफल पास पूरा गरेका छन्, जुन विश्वकप इतिहासमा कुनै पनि खेलाडीले एक संस्करणमा गरेको सबैभन्दा धेरै हो। उनले आफ्नै कतार विश्वकप २०२२ मा बनाएको ६३८ पासको कीर्तिमान तोडेका हुन्। यसअघि सन् २०१० मा स्पेनकै जाभीले ५९९ सफल पास पूरा गरेका थिए। यस प्रतियोगितामा रोड्रीपछि सबैभन्दा धेरै सफल पास गर्ने खेलाडीहरू उनका टोलीका साथी पाउ कुबार्सी (५४७) र एमेरिक लापोर्ते (५३३) हुन्।
३७ः
स्पेन लगातार ३७ अन्तर्राष्ट्रिय खेलमा अपराजित रहँदै पुरुष अन्तर्राष्ट्रिय फुटबलको संयुक्त विश्व कीर्तिमान बराबरीमा पुगेको छ। मार्च २०२४ मा कोलम्बियासँग १/० ले पराजित भएपछि स्पेनले २७ खेल जितेको र १० खेल बराबरी खेलेको छ। यसअघि इटालीले २०१८/२०२१ र अर्जेन्टिनाले २०१९/२०२२ बीच यही उपलब्धि हासिल गरेका थिए।
३०ः
स्पेनका युवा स्टार लामिन यामालले यस विश्वकपमा ३० सफल ड्रिबल गरेका छन्, जुन सबैभन्दा धेरै हो। त्यसपछि फ्रान्सका केलियन एमबाप्पे (२४), ब्राजिलका भिनिसियस जुनियर (२३), अर्जेन्टिनाका लियोनेल मेस्सी (२२) र बेल्जियमका जेरेमी डोकु (२१) छन्। एकै विश्वकपमा सबैभन्दा धेरै सफल ड्रिबल गर्ने कीर्तिमान डिएगो म्याराडोनाको नाममा छ, उनले १९८६ मा ५३ ड्रिबल गरेका थिए। यो शताब्दीमा मेस्सीले २०१४ विश्वकपमा ४६ सफल ड्रिबल गरेका थिए।
१९ः
अर्जेन्टिनाले यस विश्वकपमा १९ गोल गरेको छ, अर्थात् प्रतिखेल औसत २।७१ गोल गरेको छ। सन् १९७० मा ब्राजिलले पनि १९ गोल गरेको थियो। विश्वकप इतिहासमा यसभन्दा धेरै गोल गर्ने टोलीहरू केवल चार वटा मात्रै रहेका छन्। जसमा ब्राजिल (२२ गोल, १९५०), फ्रान्स (२३ गोल, १९५८), पश्चिम जर्मनी (२५ गोल, १९५४), हंगेरी (२७ गोल, १९५४) स्पेनले यस प्रतियोगितामा १३ गोल गरेको छ, जुन उसको विश्वकप इतिहासकै सर्वाधिक हो। यो १९८६ को व्यक्तिगत उत्कृष्ट प्रदर्शनभन्दा २ गोल बढी तथा २०१० मा उपाधि जित्दा गरेको गोलभन्दा ५ गोल बढी हो।
१३ः
अर्जेन्टिनाले लगातार १३ विश्वकप खेलमा कम्तीमा दुई गोल गरेको छ, जुन नयाँ विश्व कीर्तिमान हो। उसले अन्तिम पटक दुई गोल गर्न नसकेको खेल कतार २०२२ मा साउदी अरेबियासँग २(१ ले हारेको उद्घाटन खेल थियो। अर्जेन्टिना लगातार १६ विश्वकप खेलमा गोल गर्न सफल भएको छ। यसभन्दा लामो श्रृंखला केवल हंगेरी (१७), जर्मनी (१८) र ब्राजिल (१८) का नाममा रहेको छ।
८ः
लियोनेल मेस्सीले यस विश्वकपमा ८ गोल गरेका छन्। एकै विश्वकपमा यसभन्दा बढी गोल गर्ने खेलाडीहरू मात्र, जस्ट फन्टेन १३, सान्दोर कोचिस ११, गर्ड मुलर १०, केलियन एम्बाप्पे १०, एडेमिर ९, एउसेबियो ९ रहेको छ। अर्जेन्टिनाले विश्वकपका सातै खेल जितेको छ। यससँगै उसले २००२ मा ब्राजिलले बनाएको एकै विश्वकपमा सबैभन्दा धेरै जित (७) को कीर्तिमान बराबरी गरेको छ। यदि फाइनल पनि जित्यो भने अर्जेन्टिना १०० प्रतिशत जितसहित विश्वकप जित्ने पाँचौँ टोली बन्ने छ। यसअघि उरुग्वे (१९३०), इटाली (१९३८) र ब्राजिल (१९७) तथा २००२) ले यस्तो उपलब्धि हासिल गरेका थिए ।
६ः
स्पेनका गोलरक्षक उनाइ सिमोनले सात खेलमध्ये ६ खेलमा क्लिन(सिट राखेका छन्, जुन एकै विश्वकपमा सबैभन्दा धेरै हो । यसअघि ५ क्लिन(सिटको कीर्तिमान यान योन्गब्लुड, वाल्टर जेङ्गा, टाफारेल, फाबियन बार्थेज, ओलिभर कान, जियानलुइजी बुफोन र इकर कासियासको नाममा थियो।
सिमोनले विश्वकपमा ६५० मिनेटसम्म गोल नखाई नयाँ कीर्तिमान पनि बनाए। यसअघि इटालीका वाल्टर जेङ्गाको नाममा ५१७ मिनेटको कीर्तिमान थियो। उनको ९३ प्रतिशत सेभ सफलता दर पनि यस प्रतियोगितामा सबैभन्दा उत्कृष्ट छ।
स्पेनले यस विश्वकपमा केवल १ गोल मात्र खाएको छ। यदि गोल नखाई उपाधि जित्यो भने विश्वकप विजेताले सबैभन्दा कम गोल खाएको नयाँ कीर्तिमान बन्ने छ। यसअघि फ्रान्स (१९९८), इटाली (२००६) र स्पेन (२०१०) ले २(२ गोल मात्र खाएका थिए। यता अर्जेन्टिनाले ७ गोल खाइसकेको छ । सन् १९९८ को ब्राजिलपछि ६ भन्दा बढी गोल खाएर फाइनल पुग्ने पहिलो टोली पनि बनेको छ।
५ः
अर्जेन्टिनाले यस विश्वकपमा पेनाल्टी क्षेत्र बाहिरबाट ५ गोल गरेको छ, जुन विश्वकप इतिहासकै संयुक्त सर्वाधिक हो। तीमध्ये लियोनेल मेस्सीले २, जियोभानी लो सेल्सो, जुलियन अल्भारेज र एन्जो फर्नान्डेजले १(१ गोल गरेका छन्। यी गोलसँगै मेसीले ब्राजिलका महान खेलाडी रिभेलिनोलाई पछि पार्दै विश्वकप इतिहासमा बक्स बाहिरबाट सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन्।
५ः
स्पेनका मिकेल ओयार्जाबालले यस विश्वकपमा ५ गोल गरेका छन्, जुन स्पेनका लागि एकै विश्वकपमा सर्वाधिक गोलको कीर्तिमान बराबरी हो। यसअघि एमिलियो बुट्रागुएनो (१९८६) र डेभिड भिल्ला (२०१०) ले पनि ५(५ गोल गरेका थिए। ओयार्जाबाल र भिल्लाले स्पेनका लागि एकै विश्वकपमा ६ गोल सहभागिता (गोल असिस्ट) गर्ने संयुक्त कीर्तिमान पनि साझा गरेका छन्।
४ः
लियोनेल मेस्सीले यस विश्वकपमा ४ असिस्ट दिएका छन्। उनी प्रतियोगिताका सर्वाधिक असिस्टकर्ता बन्ने दौडमा फ्रान्सका माइकल ओलिसेभन्दा केवल एक असिस्टले पछाडि छन्। मेसीको पहिलो असिस्टसँगै उनी लगातार ६ फरक विश्वकप संस्करणमा असिस्ट गर्ने पहिलो खेलाडी बने। स्पेनका लागि मार्क कुकुरेला र डानी ओल्मोले समान २–२ असिस्ट गरेका छन्।
प्रकाशित मिति: आइतबार, साउन ३, २०८३ १६:१६