काठमाडौं । कीर्तिपुरबाट चोभार जाने बाटोको छेउमा एउटा भव्य प्रदर्शनी हल बनाइएको छ । जसमा बोर्ड राखिएको छ– ट्रेजर्स प्रालि ।
प्रदर्शनी हलमा भारतीय आयुर्वेदिक औषधि भाष्करका उत्पादन बिक्रीमा राखिएको छ । तर, आवतजावत भने चिनियाँ नागरिकको धेरै हुने गर्छ । कानुनी रूपमा कम्पनीका सञ्चालक पवन लामा थिङ हुन् । तर, उनलाई कम्पनीको कारोबारबारे भने जानकारी नै छैन । एक चिनियाँ समूहले उनको नाममा कम्पनी खोलेर त्यहाँ ‘व्यापार’ गर्दै आएको थियो । पर्यटक भिसामा बसेर शंकास्पद गतिविधिमा संलग्न रहेको आशंकामा गत १८ असारमा अध्यागमन विभागले त्यहाँका ११ चिनियाँलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
‘प्रदर्शनी हलमा बाउन्सर र १५–२० जना नेपाली कर्मचारी राखिएको देखिन्छ, बेला–बेला चिनियाँ पर्यटक मात्र त्यहाँ जाने गरेको बुझिएको छ, उनीहरूले त्यहाँ के काम गर्थे भन्ने विषयमा हाम्रो अनुसन्धान जारी छ,’ विभागका निर्देशक टीकाराम ढकालले भने । उनीहरूले त्यहाँबाट अनलाइनसम्बन्धी कुनै अपराध गर्दै आएको हुन सक्ने विभागको आशंका छ ।
कीर्तिपुरमा जस्तै नेपालमा चिनियाँ नागरिकले शंकास्पद गतिविधिका लागि धेरै ठाउँमा अपराधका आश्रयस्थल चलाएका छन् । वेला–वेलामा सुरक्षा निकायले चिनियाँ अखडामा छापा हाने पनि उनीहरूको सञ्जाल विस्तार भने रोकिएको छैन । विभिन्न आवरणमा चिनियाँहरूको अपराध सञ्जाल बढ्दै गएको सुरक्षा निकायको विश्लेषण छ ।
गत १५ असारमा मात्र धोबीघाटको एक घरबाट २६ चिनियाँ पक्राउ परेका थिए । एउटा घर नै भाडामा लिएर बस्दै आएका उनीहरूमध्ये केही कीर्तिपुरको ट्रेजर्स प्रालिमा पनि संलग्न थिए । अन्य के काम गर्थे भन्ने प्रस्ट हुन सकेको छैन । पासपोर्ट नियन्त्रणमा लिएर अनुसन्धान गर्दा केहीलाई काममा लगाइदिने भनेर नेपाल ल्याई सो घरमा राखेकोसमेत खुलेको छ । त्यस्तै, ३ असारमा बुटवलमा सातजना चिनियाँ पक्राउ परेका थिए । पर्यटक भिसामा नेपाल बस्दै आएका उनीहरू क्रिप्टो करेन्सीसम्बन्धी अपराधमा संलग्न देखिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका डिएसपी कृष्णबहादुर चन्दले बताए ।
गत २१ जेठमा अध्यागमन विभागले कुलेश्वरबाट दुई चिनियाँलाई पक्राउ गरेको थियो । पर्यटक भिसामा बस्दै आएका उनीहरू व्यापारमा संलग्न देखिएपछि पक्राउ गरिएको थियो । टिकटकमार्फत हिमाली क्षेत्रका स्याउ, ओखर, लसुन, किसमिस लगायतको प्रचार गरेर बिक्रि गर्दै आएका थिए ।
गत १८ जेठमा काठमाडौंको नक्सालबाट पनि दुई चिनियाँ पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ३३ वर्षीय वाङ वेड र ३२ वर्षीय चेन सुङगुईलाई पक्राउ गरेको हो । भिजिट भिसामा नेपाल आएका उनीहरूले आरआर बिल्डिङ एन्ट्रो टेक्नोलोजी नामक कम्पनी खोलेका थिए । लाइभ हब एपमार्फत उनीहरूले विदेशी नागरिकलाई साथी बनाई ठगीलगायतका गतिविधि गर्दै आएको पत्ता लागेको थियो । तर, प्रहरीले उनीहरूमाथि विस्तृत अनुसन्धान नै नगरी अध्यागमनको जिम्मा लगाएको थियो ।
२७ कात्तिक २०८२ मा सोह्रखुट्टस्थित एक घरमा छापा हान्दा अध्यागमनका अधिकारीहरू नै चकित परे । त्यो घरलाई स्थानीयले चाइनिज हाउजीङ भनेर चिन्न थालेका थिए । लामो समयदेखि ठूलो संख्यामा बस्दै आएका चिनियाँहरूको गतिविधि भने शंकास्पद थियो । त्यहाँबाट विभागले चार चिनियाँलाई पक्राउ गरेको थियो । नेपाली युवतीहरूलाई जागिरको प्रलोभनमा पारी त्यहाँ बोलाएर टिकटक बनाउन लगाउने र चिनियाँ नागरिकहरूसँग साथी बनाई बिहे गर्न प्रलोभनमा पार्ने गरेका थिए । त्यसरी उनीहरूले कतिपय नेपाली युवतीलाई बिहे गरेर चीन पठाइसकेको समेत अनुसन्धानमा खुलेको थियो । त्यसबेला पक्राउ परेका केहीको बिजनेस भिसा भएको र केही १० वर्षदेखि नेपाल बस्दै आएको पाइएको विभागका निर्देशक ढकाल बताउँछन् ।
पछिल्ला यी पक्राउका शृंखलाबाट पनि नेपालमा चिनियाँ नागरिकहरू अवैध गतिविधिमा संलग्न रहेको प्रस्ट हुने अध्यागमन विभागका निर्देशक ढकालले बताए । ‘तुलनात्मक रूपमा नेपालमा विदेशी नागरिकमध्ये चिनियाँहरूको विभिन्न किसिमका अपराधमा संलग्नता धेरै छ,’ उनी भन्छन्, ‘विभागले पछिल्लो समय छापा हानेर पक्राउ गर्नेदेखि भिसामा कडाइसमेत गरिरहेको छ ।’ अध्यागमन विभागमा मात्र हाल १७ जना चिनियाँ नागरिक थुनामा रहेको उनी बताउँछन् । त्यसमध्ये १३ जना अनुसन्धानमा तथा चारजना निष्कासनको प्रक्रियामा छन् ।
नेपालमा चिनियाँ नागरिकको संलग्नता नौलो विषय भने होइन । ७ पुस ०७६ मा प्रहरीले काठमाडौंका विभिन्न चिनियाँ आपराधिक अखडामा छापा हानी १२२ जनालाई एकैपटक पक्राउ गरेको थियो । उनीहरूलाई नेपालमा कारबाही नगरी प्लेन चार्टर गरी चीन लगिएको थियो । चीन सरकारकै आग्रहमा सो अप्रेसन भएको थियो । उनीहरूले काठमाडौंमा घरहरू भाडामा लिएर अनलाइन ठगीको धन्दा चलाउँदै आएका थिए । त्यसपछि पनि नेपालमा चिनियाँले चलाएका गोप्य अखडा बन्द भएका छैनन् ।
नेपालमा एटिम ठगीदेखि सुन तस्करी, वन्यजन्तुको तस्करी, डलर तस्करी तथा मानव बेचबिखनका अपराधमा चिनियाँ सक्रिय रहँदै आएको प्रहरीको तथ्यांक छ । पछिल्लो समय भेपको तस्करीमा यो समूह सक्रिय देखिएको प्रहरी अधिकारी बताउँछन् । नेपालीलाई रोजगारीको प्रलोभनमा म्यान्मार लगेर ‘साइबर दास’बनाउदेखि नेपाली युवतीलाई चिनियाँ युवकसँग बिहेको आवरणमा मानव तस्करीको घटनासम्ममा चिनियाँ पक्राउ गरेका छन् । ब्रेकसुमा राखेर सुन तस्करी गर्ने गिरोहका नाइके पनि चिनियाँ नागरिक नै भएको खुल्यो । त्यसमा संलग्न मुख्य व्यक्तिहरू अझै पक्राउ परेका छैनन् ।
ठमेल चिनियाँहरूले सञ्चालन गरेका होटल तथा रेष्टुरेन्टमा अवैध कारोबार हुने गरेका सूचना सुरक्षा अधिकारीले पाउने गरेका छन् । तर, विस्तृत अनुसन्धान हुन सकेको छैन । नेपाल प्रहरीका प्रवक्ता डिआइजी अविनारायण काफ्ले नेपालमा पक्राउ पर्ने विदेशीमा चिनियाँको संख्या ठुलो भएको बताए । छिमेकी देश भएकाले पनि अपराधमा चिनियाँको संलग्नता बढी भएको हुन सक्ने उनको भनाइ छ । प्रहरी यस्ता गतिविधि रोक्न निरन्तर लागिपरेको प्रवक्ता काफ्लेले बताए ।
नेपालमा चिनियाँलाई आउन र बस्न सहज भएकाले पनि त्यही सुविधाको दुरुपयोग गरिरहेको हुन सक्ने आकलन पनि सुरक्षा निकायको छ । चिनियाँ नागरिकले नेपालमा भिसा निस्शुल्क पाउँछन् । पर्यटक भिसामा एक वर्षमा पाँच महिनासम्म बस्न पाइन्छ । पर्यटक भिसामा नेपालमा आएर महिनौँ बस्ने चिनियाँहरूको संख्या ठुलो छ । तर, उनीहरूका गतिविधिबारे सरकार बेखबर हुने गरेको छ । कतिपय पक्राउ परे पनि सामान्य सोधपुछ गरेरै निष्कासन हुने गरेका छन् । सयौँ चिनियाँ पर्यटक भिसामा बसेर अवैध गतिविधिमा संलग्न रहेको आशंका अध्यागमन विभागको छ । सुरक्षा निकाय र विभागको आकलनमा यसरी शंकास्पद गतिविधिमा संलग्न चिनियाँको संख्या करिब पाँच सय छ । पछिल्लो समय विभागले विदेशी नागरिकमाथि नियमन बढाएको छ, तर त्यो पर्याप्त देखिँदैन ।
विदेशी नागरिकहरू घर नै भाडामा लिएर बस्दा पनि स्थानीय प्रशासन बेखबर हुने गरेको छ । कतिपय अवस्थामा राजनीतिक तथा प्रहरी–प्रशासनको संरक्षण हुने गरेको आरोपसमेत लाग्दै आएको छ । ठमेलमा चिनियाँले सञ्चालन गरेका होटेल तथा रेस्टुरेन्ट पनि आर्थिक अपराधका अखडा हुने गरेको सूचना सुरक्षा निकायले पाउने गरेका छन् । तर, सूक्ष्म अनुसन्धान हुन सकेको छैन । यस्ता गतिविधि नरोकिए देशको राष्ट्रिय सुरक्षामै जोखिम बढ्नुका साथै अन्तरदेशीय आर्थिक कारोबारले प्रश्रय पाउन सक्ने जोखिम छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन कार्यान्वयनमा देश ‘ग्रे लिस्ट’मा परेका वेला विदेशी नागरिकका अपराधले झन् जोखिम बढाएको छ ।
नेपाल प्रहरीका पूर्वएआइजी उत्तमराज सुवेदीले नरम कानुन र सहज वातावरणकै कारण नेपालमा चिनियाँहरूको अपराध नरोकिएको बताए । ‘चिनियाँहरूलाई पहिलेदेखि नै पक्राउ गरी कारबाही हुँदै आएको छ, तर अझै पनि उनीहरूको गतिविधि नरोकिनु भनेको हामीलाई हेपेको हो,’ उनले भने । यसमा उनले चारवटा कारण देखेका छन् । पहिलो, चिनियाँलाई नेपालमा आउन सहज छ । सीमा जोडिएको भएकाले कतिपय सडकमार्गबाट समेत आउँछन् । दोस्रो, उनीहरू आइटीमा आधारित अपराध गर्ने र त्यसमा नेपालीहरू पीडित नहुने भएकाले नेपालमा विस्तृत अनुसन्धान हुने गरेको छैन । तेस्रो, नेपालीहरूलाई सहजै प्रभावमा पार्न सकिने भएकाले पनि नेपाल रोजाइमा परेको छ । चौथो कारण पर्यटकमाथिको अनुगमन प्रणाली कमजोर भएको फाइदा उठाएको सुवेदीको बुझाइ छ । ‘एकातर्फ उनीहरू यति स्मार्ट हुन्छन् कि पक्राउ पर्दापर्दै प्रमाण नष्ट गर्छन्,’ सुवेदीले भने, ‘अर्कोतर्फ हामीसँग त्यो तहको अनुसन्धान क्षमता र स्रोत–साधन छैन । पक्राउ नै परे पनि साइबरसम्बन्धी हाम्रो कानुन सफ्ट छ, त्यही बुझेर पनि उनीहरूले नेपाललाई आफ्नो सेल्टर बनाएको हुन सक्छ ।’
६ महिनामै ३१ चिनियाँ नेपालबाट निष्कासित
सन् २०२६ को ६ महिनाकै अवधिमा ३१ चिनियाँ नागरिक नेपालबाट निष्कासनमा परेका छन् । अध्यागमन विभागका अनुसार निष्कासनमा पर्ने विदेशीमा चिनियाँ पहिलो स्थानमा छन् । दोस्रोमा बंगलादेशी र तेस्रोमा युगान्डाका नागरिक रहेको विभागका निर्देशक टीकाराम ढकालले बताए ।
६ वर्षमा १३५ चिनियाँ विभिन्न अपराधमा पक्राउ
हरेक वर्ष नेपालमा पक्राउ पर्ने विदेशीको संख्यामा चिनियाँ नागरिक अग्रस्थानमा छन् । आर्थिक वर्ष ०८१र८२ मा नेपालमा ८९ जना विदेशी ९भारतीयबाहेक० नागरिक पक्राउ परेका छन्, जसमध्ये २८ जना चिनियाँ छन् । त्यस्तै, ०८०र८१ मा ९१ जना विदेशी पक्राउ पर्दा २२ जना र ०७९र८० मा १३२ मध्ये ४२ चिनियाँ थिए । ०७८र७९ मा ७७ मध्ये १६, ०७७र७८ मा २८ मा १३ तथा ०७६र७७ मा पक्राउ परेका ३८ विदेशीमा १४ जना चिनियाँ रहेको प्रहरीको तथ्यांक छ ।
बिजनेस भिसामा १,०३४ चिनियाँ नेपालमा, छानबिन गर्दै अध्यागमन
नेपालमा बिजनेस भिसामा बस्ने चिनियाँ नागरिकको संख्या अस्वाभाविक देखिएपछि अध्यागमन विभागले छानबिन थालेको छ । हाल १,०३४ चिनियाँ नेपालमा बिजनेस भिसामा बस्दै आएका छन् । विगतमा यस्तै भिसामा बस्दै आएका कतिपय चिनियाँ विभिन्न अपराधमा पक्राउ परेका थिए । साथै, कतिपयले नेपालमा बस्नकै लागि मात्र बिजनेस भिसा लिएको र कुनै व्यापार नगरेको पनि पाइएको थियो । अध्यागमन विभागले एक महिनाअघि बिजनेस भिसामा बस्दै आएका ली जेङहोङलाई पक्राउ गरेको छ । उनले मंगलम् लजिस्टिक कम्पनीका नाममा बिजनेस भिसा लिएका थिए । तर, चीनबाट विभिन्न सामान आयात गर्दै आएका थिए । विभागले उनलाई तारेखमा राखेर अनुसन्धान गरिरहेको छ ।
गत वर्ष कात्तिकमा सोह्रखुट्टे चोकस्थित चाइनिज हाउजिङबाट पक्राउ परेका चार चिनियाँसँग बिजनेस भिसा भेटिएको थियो । तर, उनीहरूलाई आफ्नो कम्पनीबारे समेत कुनै जानकारी थिएन । भिसाको दुरुपयोग गरी अन्य गतिविधिमा संलग्न थिए । सरकारी निकायको कमजोरीका कारण पनि बिजनेस भिसाको दुरुपयोग भइरहेको छ । नेपालमा व्यापार गर्न आउने चिनियाँमध्ये ८० प्रतिशतले आइटीसम्बन्धी व्यापार गर्ने भनेका छन् । तर, उनीहरूको व्यापार के–कस्तो हो भन्नेमा उद्योग विभागले अनुगमन गर्दैन । ‘नेपालमा चिनियाँले दर्ता गरेका आइटी कम्पनीको संख्या हेर्दा देश आइटी हब बनिसक्नुपर्ने हो,’ अध्यागमन विभागका एक अधिकारीले भने, ‘तर, कतिपयलाई आफ्नो कम्पनीको नामसमेत थाहा हुँदैन, एजेन्टहरूले यसरी कम्पनीका नाममा भिसा निकालिदिने गरेका छन् ।’
कतिपय चिनियाँ वैदेशिक लगानी ल्याउने प्रक्रियामा रहेको भनेर भिसा लिएर बस्ने गरेका छन् । त्यस्ताको हकमा कडाइ गरी लगानी ल्याउनका लागि कम्तीमा बैंकिङ ‘स्विफ्ट कोड’ माग्ने गरेको अध्यागमन विभागका निर्देशक टीकाराम ढकालले बताए । चिनियाँहरूले विद्यार्थी र म्यारिज भिसाको पनि दुरुपयोग गरेका उदाहरण अध्यागमन विभागसँग छ । विभागका अनुसार नेपालमा अस्थायी कामदार भिसामा २५३ र डिपेन्डेन्टमा १५५, विद्यार्थी भिसामा ७५, म्यारिज भिसामा ६३ र रिलेसन भिसामा ४७ चिनियाँ बस्दै आएका छन् ।
चिनियाँहरूले नेपालमा मात्र होइन, एसियाका धेरै देशमा यस्तो सञ्जाल बनाएका छन् । दुई साताअघि मात्र थाइल्यान्डको पतायाबाट अनलाइनसम्बन्धी ठगीमा संलग्न २५ चिनियाँ पक्राउ परेका थिए । त्यस्तै, मलेसिया, फिलिपिन्स, बर्माबाट समेत ठुलो संख्यामा चिनियाँ पक्राउ परेका छन् । बर्मामा सिन्डिकेट चलाउने केही चिनियाँलाई त चीन सरकारले आफ्नो देशमा लगेर मृत्युदण्डसमेत दिएको छ ।
प्रकाशित मिति: शनिबार, साउन ९, २०८३ ०७:४१